+
+

स्थानीय भन्छन् : फुटपाथ विस्तार न्युरोडको सन्तुलन बिगार्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १५:४६
न्युरोड फुटपाथ विस्तारको विरोधमा उत्रिएका स्थानीय । फाइल फोटो ।

६ साउन, काठमाडौं । काठमाडौं न्युरोड क्षेत्रमा फुटपाथ विस्तारलाई मात्रै महत्व दिँदा जनजीवनमै असर गर्ने स्थानीयले दाबी गरेका छन् । आइतबार एक प्रेस विज्ञप्ति जारी गरी उनीहरुले सडकको पेटी विस्तारलाई मात्रै महत्व दिँदा सडकको वर्तमान स्वरुपमा परिवर्तन आउने र त्यसले सन्तुलन बिग्रिने उनीहरुको दाबी छ ।

‘न्युरोड अत्यन्त धेरै जनघनत्व भएको क्षेत्रको एकमात्र ठूलो २ तर्फी गाडी गुडाउन र मानिस हिँड्न मिल्ने सडक हो’, विज्ञप्तिमा भनिएको छ, ‘बटुवा र गाडी दुवैको चाप अत्यन्त धेरै भएकोले पेटीलाई मात्र थप महत्व दिएर वर्तमान स्वरुपलाई परिवर्तन गर्नेबित्तिकै हालको सन्तुलन खल्बलिन गई यहाँका जनताहरूको दैनिक जीवनचर्यामा ठूलो नकारात्मक असर पर्न जानेछ ।’

यसअघि काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।

सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको थियो । तर, शुक्रबार स्थानीयले फेरि अवरोध गरे पछि फुटपाथ विस्तारको काम रोकिएको छ ।

फुटपाथ विस्तारको विषयलाई लिएर अहिले पक्षविपक्षमा चर्चा भइरहेको छ । यहीबीचमा न्युरोड क्षेत्रका स्थानीयले विज्ञप्ति जारी गर्दै फुटपाथ विस्तारको विपक्षमा उभिएका हुन् ।

‘यस क्षेत्रलाई यहाँका रैथानेविहीन बनाएपछि जीवनविहीन घरमा होमस्टे सञ्चालन गर्ने र पर्यटन विकास गर्ने महानगर प्रमुखको इच्छा कसका लागि हो बुझ्न कठिन भएको छ’, विज्ञप्तिमार्फत् उनीहरुले भनेका छन् ।

न्युरोडमा फुटपाथ विस्तारकै विरोधमा काठमाडौं महानगरपालिकाको २२ नम्बर वडा कार्यालयले न्यूरोडको सडकबाटै सेवा सञ्चालन सुरु गरेको छ । महानगरपालिकाले फुटपाथ विस्तार गर्न सडक खन्न थालेपछि त्यसको विरोधमा उत्रिएका वडाका जनप्रतिनिधिहरुले सडकमै पाल टाँगेर कामकाज गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?