+
+

बालबालिकामा फैलँदो क्षयरोग

गाउँ–गाउँमा भएका क्षयरोगीको पहिचान गर्ने एक्टिभ मोडल कार्यान्वयन हुन नसक्दा नेपालमा क्षयरोगको अवस्था भयावह बन्दै गएको यस क्षेत्रका विज्ञहरू बताउँछन् ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८१ साउन ८ गते २०:१७

८ साउन, काठमाडौं । चैत अन्तिम साता, ९ वर्षीया बालिका कान्ति बाल अस्पतालमा भर्ना भइन् । ज्वरो आउने, बेला-बेलामा बेहोश हुने, पेट फुल्ने लगायत समस्या देखिएपछि अभिभावकले चार-चार वटा निजी अस्पतालमा देखाइसकेका थिए, तर रोग पत्ता लागेन । अन्तिममा क्षयरोग हुनसक्ने आशंकामा औषधि चलाए ।

बालिकाले कहिले औषधि खाने र छोड्ने गर्दा स्वास्थ्य अवस्था गम्भीर बन्दै गयो । अभिभावक बालिकालाई लिएर बाल श्वास–प्रश्वास तथा सघन रोग विशेषज्ञ डा. जगतजीवन घिमिरेकहाँ पुगे । उनले बालिकालाई क्षयरोग भएको आशंका गर्दै परीक्षण गर्न सुझाए । केही दिनको परीक्षणबाट उनमा क्षयरोग भएको पुष्टि भयो ।

‘एकदमै गम्भीर अवस्थामा आउनुभएको थियो । क्षयरोगले विभिन्न अंगमा असर गरिसकेको थियो’ डा. घिमिरेले भने, ‘तीन हप्ता आईसीयूमा राखेर उपचार गर्नुपर्‍यो ।’

****

निरन्तर खोकी लाग्ने, खोक्दा रगत आउने समस्या देखिएपछि ४० वर्षीया महिला वरिष्ठ छाती रोग तथा सघन विशेषज्ञ डा. राजु पंगेनीकहाँ पुगिन् । लक्षणका आधारमा क्षयरोगको परीक्षण भयो, तीन दिनपछि त्यही रिपोर्ट आयो ।

उनीसँगै १० वर्षको छोरा पनि बस्दै आएका थिए, उनमा कुनै लक्षण भने देखिएको थिएन । तर चिकित्सकले बालकको पनि परीक्षण गर्न सुझाए । ‘एक्सरे मार्फत हेर्दा छातीमा दाग देखियो’ डा. पंगेनीले अनलाइनखबरसँग भने, ‘चेकजाँच गर्दा छोरामा पनि आमाबाट क्षयरोग सरेको पुष्टि भयो ।’

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार बालबालिकामा क्षयरोग संक्रमण बढ्दो छ । आर्थिक वर्ष २०७७/७८ मा १४ वर्ष मुनिका १ हजार ८९२ जनामा क्षयरोग संक्रमण पुष्टि भयो । २०७८/७९ मा ३ हजार २९३ र २०७९/८० मा २ हजार ९९५ जना नयाँ संक्रमित थपिए ।

विश्व स्वास्थ्य संगठनले २०७६ मा गरेको राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण अनुसार नेपालमा हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिने गरेका छन् । जसमध्ये कम्तीमा १० प्रतिशत १४ वर्ष मुनिका बालबालिका हुन सक्छन् । अर्थात् समुदायस्तरबाट पहिचान गर्ने हो भने प्रति वर्ष ६ हजार ९०० हाराहारी बालबालिकामा क्षयरोग हुनसक्ने आकलन गरिएको छ ।

तर ३ हजार हाराहारी मात्र उपचारको दायरामा आएकाले आधाभन्दा बढी बालबालिका उपचारबाट विमुख रहेको अनुमान गर्न सकिने चिकित्सकहरू बताउँछन् ।

के हो क्षयरोग ?

