+
+

व्यापार घाटालाई रेमिट्यान्सको टेको

अघिल्लो वर्ष व्यापार घाटा बराबर वा त्यसभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । व्यापार विज्ञहरू यो अवस्थालाई नेपालमा व्यापार घाटा छ भन्न नमिल्ने तर्क गर्छन् ।

अच्युत पुरी अच्युत पुरी
२०८१ साउन ७ गते १६:०८

७ साउन, काठमाडौं । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा व्यापार घाटा १४ खर्ब ४० अर्ब रुपैयाँमा सीमित भएको छ ।

भन्सार विभागको आँकडा अनुसार एक वर्षमा आयात र निर्यात दुवै खुम्चिएको छ । जसले गर्दा यो आवमा भित्रिएको रेमिट्यान्सले व्यापार घाटा थेग्ने अवस्था बनेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । असारको तथ्यांक सार्वजनिक हुन बाँकी छ । यद्यपि, यो आव ११ महिना औसत १ खर्ब २० अर्ब रुपैयाँका दरले रेमिट्यान्स भित्रिएको छ ।

यसबाट अघिल्लो वर्ष व्यापार घाटा बराबर वा त्यसभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । व्यापार विज्ञहरू यो अवस्थालाई नेपालमा व्यापार घाटा छ भन्न नमिल्ने तर्क गर्छन् ।

‘रेमिट्यान्स सेवा निर्यातबाट भित्रिएको रकम हो, तपाईं वस्तु उत्पादन गर्न सक्नु हुन्न, त्यसकारण आयात हुन्छ,’ व्यापार विज्ञ प्रचण्डमान श्रेष्ठ भन्छन्, ‘तर, सेवा निर्यात गरेर सोबराबर रकम भित्र्याइरहनुभएको छ भने नेपालको व्यापार घाटामा छ भन्न मिलेन ।’

नेपाल ठूलो अर्थतन्त्र भएका दुई छिमेकी भारत र चीनको बीचमा छ । उनीहरूसँग वस्तु उत्पादनमा प्रतिस्पर्धा गर्न नसक्ने हो भने हाम्रो प्रतिस्पर्धी क्षमता भएको सेवा निर्यातबाटै रकम भित्र्याउनुपर्ने उनको भनाइ छ ।

अब सेवा व्यापार निर्यातमा बढी जोड दिनुपर्ने श्रेष्ठ बताउँछन् । यसका लागि पर्यटन, जनशक्ति, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रलाई अझ बढी सुधार गर्नुपर्ने उनको भनाइ छ ।

‘सबै कुरा नेपालमा पाइँदैन, यहाँ उत्पादन गर्न खोज्यो भने महँगो पर्छ,’ उनी भन्छन्, ‘त्यसकारण आयात हुन्छ, व्यापार घाटा हुन्छ, यसमा आत्तिनु पर्दैन, बरु त्यो आयात गर्न आवश्यक रकम छ कि छैन, त्यो महत्त्वपूर्ण हो, नेपालसँग त्यो रकम छ ।’

राष्ट्र बैंकको विदेशी मुद्रा सञ्चिति आँकडाबाट समेत नेपाल व्यापार घाटामा छ भन्ने अवस्था नरहेको उनी बताउँछन् । ‘सेवा व्यापारलाई अब अन्तर्राष्ट्रिय व्यापारको अंग मान्न ढिला भइसक्यो,’ उनले भने ।

तथ्यांक अनुसार अघिल्लो आव कुल आयात १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँ बराबर भएको छ । यस वर्ष निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड बराबर भएको छ । जसले गर्दा व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोडमा खुम्चिएको देखिन्छ ।

यस वर्ष आयात अघिल्लो वर्षको तुलनामा १.१६ प्रतिशत, निर्यात ३.०३ प्रतिशत र व्यापार घाटा ०.९६ प्रतिशतले कम भएको छ ।

यस वर्ष व्यापार घाटा परिपूर्ति गर्न रेमिट्यान्स नै पर्यात हुने अवस्था देखिएको छ । व्यापार विज्ञ श्रेष्ठ आयात र निर्यात दुवै खुम्चिएको अवस्थालाई सुखद भने मान्न नहुने बताउँछन् ।

नेपाल जस्तो औद्योगिक वातावरण नभएको मुलुकले सस्तो मूल्यमा पाउने सामान किनेरै अर्थतन्त्र चलाउने हो भन्दै उनले आयात घट्नु अर्थतन्त्र खुम्चिएको अवस्थाका रूपमा बुझिने उनी बताउँछन् ।

