+
+

प्रहरीले एक वर्षमा झण्डै १५ हजार फरार अभियुक्त समात्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १८:१८

७ साउन, काठमाडौं । नेपाल प्रहरीले पछिल्लो एक वर्षमा १४ हजार ७६४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सबैभन्दा बढी मधेश प्रदेशका छन् । केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार मधेशमा पक्राउ पर्ने मात्रै ५ हजार १० जना छन् । यो जम्मा समातिएका आरोपीको ३३.९३ प्रतिशत हो ।

मधेशपछि सबैभन्दा बढी कोशीमा २ हजार २७८, लुम्बिनीमा २ हजार १०५, बागमतीमा १ हजार ६५६, उपत्यकामा १ हजार ५४६, गण्डकीमा १ हजार १७६, सुदूरपश्चिममा ६१९ र कर्णालीमा ३७४ जना पक्राउ परेका छन् ।

विभिन्न मुद्दामा फरार रहेकाको खोजीसँगै फैसला कार्यान्वयनका लागि प्रहरीले प्राथमिकतामा दिँदै आएको कार्की बताउँछन् । त्यही अन्तर्गत फरार आरोपीलाई पक्राउ गर्ने गरिएको उनले बताए ।

यस्तै आर्थिक वर्ष ०८०/८१ मा मात्रै प्रहरीका विभिन्न युनिटबाट ५९ हजार २०३ वटा मुद्दा दर्ता भएका छन् । यसआधारमा प्रतिदिन १६२ वटा मुद्दा दर्ता हुने गरेको देखिन्छ ।

सबैभन्दा बढी मुद्दा दर्ता बैंकिङ कसुरको छ । एक वर्षमा बैंकिङ कसुरको १३ हजार २६३, सार्वजनिक अपराधको १० हजार ७५६, आत्महत्याको ७ हजार १९४ र लागुऔषधको ४ हजार ४९८ मुद्दा दर्ता भएका छन् ।

चोरीका ३ हजार ७५८, जबर्जस्ती करणीका २ हजार ५०७, ठगी र आपराधिक लाभका १ हजार ८७४, सवारी ज्यानका १ हजार ७७५ र ज्यान मार्ने उद्योगका १ हजार १९ वटा मुद्दा दर्ता भएका छन् ।

अघिल्लो आर्थिक २०७९/८० मा ५६ हजार ३२३ मुद्दा दर्ता भएको थियो । त्यसआधारमा २०८०/८१ मा ५.११ प्रतिशतले मुद्दा दर्ता संख्या बढेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?