चिकित्सकहरूका अनुसार बालबालिकामा क्षयरोग दुई कारणले सर्ने सम्भावना हुन्छ । एक जन्मजात नै गर्भवती आमाबाट र अर्को घरपरिवारका सदस्यबाट सर्ने जोखिम उच्च हुन्छ । बालबालिका धेरै समय विद्यालयमा बिताउने गर्छन् । एउटा संक्रमितको खाजा, पानी अर्को साथीले खाँदा पनि रोगको संक्रमण हुन सक्छ

माइकोब्याक्टिरियम ट्युबरक्युलोसिस नामक जीवाणुका कारण लाग्ने सरुवा रोग हो, क्षयरोग । यो जीवाणुबाट प्रभावित मानिसले खोक्दा र हाच्छ्युँ गर्दा निस्कने स–साना कणबाट पनि अरूलाई सर्ने सम्भावना उच्च हुन्छ ।

चिकित्सकहरूका अनुसार यस्तो जीवाणु प्रवेश गर्दा १० प्रतिशत हाराहारी वयस्क मानिसले खोकेर वा श्वासनलीको प्रतिरोधी प्रणाली नै पखाल्ने गर्छ । ८० प्रतिशत मानिसमा फोक्सोभित्र वा शरीरका कुनै भागमा सुषुप्त अवस्थामा बस्छ, तत्काल क्षयरोग गराउँदैन । यसरी सुषुप्त बसेको जीवाणुले दीर्घरोग लाग्दा वा प्रतिरोधात्मक क्षमता घटेको बेलामा क्षयरोग संक्रमण गराउन सक्छ ।

१० प्रतिशत मानिसलाई भने फोक्सो र अन्य अंगले संक्रमण गराएर क्षयरोग देखिन्छ । यसरी संक्रमित भएकामध्ये पनि ८० प्रतिशतलाई फोक्सोमा संक्रमण गराउँछ ।

प्रिभ्यालेन्स सर्वेक्षण अनुसार प्रति वर्ष ६९ हजार नयाँ बिरामी थपिन्छन् भने पुराना समेत गरी १ लाख १७ हजार क्षयरोगका बिरामी रहेको अनुमान छ ।

जोखिममा बालबालिका

चिकित्सकहरूका अनुसार बालबालिकामा क्षयरोग पहिचान गर्नै समस्या छ । एक त बालबालिकामा पनि क्षयरोग संक्रमण हुनसक्छ भन्ने चेतनाकै कमि छ, त्यसैले रोग पत्ता लगाउने प्रयास नै हुँदैन । बालबालिकामा क्षयरोगका लक्षण अन्य रोगकै जस्तो देखिने भएकाले रोग पहिचान सहज पनि छैन ।

वयस्क व्यक्तिलाई क्षयरोग लागेमा खोकीसँगै खकारमा रगत, छाती दुख्ने, तौल घट्ने, कमजोरी हुने, ज्वरो आउने र राति-पसिना निस्किने लक्षण देखिन्छन् । क्षयरोग लागेको आशंका भएमा खकारबाट सहजै परीक्षण गर्न सकिन्छ ।

बालबालिकामा भने ज्वरो आउने, तौल घट्ने समस्या प्रमुख रूपमा देखिन्छ, जुन अन्य रोगका लक्षणसँग पनि मिल्दोजुल्दो हुन्छ । उनीहरूले खकार निकाल्न नसक्ने भएकाले सहज रूपमा परीक्षण गर्न पनि सकिन्न । लक्षणको आधारमा खाली पेटबाट पानी निकालेर परीक्षण गर्ने गरिन्छ, जुन सीमित स्वास्थ्य संस्थामा मात्रै हुन्छ ।

‘शरीरमा कम ब्याक्टेरिया हुने भएकाले कतिपय अवस्थामा रिपोर्ट पोजेटिभ नदेखिने हुन्छ जसले रोग पहिचान गर्न चुनौती देखिएको छ’, डा. घिमिरे भन्छन् ।

अझ ५ वर्षमुनिका बालबालिकामा क्षयरोगको जोखिम अधिक हुन्छ । चिकित्सकहरूका अनुसार, ५ वर्षमुनिका बालबालिकाको फोक्सो राम्रोसँग विकसित भएको र रोग प्रतिरोधात्मक क्षमता बढेको पनि हुँदैन ।

रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले क्षयरोगका कीटाणुले छिट्टै संक्रमण गर्छन् । बालबालिकामा भने फोक्सोमा मात्रै नभई अन्य विभिन्न अंगमा पनि संक्रमण गराउने हुन्छ ।

‘प्रतिरोध प्रणाली नै कमजोर हुने भएकाले फोक्सोले मात्रै ब्याक्टेरियालाई घेरेर राख्न सक्दैन । जसका कारण अन्य अंगमा संक्रमण छिट्टै फैलिने गर्छ’, डा. राजु पंगेनीले भने । फोक्सो बाहेक ढाडको हड्डी, मिर्गौला, मुटु, मस्तिष्क, आन्द्रा आदिमा क्षयरोगको संक्रमण हुन सक्छ ।

डा. घिमिरेका अनुसार कतिपय बालबालिकामा दुई वा दुईभन्दा बढी अंगमा क्षयरोगको ब्याक्टेरियाले असर गरेको हुन्छ, जसले स्वास्थ्य अवस्था गम्भीर बन्न सक्छ । कतिपय बालबालिकामा ब्याक्टेरिया फैलिएको खण्डमा मृत्यु समेत हुन सक्छ ।

‘बालबालिकाको एक मात्रै होइन, विभिन्न अंगमा संक्रमण फैलिने हुन्छ । जुन क्षयरोग एकदमै कडा हुन्छ’ डा. घिमिरेले भने, ‘यस्ता बिरामीलाई आईसीयूमा राखेर उपचार गर्नुपर्छ । कतिपय अवस्थामा संक्रमण फैलिएर मृत्यु समेत हुन्छ ।’

कसरी सर्छ बालबालिकामा क्षयरोग ?

चिकित्सकहरूका अनुसार बालबालिकामा क्षयरोग दुई कारणले सर्ने सम्भावना हुन्छ । एक जन्मजात नै गर्भवती आमाबाट र अर्को घरपरिवारका सदस्यबाट सर्ने जोखिम उच्च हुन्छ । बालबालिका धेरै समय विद्यालयमा बिताउने गर्छन् । एउटा संक्रमितको खाजा, पानी अर्को साथीले खाँदा पनि रोगको संक्रमण हुन सक्छ ।

क्षयरोगमुक्त नेपाल अभियानका लागि पञ्चवर्षीय रणनीतिक योजना (२०७८/७९ देखि २०८२/८३) कार्यान्वयनमा ल्याएको सरकारले पनि बल्ल समुदायमै गएर क्षयरोग संक्रमितहरूको पहिचान गर्न थालेको छ

चिकित्सकका अनुसार एक संक्रमितले वर्ष दिनमा औसतमा दशभन्दा बढी स्वस्थ मानिसलाई रोग सार्ने क्षमता राख्छ ।

‘पछिल्ला दिनमा क्षयरोग पत्ता लगाउने प्रविधिको विकास हुँदा क्षयरोगीको संख्या पनि बढ्दै गएको छ’ डा. पंगेनी भन्छन्, ‘क्षयरोगी बालबालिकाको संख्या बढ्नुले समुदायका वयस्कमा पनि क्षयरोग नियन्त्रणमा छैन भन्ने देखाउँछ ।’

बल्ल समुदायमा जाँदैछ सरकार

नियमित औषधि खाने हो भने क्षयरोग निको हुन्छ । सरकारी तथ्यांक अनुसार ६ हजार २०९ डीओटीएस (डट्स) केन्द्रबाट क्षयरोगको निःशुल्क औषधि वितरण हुन्छ ।

यसैगरी डीआर सेन्टर २३, डीआर सब-सेन्टर ८२ र ६ वटा डीआर होस्टलबाट क्षयरोगका बिरामीले निःशुल्क उपचार सेवा पाउँछन् । सरकारले डीआरका बिरामीलाई पोषण भत्ता सहित निःशुल्क बीमाको व्यवस्था समेत गरेको छ ।

तर, बिरामीले नियमित रूपमा औषधि सेवन नगर्दा रोकथाममा थप चुनौती थपिएको छ । अधिकारीहरूका अनुसार अहिले पनि ३० हजार संक्रमित उपचारको दायरामा आएका छैनन् । उपचारमा आएकाहरूले पनि बीचमै औषधि छोडेको सरकारी तथ्यांकले नै देखाउँछ । चिकित्सकहरूका अनुसार, क्षयरोगको औषधि खान छुटाउँदा संक्रमितको शरीरमा औषधि प्रतिरोधी क्षमता विकास हुन्छ ।

सामान्य क्षयरोगीले कम्तीमा ६ देखि ९ महिनासम्म औषधि खानुपर्छ भने डीआरहरूले कम्तीमा एक वर्षदेखि १८ महिना वा सोभन्दा बढी नियमित सेवन गर्नुपर्छ । साथै उनीहरूको संक्रमण गम्भीर र जटिल हुन्छ । ‘एक महिना औषधि खाएपछि बिरामीलाई निको भए जस्तो महसुस हुन्छ । बीचमा छोड्दा औषधिले नराम्रो प्रतिक्रिया जनाउँछ’ डा. पंगेनी भन्छन्, ‘यसरी डीआर भएका बिरामी झन् बढी संक्रामक हुने हुँदा समुदायस्तरमा संक्रमण बढी फैलिन्छ ।’

नेपालमा मृत्युका १० प्रमुख कारकमध्ये क्षयरोग सातौंमा छ । २०७४/७५ को प्रिभ्यालेन्स सर्वेक्षणले क्षयरोगका कारण १७ हजारको मृत्यु हुने आकलन गरेको छ ।

नेपालमा क्षयरोगको संस्थागत रूपमा उपचार हुन थालेको ८ दशकभन्दा बढी भइसक्यो । यस अवधिमा रोकथामका लागि विभिन्न मोडल प्रयोग भए । कहिले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गरिने उपचार (डट्स) त कहिले स्टप टिबी रणनीति बनाएर गर्ने काम भयो । तर क्षयरोगको रोकथाम र निवारण हुन सकेन ।

‘प्रति वर्ष क्षयरोगका ७० हजार नयाँ बिरामी थपिने आकलन गरिएको छ तर त्यसमध्ये ४२ प्रतिशत क्षयरोगका बिरामीलाई पहिचान गर्न सकेका छैनौं’, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका प्रमुख डा. प्रज्ज्वल श्रेष्ठले भने । गरिबी, अशिक्षा, क्षयरोगका बिरामीलाई विभेद, स्वास्थ्य सेवामा पहुँचको कमि, समाजमा पहुँच भएकाहरू पनि स्वास्थ्य संस्थामा नजाने प्रवृत्ति जस्ता कारणले क्षयरोगीको पहिचान हुन नसकेको उनको तर्क छ ।

जानकारहरू भने क्षयरोगीहरूको पहिचानका लागि सरकारले लिएको नीति नै फेल भएको बताउँछन् । सरकारले प्यासिभ (निष्क्रिय) मोडलमा काम गरेको छ अर्थात् स्वास्थ्य संस्थामा आएका बिरामीलाई मात्र परीक्षणको दायरामा ल्याएको छ ।

गाउँ–गाउँमा भएका क्षयरोगीको पहिचान गर्ने एक्टिभ मोडल कार्यान्वयन हुन नसक्दा नेपालमा क्षयरोगको अवस्था भयावह बन्दै गएको यस क्षेत्रका विज्ञहरू बताउँछन् ।

क्षयरोगमुक्त नेपाल अभियानका लागि पञ्चवर्षीय रणनीतिक योजना (२०७८/७९ देखि २०८२/८३) कार्यान्वयनमा ल्याएको सरकारले पनि बल्ल समुदायमै गएर क्षयरोग संक्रमितहरूको पहिचान गर्न थालेको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार यस आर्थिक वर्षमा २५ वटा पालिकामा समुदायस्तरमा एक्टिभ मोडलमार्फत क्षयरोगीको खोजी गर्ने कार्यक्रम राखिएको छ । यसभन्दा अगाडि बढी जोखिमयुक्त १२५ वटा पालिकामा क्षयरोगका बिरामीको खोजपड्ताल गरिएको थियो ।

२०८३ सम्ममा ७५३ वटै स्थानीय तहमा यो कार्यक्रम पुर्‍याउने केन्द्रको योजना छ । यसले क्षयरोगको वास्तविक अवस्था पत्ता लगाउने, रोगीहरूलाई उपचारको दायरामा ल्याउने र संक्रमणको ‘चेन ब्रेक’ गर्ने डा. श्रेष्ठ बताउँछन् । तर यही गतिमा सन् २०३५ सम्म क्षयरोग उन्मूलन गर्न सम्भव देखिएको छैन ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?