अर्कातर्फ, नेपालले निर्यातमा पनि पर्याप्त मूल्य अभिवृद्धि गर्न सकेको छैन । सोहीकारण आयात–निर्यात खुम्चिँदा खुसी हुनु नपर्ने उनको तर्क छ । ‘आयात खुम्चिनु भनेको भएको राज्यको राजस्व गुम्नु हो, जनताले रोजगारी गुमाउनु हो, जनतासँग खर्च गर्ने पैसा छैन भन्नु हो, समग्रमा यो नकारात्मक अवस्था हो,’ उनी भन्छन् ।

आयात र निर्यात दुवै घट्दा समग्र वैदेशिक व्यापारको आकार समेत खुम्चिएको छ । भन्सार विभागको तथ्यांक अनुसार यस वर्ष कुल वैदेशिक व्यापार १७ खर्ब ४५ अर्ब ३६ करोड रुपैयाँ बराबर व्यापार भएको छ । यो अघिल्लो आवको तुलनामा १.३३ प्रतिशत कम हो । अघिल्लो वर्ष १७ खर्ब ६८ अर्ब ८७ करोड बराबर व्यापार भएको थियो ।

पेट्रोलियम पदार्थ आयातमा मात्र साढे ३ खर्ब विदेशियो

यस वर्ष पेट्रोलियम पदार्थ आयातमा मात्र ३ खर्ब ३७ अर्ब ३४ करोड रुपैयाँ विदेशिएको छ । पेट्रोलियम आयातमा नेपालको सबैभन्दा ठूलो व्यापार घाटा छ । यसमध्ये सबैभन्दा धेरै भारतसँग व्यापार छ ।

यस आवमा १ खर्ब २५ अर्ब रुपैयाँ बराबर फलाम तथा स्टिल आयात भएको छ । एक वर्ष अवधिमा २८ अर्ब बराबर तरकारीजन्य वस्तु आयात भएको देखिन्छ । ८५ अर्ब ७४ करोड बराबर सवारीसाधन आयात भएको छ ।

नेपालले एक वर्षमा १ सय ७० भन्दा धेरै देशसँग व्यापार गरेको छ । यसमध्ये सबैभन्दा धेरै व्यापार भारतसँग छ । भारतबाट नेपालमा ९ खर्ब ९६ अर्ब ६८ करोड बराबर वस्तु आयात भएको छ । नेपालबाट भारततर्फ १ खर्ब ३ अर्ब बराबरको वस्तु निर्यात भएको छ ।

चीनबाट नेपालमा २ खर्ब ९८ अर्ब बराबर वस्तु आयात भएको छ । नेपालबाट भने मात्र २ अर्ब ५८ करोड बराबर वस्तु निर्यात भएको देखिन्छ । तेस्रो ठूलो व्यापार साझेदार देश युनाइटेड अरब इमिेरेट्स (यूएई) देखिएको छ ।

यूएईबाट २९ अर्ब रुपैयाँ बराबर सामान आयात भएको छ । नेपालबाट भने २ अर्ब ५७ करोड रुपैयाँको निर्यात भएको छ । चौथो स्थानमा अमेरिका छ । अमेरिकाबाट नेपालमा १९ अर्ब ४८ करोडको आयात भएको छ । निर्यात १७ अर्ब ३१ करोड बराबर भएको छ ।

अमेरिका कम व्यापार घाटा भएको मुलुकमध्ये सबैभन्दा अगाडि पर्छ । युक्रेन पाँचौं स्थानमा छ । त्यहाँबाट १८ अर्ब ८८ करोड रुपैयाँ बराबर आयात भएको छ । निर्यात भने ५ लाख रुपैयाँ बराबर मात्र देखिन्छ ।

आयात घट्दा सरकारले भन्सारबाट उठाउने राजस्व समेत कम भएको छ । यस वर्ष भन्सार विभागले लक्ष्यको ६७ प्रतिशतमात्र राजस्व उठाएको छ ।

यस वर्ष भन्सार विभागलाई ६ खर्ब २७ अर्ब रुपैयाँको लक्ष्य रहेको थियो । तर, प्राप्ति भने ४ खर्ब २० अर्ब रुपैयाँ मात्र रहेको विभागले जनाएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?