+
+

डेडिकेटेड र ट्रंक लाइन विवादबारे मन्त्रिपरिषद्ले निकास निकाल्ने

ऊर्जामन्त्री दीपक खड्काले आज साँझसम्म डेडिकेटेड र ट्रंक लाइन विवादबारे मन्त्रिपरिषद्ले केही निकास निकाल्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १८:००

७ साउन, काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच नौ वर्षदेखि जारी ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादबारे मन्त्रिपरिषदबाट नै निकास निकाल्ने भएको छ ।

ऊर्जामन्त्री दीपक खड्काले आज साँझसम्म डेडिकेटेड र ट्रंक लाइन विवादबारे मन्त्रिपरिषद्ले केही निकास निकाल्ने बताए ।

‘डेडिकेटेड र ट्रंक लाइन विवादमा साँझसम्म मन्त्रिपरिषद्ले केही निकास निकाल्न सक्छ,’ ऊर्जामन्त्री खड्काले अनलाइनखबरसँग भने, ‘यस सम्बन्धमा प्राधिकरण सञ्चालक समितिको बैठक पनि बसेको छ ।’

आजै विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएको ६ वटा उद्योगको लाइन जोडिदिन निर्देशन दिए पनि विद्युत् प्राधिकरणले अटेर गरेको छ ।

सोमबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकमा कार्यकारी निर्देशक कुलमान घिसिङले नै आयोगको निर्देशन कार्यान्वयन गर्ने निर्णयमा असहमति जनाएका थिए ।

मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा लाइन काटेकाले नियमन आयोगको पत्रका आधारमा अहिले जोड्न नसकिने तर्क घिसिङले राखेका थिए । यो विषय नियमन आयोगको क्षेत्राधिकारमा पर्ने कि नपर्ने भन्ने प्रश्न घिसिङले गरेका थिए ।

डेडिकेटेड र ट्रंकलाइनको बिल भुक्तानी नगरेको भन्दै प्राधिकरणले ६ उद्योगको लाइन काटिदिएको थियो ।

डेडिकेडेट फिडर र ट्रंक लाइन मार्फत वितरण गरिएको विद्युत् महसुल दरको भुक्तानीलाई लिएर २०७५ सालदेखि विद्युत् प्राधिकरण र उद्योगीहरूबीच विवाद जारी छ । यही विवादका कारण पटक–पटक उद्योगीहरूको लाइन काटिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?