+

मैत्रीपूर्ण भलिबल : रुसी टोलीसामु निरीह नेपाल

२०८१ साउन  ६ गते २१:१७ २०८१ साउन ६ गते २१:१७
मैत्रीपूर्ण भलिबल : रुसी टोलीसामु निरीह नेपाल

६ साउन, काठमाडौं । आइतबार नेपाली महिला भलिबल टोली रुसी टोलीसँगको मैत्रीपूर्ण खेलमा ३–० को सोझो सेटमा पराजित भयो ।

विश्व भलिबलको शीर्ष १० भित्र पर्ने रसियासँग नेपालको डिफेन्समा कमजोर देखिएको प्रशिक्षक जगदिश भट्टले बताए । ‘हाम्रा दुबैजना लिबेरो राम्रा हुन् तर आज उनीहरुले रिसिभ गर्नै सकेनन् । आजको खेलमा हामी सबै क्षेत्रमा निरीह नै देखियौं । रिसिभ बिग्रिनेबित्तिकै त्यो खेलाडीले स्पाइक हान्न सक्दैन । आज सबै कुराको तालमेल मिल्न सकेन’, उनले भने ।

खेलमा नेपालमाथि रुसी टोली पुरै हाबी भयो । उनीहरुले सर्भिस ब्लक र स्पाइकमा सजिलै अंक बटुले । ‘हामीले ब्लक भ्याउने चान्स नै छैन । पावर सर्भिस र डिफेन्स गर्न सकेको भए हामी प्रतिस्पर्धा गर्न सक्थ्यौं’, प्रशिक्षक भट्टले भने ।

नेपालले हालसम्म प्रतिस्पर्धा गरेको ठूलो टोली दक्षिण एसियाकै अर्को देश भारत हो । भारत नै नेपालका लागि चुनौती बनिरहँदा रुसी टोलीसँग खेल्न पाउनु नै नेपालका लागि ठूलो कुरा हो ।

‘नेपालले अहिलेसम्म जस्तो देशसँग खेलिरहेको थियो । त्यो भन्दा रसिया निकै फरक टिम हो । विश्वकै सबैभन्दा ट्यालेन्ट र पावर गेम खेल्ने र उनीहरुको उचाइका कारण पनि हामी कमजोर देखियौं’, भट्टले भने ।

त्रिपुरेश्वरस्थित भलिबल कभर्ड हलमा घरेलु समर्थकका अगाडि नेपाली टिमले सोचे अनुसारको खेल देखाउन सकेन । रुसी टोलीका सबै खेलाडी नेपाली भन्दा अग्ला थिए । रुसी टिमका कम उचाइको खेलाडी १८५ सेन्टिमिटर अग्ला छन् । तर नेपालका सबैभन्दा अग्ला खेलाडी नै १८३ सेन्टिमिटर अग्ला छन् ।

‘उनीहरुको अगाडि घरेलु मैदानमा हाम्रो खेलाडी ५० प्रतिशत आफैं हतास भएर खेल्न सकेनन्’, प्रशिक्षक भट्टले भने ।

नेपालले काभा नेसन्स गेमको तयारीस्वरुप रुससँग मैत्रीपूर्ण खेल खेलेको हो । रुसी टोलीसँग हार ब्यहोरेपनि बलियो टिमसँग खेल्दा धेरै कुरा सिक्न सक्ने प्रशिक्षक भट्ट बताउँछन् ।

‘हाई लेभलको टिमसँग खेल्दा टिमको मोरल कसरी हाई राख्ने, प्रेसर कसरी थेग्ने भन्ने कुरा सिक्नको लागि नै यो मैत्रीपूर्ण खेल खेलाइएको हो’, प्रशिक्षक भट्टले भने ।

रुसी टिममा धेरैजसो राष्ट्रिय टिमबाटै खेल्ने खेलाडी छन् । केही जुनियर टिमका खेलाडी पनि छन् ।

सुमित्रा र आरतीको डेब्यु

आइतबारको खेलमा सुमित्रा रेग्मी र आरती सुवेदी दुई खेलाडीले नेपालबाट डेब्यू गरे । यसअघि न्यू डायमन्ड क्लबबाट घरेलु खेल खेलेकी २२ वर्षीया सुमित्राले राष्ट्रिय टिमबाट खेल्न पाउँदा खुशी लागेको बताइन् । ‘टफ टिमसँग गेम खेल्न पाउँदा निकै खुसी लागेको छ’, उनले भनिन् ।

हाल त्रिभुवन आर्मी क्लबकी स्पाइकर आरतीले पनि ५ वर्ष घरेलु प्रतियोगितामा खेलेपछि राष्ट्रिय टिमबाट खेल्न पाइन् ।

पहिले चितवनबाट घरेलु भलिबल सुरु गरेकी उनले ३ वर्ष एपीएफमा रहेर खेलिन् । पछिल्लो १ वर्षयता भने उनी त्रिभुवन आर्मीसँग आवद्ध छिन् ।

उनी भन्छिन्, ‘राष्ट्रिय टिममा डेब्यु गर्दा एकदमै खुसी छु । अझै पनि सोचेको जस्तो भएको छैन ।’

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर ।

काभा भलिबल खेलकुद भलिबल रुस
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय