+
+

संसदमा प्रधानमन्त्री र पूर्वअर्थमन्त्रीको तथ्यांक दोहोरी

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८१ साउन ६ गते २१:३९

६ साउन, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सुरुवाती डेढ महिना, अनि पछिल्लो ४ महिना एमाले पनि सरकारमा थियो । पछिल्लो पटक २१ फागुनमा एमाले–माओवादी गठबन्धन बनेपछि मन्त्रिपरिषद् पुनगर्ठन हुँदा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बने ।

प्रमुख सत्तारुढ घटक दलका अध्यक्ष भएकाले तत्कालीन अर्थमन्त्री पुन महत्वपूर्ण राजनीतिक र आर्थिक विषयमा सुझाव लिन एमाले अध्यक्ष केपी शर्मा ओलीकहाँ पनि पुग्थे । तर १७ असारमा कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि ३० असारमा ओली प्रधानमन्त्री भए । त्यही दिन पुन अर्थमन्त्रीबाट पदमुक्त भए ।

सत्ता अदलबदल भएपछि आइतबार अर्थतन्त्रको अवस्थालाई लिएर ओली र पुनबीच संसदमै दोहोरी नै चल्यो । दुई नेताले आफूलाई सही साबित गर्न आफ्नो अनुकुलका तथ्यांकहरु प्रस्तुत गरे ।

आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले सुरुमै देशको स्थिति भनेर केही तथ्य पेश गरे ।

‘सिंगो देश निराशामा फसेको छ । २०४६ सालपछिको पुस्ताले यति चरम निराशा सायद पहिलो पटक अनुभव गर्‍यो’, ओलीले सुरुमै भने, ‘अर्थतन्त्र असाध्यै डामाडोल अवस्थामा छ ।’

आयात र निर्यात दुवै घटेको भन्दै उनले भने, ‘१,४२२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ७६ प्रतिशत मात्र संकलन हुनसक्यो । जबकि निकट विगतमा लक्ष्यभन्दा बढी उठ्ने गरेको थियो ।’ लक्ष्यभन्दा २४ प्रतिशत कम राजस्व संकलन हुनुले देशको अर्थतन्त्रमा कति ठूलो समस्या सिर्जना भएको छ भन्ने देखाएको उनले बताए ।

बैंकहरूमा पैसा थुप्रिएको, ब्याजदर न्यून हुँदा पनि व्यवसायीहरु लगानी गर्न तत्पर नभएको उनले बताए ।

गएको वर्ष जम्मा ५ प्रतिशतको हाराहारीमा मात्र कर्जा विस्तार भएको उल्लेख गर्दै ओलीले भने, ‘जब कि नेपाल राष्ट्र बंैकले लिएको कर्जा विस्तारको लक्ष्य नै ११.५ प्रतिशत थियो ।’

माओवादी केन्द्रका सचिव समेत रहेका निवर्तमान अर्थमन्त्री पुनले प्रधानमन्त्री ओलीले निराशा बाँड्न खोजेको भनेर काउण्टर गरे । २०७४ को चुनावपछि ओलीकै नेतृत्वमा झण्डै दुई तिहाइ बहुमतको सरकार बनेपछि अर्थतन्त्र ओरालो लाग्न थालेको टिप्पणी गरे ।

ओली प्रधानमन्त्री बन्दा नेपालको कुल ग्रार्हस्थ्य उत्पादनमा ऋणको प्रतिशत २६ प्रतिशत रहेको पुनले बताए ।

‘उहाँले सरकार छोड्दै गर्दा सोधनान्तर बचतको अवस्था १२३ करोड थियो । आज वैदेशिक मुद्राको सञ्चितीको अवस्था ४२ हजार ५२७ करोडको अवस्था छ । यो तथ्य हो कि होइन ? यो राम्रो हो कि नराम्रो हो ?’, पुनले प्रश्न गरे ।

‘अर्को वर्ष ३०.३ पुग्यो, अर्को वर्ष २०७७ मा ३८.३१ पुग्यो र २०७७/०७८ मा उहाँले साढे तीन वर्ष लगातार स्थिर सरकारको नेतृत्व गर्नुभएर छोड्ने क्रममा राष्ट्रको ऋण ४०.७ प्रतिशत थियो’, अहिले ऋणको प्रतिशत ४१ प्रतिशतको हाराहारी रहेको भन्दै उनले भने, ‘उहाँले एकै साथ साढे तीन वर्षमा साढे दश प्रतिशत ऋण बढाउनुभयो । ऋण लिएर घिउ खाने जस्तो अवस्था बन्यो । आज त्यत्तिकै तीन चार वर्षको अवधिमा एक प्रतिशत मात्रै वृद्धि भएको छ । यो तथ्याङ्कले बताउँछ ।’

