+
+

वैशाख र जेठमा बढेको ईभी आयात असारमा घट्यो 

बजेट अगाडि वैशाख र जेठमा ठूलो संख्यामा आयात भएको विद्युतीय गाडी (ईभी) असारमा भने घटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १९:४०

७ असार, काठमाडौं । बजेट अगाडि वैशाख र जेठमा ठूलो संख्यामा आयात भएको विद्युतीय गाडी (ईभी) असारमा भने घटेको छ । सरकारले गत १५ जेठमा ल्याएको बजेट मार्फत विद्युतीय गाडी (ईभी) मा लाग्ने कर बढाएको छ ।

आर्थिक विधेयक मार्फत इन्ट्री लेभलदेखि सबै गाडीमा भन्सार र अन्तःशुल्क गरेर सरकारले १० प्रतिशत कर बढाएको छ ।

कर बढाउनु अगाडि वैशाखमा र जेठको दोस्रो सातासम्म ठूलो परिमाणमा विद्युतीय गाडीको आयात देखिए पनि घटेको भन्सार विभागको तथ्यांकले दखाएको छ ।

जेठमा मात्रै करिब ३ हजार युनिट आयात भएको थियो । तर, असारमा भने २ सय ६६ युनिट मात्रै विद्युतीय गाडी आयात भएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा कुल ११ हजार ७ सय १ युनिट ईभी (कार, जिप, भ्यान) भित्रिएका छन् । जसमध्ये असारमा २ सय ३५ युनिट भित्रिएको हो ।

गत वैशाखसम्म ८ हजार ४ सय ९७ युनिट ईभी आयात भएकोमा जेठमा मात्रै २ हजार ९ सय ६९ युनिट विद्युतीय गाडी आयात भएको थियो ।

वैशाखमा १ हजार ४ सय ४ युनिट ईभी आयात भएको थियो ।  वैशाख र जेठमा मात्रै करिब साढे ४ हजार युनिट ईभी आयात भएकोमा असारमा भने २ सय ३५ मा मात्रै सीमित भएको हो । बजेटमा कर बढाउन अगाडि नै ईभी आयात गरेको व्यवसायीले स्टक क्लियरेन्स गर्नुपर्ने हुँदा असारमा आयात घटाएका हुन् ।

सरकारले गत वर्ष १५ जेठ २०८० मा ल्याएको आर्थिक विधेयक मार्फत पनि इन्ट्री लेभलका गाडीको कर बढाएको थियो । उक्त आर्थिक विधेयक मार्फत ५० किलोवाटसम्मका सवारीमा १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरेको थियो । ५० देखि १ सय किलोवाटसम्मका ईभीका हकमा १० प्रतिशतबाट बढाएर भन्सार महसुल १५ प्रतिशत पुर्‍याइएको थियो । सोही रेन्जको गाडीमा  गत वर्षदेखि १० प्रतिशत अन्तःशुल्क पनि पुर्‍याएको थियो  ।

१५ जेठ २०८१ मा आएको आर्थिक विधेयक मार्फत पनि ईभीमा कर बढेको छ । ५० किलोवाट र ५१ देखि १०० किलोवाट क्षमतामा भन्सार र अन्तःशुल्क ५/५ प्रतिशतले बढाएको छ ।

१०१ देखि २०० किलोवाटसम्म भन्सार यथावत् राखेर अन्तःशुल्क बढाएको हो । त्यसभन्दा माथि २०१ देखि ३०० किलोवाटसम्म भन्सार घटाएर अन्तःशुल्क बढाएको छ । ३०० किलोवाटभन्दा बढी क्षमतामा पनि भन्सार घटाउर अन्तःशुल्क बढाएको हो ।

कर बढ्नु अगाडि इन्ट्री लेभलका ईभीको आयात उच्च देखिएको पनि कर बढे पनि आयात घटेको हो । असारसम्म भित्रिएका ईभीमध्ये ५० किलोवाटसम्म रेन्जका ४ हजार ५ सय ७१ र ५१ देखि १ सय किलोवाटसम्मको रेन्जका ६ हजार ८ सय ८५ युनिट ईभी भित्रिएका छन् ।

यस्तै १ सय १ देखि २ सय किलोवाटसम्मको रेन्जका ईभी २१७ युनिट भित्रिएको भन्सार विभागको तथ्यांक छ । २ सय १ देखि ३ सय किलोवाटसम्मको रेन्जका ईभी २७ वटामा मात्रै आउँदा ३०० किलोवाटभन्दा माथिको एक युनिट आएको छ । असारमा १ सय १ देखि २ सय किलोवाटसम्मको रेन्जका ८ वटा मात्रै गाडी आयात भएका छन् भने ५० किलोवाटसम्मको गाडी २२७ गाडी भित्रिएका हुन् ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा ८५ अर्ब ७४ करोडको गाडी आयात भएको छ । जसमध्ये २९ अर्ब ४८ रुपैयाँ बराबरको ईभी (कार, जिप, भ्यान) मात्रै भित्रिएका छन् । विद्युतीय गाडी आयातबाट सरकारले १३ अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त गरेको भन्सार विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?