७ साउन, माले । काभा यू-२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाईनलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ ।
सोमबार माले सिटीस्थित सोसल सेन्टरमा भएको सेमिफाईनलमा कीर्गिस्तानसँग नेपाल ३-० ले पराजित भएपछि नेपाल फाईनल पुग्न असफल भएको छ ।
उत्कृष्ट प्रदर्शन गरेको कीर्गिस्तानले नेपाललाई २५-१४, २५-२२, २५-१३ ले पराजित गर्यो । दोस्रो सेटमा नेपालले प्रतिस्पर्धातम्क खेल खेलेपछि पहिलो र तेस्रो सेटमा कीर्गिस्तानले एकपक्षिय जित निकालेको थियो । उपाधि जित्ने लक्ष्यसहित माले आएको नेपाली टोलीले सोचे अनुसारको प्रदर्शन गर्न सकेन ।
कीर्गिस्तान विरुद्ध लिग चरणमा बेहोरेको हारको बदला लिँदै फाईनल पुग्ने नेपालको लक्ष्य थियो । तर रिसिभ, ब्लक र डिफेन्समा राम्रो प्रदर्शन गर्न नसक्दा नेपाल फाईनल पुग्न सकेन ।
लिग चरणमा पनि नेपाल कीर्गिस्तानसँग सोझो सेटमै पराजित भएको थियो ।
सेमिफाईनलमा हारपछि नेपालबा मुख्य प्रशिक्षक कुमार राईले नेपाल सबै क्षेत्रमा कमजोर देखिँदा पराजित हुनुपरेको बताए ।
‘सेटर कमजोर हुँदा समग्र खेलमा असर पर्यो । रिसिभमा केही सुधार भएपनि अझै कमजोर देखियो । ब्लकमा पनि कमजोर देखियो । आज अट्याकमा पनि अली कमजोर देखियाैँ । हामी सबै क्षेत्रमा बमजोर देखियो ।’ प्रशिक्षक राईले भने ।
कीर्तिस्तानले एकरुपको प्रदर्शन गर्दा नेपालको टिममा तालमेलको अभाव देखियो । कभर्डहलमा करिब दुई हजार नेपाली दर्शक नेपाली टिमलाई समर्थन गर्न आएको थिए । तर टिमको प्रदर्शन राम्रो नहुँदा उनीहरु निराश थिए ।
नेपालले अब तेस्रो स्थानको लागि मंगलबार माल्दिभ्ससँग खेल्नेछ । सोमबारै भएको पहिलो सेमिफाइनलमा माल्दिभ्स श्रीलंकासँग सोझो सेटमा पराजित भएको थियो ।
च्याम्पियनसिपको उपाधिका लागि श्रीलंका र कीर्गिस्तानबीच मंगलबारै फाइनल खेल हुनेछ ।
प्रतिक्रिया 4