उनका अनुसार तीन वर्षअघि ओलीले सरकार छोड्दै गर्दा आर्थिक वृद्धिदर ४.८ प्रतिशत हाराहारी थियो । यो अवधिमा थुप्रै संक्रमणहरु भएर पनि आर्थिक वृद्धिदर ४ प्रतिशतको हाराहारीमै रहेको भन्दै उनले प्रधानमन्त्रीलाई सोधे, ‘कसरी निराशाको कुरा गर्नुहुन्छ ?’

प्रधानमन्त्री ओलीले बजारमा माग घटेको र व्यवसायीहरूले सहयोग र प्रोत्साहन पाउनुको साटो सरकारी निकायबाटै अनावश्यक दुःख पाएको गुनासो गरेको बताएका थिए । ‘सरकार स्टन्टबाज भयो’, ‘सरकारले थुन्ने अनि सुन्ने काम गर्‍यो’ भन्ने जस्ता गुनासा बोेकेर सरकारी निकाय धाउँदा धाउँदै निजी क्षेत्रले आफ्नो व्यवसायमा काम गर्ने फुर्सद नै पाएन’, प्रधानमन्त्री ओलीले भने, ‘यस्तो लाग्छ, घटेको बजार माग र सरकारी तौरतरिकाका कारण उद्योगी व्यावसायीहरू मरीच झैं चाउरिएका छन् ।’

निवर्तमान अर्थमन्त्री पुनले भने लगानीको वातावरण बन्दै गरेको र व्यवसायीसमेत निराश नरहेको दाबी गरे ।

अर्थव्यवस्था सकारात्मक रहेको भन्दै उनले भने उदाहरणका रुपमा विदेशी मुद्रा सञ्चितीलाई देखाए ।

‘उहाँले सरकार छोड्दै गर्दा सोधनान्तर बचतको अवस्था १२३ करोड थियो । आज वैदेशिक मुद्राको सञ्चितीको अवस्था ४२ हजार ५२७ करोडको अवस्था छ । यो तथ्य हो कि होइन ? यो राम्रो हो कि नराम्रो हो ?’, पुनले प्रश्न गरे ।

१९ महिनाको प्रयाप्त वस्तु आयात गर्ने विदेशी मुद्रा सञ्चिती रहेको भन्दै उनले प्रधानमन्त्री ओलीलाई प्रश्न गरे, ‘त्यतिखेर (तीन वर्षअघि ओलीले सरकार छाड्दा) कति थियो तुलना गरेर हेर्नुस् । १२३ करोडको बचत राम्रो कि ४२ हजारको वचत राम्रो ?’

प्रधानमन्त्री ओलीले नेपालले अहिलेसम्म ब्यापार नै गर्न नसकेको बताए । गएको आर्थिक वर्षको पहिलो ११ महिनामा १,४५४ अर्ब रुपैयाँको आयात गर्दाे करिब १४० अर्ब रुपैयाँको निर्यात गरेको तथ्याङ्क प्रस्तुत गर्दै उनले प्रश्न गरे, ‘अरूले बेचि मात्र रहेका छन् । हामी चाहिँ किनिरहेका छौं । बिक्री नगर्ने खरिद मात्र गरिरहने पनि व्यापार हुन्छ र ?’ अब नेपालले व्यापार सुरु गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड छ ।

निवर्तमान अर्थमन्त्री पुनले भने तीन वर्ष अघि १३ हजार ९८१ रहेको वैदेशिक ब्यापार घाटा अहिले हाल १३ हजार १४४ को हाराहारीमा स्मरण गरे ।

प्रधानमन्त्री ओलीले देशमा व्याप्त गहिरो निराशा हटाउन, जनतामा आशा जगाउन र देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान आफ्नो नेतृत्वमा नयाँ सरकार बनेको दाबी गरेका छन् ।

विश्वव्यापी प्रभावहरुका कारण मात्र समग्र अर्थतन्त्र केही समस्यामा भन्दै पुनले भने, ‘हाम्रो अर्थतन्त्रमा समयाहरु छन् तर, तथ्यांकहरुलाई बंग्याएर भावनाको आधारमा चल्दैन ।’

प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जान लामवद्ध युवायुवतीको भीड देखिएको भन्दै देशप्रति आम जनताको भरोसा टुट्नु डरलाग्दो भएको बताएका थिए ।

‘युवा पुस्ता बिदेसिँदा उच्च शिक्षा अध्ययन गराउने शिक्षण संस्थाहरूले अभूतपूर्व संकटको सामना गरिरहेका छन्’, उनले भने, ‘मलाई सबैभन्दा डर लागेको कुरा, देशप्रति आम जनताको भरोसा टुटेको छ । तिनको मनोबल नराम्ररी गिरेको छ ।’

निवर्तमान अर्थमन्त्री पुनले भने विश्व नै ग्लोवल भिलेजको रुपमा विकास भएको बताए । ‘जतिसुकै अवसर भएपनि सबै युवा नेपाल बस्न सक्दैनन्, विदेश जान्छन् । उनीहरले हासिल गरेको ज्ञान सिप र क्षमता नेपालमा लगानी गर्नसक्ने वातावरण बनेको छ’, उनले अगाडि भने, ‘यसको अपनत्व प्रधानमन्त्रीले लिनुहुन्छ कि हुँदैन प्रश्न यो हो ।’

प्रधानमन्त्री ओलीले देशमा व्याप्त गहिरो निराशा हटाउन, जनतामा आशा जगाउन र देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान आफ्नो नेतृत्वमा नयाँ सरकार बनेको दाबी गरेका छन् ।

निवर्तमान अर्थमन्त्री पुनले भने प्रधानमन्त्रीले दाबी गरेजस्तो निराशा नरहेको जिकिर गरे । प्रधानमन्त्रीले जे निराशा राख्नुभएको छ, त्यस्तो होइन । विस्तारै अर्थतन्त्रले लय समात्दैछ । अगाडि बढिराखेका छौं’, पुनले भने, ‘निराशा होइन, आज पनि सम्भव छ ।’

गत वर्ष एक खर्ब भन्दा बढी आइटी सेवा निर्यात भएको भन्दै उनले भने, ‘उहाँले छोड्दै गर्दा (तीन वर्षअघि) पूँजीगत खर्च ५७ प्रतिशत थियो । आज अन्तिममा भुक्तानी गर्ने बेलामा गठबन्धन हेरफेर गर्दा पनि ६० प्रतिशत बढी पुजीगत खर्च छ । यो तथ्यांक हो कि होइन ?’

१५ जेठमा आफूले ल्याएको बजेटमा आगामी दश वर्षलाई आइटी दशक घोषणा गरिएको स्मरण गर्दै उनले भने, ‘त्यो बजेटलाई अपनत्व प्रधनमन्त्रीले लिनुहुन्छ कि हुँदैन, मेरो प्रश्न हो ?’

प्रधानमन्त्री ओलीले भने सरकार अविच्छिन्न उत्तराधिकारी संस्था भएकाले राम्रा नीति तथा कार्यक्रमलाई अघि बढाउने बताए । उनले संसदमा भनेका छन्, ‘परिवर्तन महसुस भएको ठाउँमा विधि र पद्धतिभित्र रही नीति, कार्यक्रम र बजेटलाई परिमार्जित गर्दै परिणाम निकाल्ने गरी सम्पूर्ण संयन्त्र परिचालन गर्नेछौं ।’

अर्थराजनीतिक विश्लेषक हरि रोका भने अर्थतन्त्रको यो अवस्था हुनुमा ओली र पुन दुबै जिम्मेवार रहेको बताउँछन् ।

प्रधानमन्त्री ओलीले अर्थतन्त्रको अवस्था खत्तम थियो, त्यसले आफू आउनुपरेको हो भन्ने स्थापित गर्न खोजेको र निवर्तमान अर्थमन्त्री पुनले राम्रै गरेको थिए भनेर प्रतिवाद गरेको भन्दै उनले भने, ‘तथ्य चाहिँ ओलीसँगको सहकार्यमा पुन अर्थमन्त्री भएका हुन् । यसकारण हिजोको काममा ओली पनि जिम्मेवार हुन् । कार्यकारीमा भएका पुन पनि जिम्मेवार हुने भइहाल्यो ।’

उनले अगाडि भने, ‘एउटै समयको एउटै तथ्यांक देखाएर एकले अर्कोलाई गलत देखाउन खोज्नु चाहिँ राजनीतिक तिकडम हो ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?