+
+

सुदूरपश्चिममा आजदेखि प्रदेश सभाको विशेष अधिवेशन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते ८:०५

८ साउन, धनगढी । नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरुले माग गरेपछि सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुने भएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाका एक चौथाइभन्दा बढी सांसदले विशेष अधिवेशन माग गरेपछि बोलाउन पत्राचार गरेका थिए ।

प्रदेश प्रमुखको आह्वानअनुसार मंगलबार दिउँसो २ बजे विशेष अधिवेशनको पहिलो बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सचिवालयका सचिव देवबहादुर बोगटीले बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची तय गरिएको जानकारी दिए । यो बाहेक मंगलबारको बैठकमा थप गतिविधि तय भएका छैनन् ।

सभामुख भीमबहादुर भण्डारीले सोमबार बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशन किन बोलाइएको हो ? भन्ने विषयमा छलफल भएको थियो ।

प्रदेश प्रमुखको कार्यालयले पठाएको पत्रमा विशेष अधिवेशन बोलाइनुको कारण र उक्त अधिवेशनमा गर्ने गतिविधिबारे उल्लेख नगरिएको भन्दै एकपटक सोध्ने निर्णय भएको छ ।
‘कार्यव्यवस्था परामर्श समितिले सबैको सहमतिका आधारमा विशेष अधिवेशन किन बोलाइएको हो भनेर एकपटक प्रदेश प्रमुखको कार्यालयसँग जानकारी लिने निर्णय गरेको छ,’ प्रदेश सभा सचिवालयका सचिव बोगटीले भने, ‘त्यो कुरा सोधेर हामी प्रदेश प्रमुखको कार्यालयलाई पत्राचार गछौं ।’

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा एकीकृत समाजवादी भने सहभागी थिएन ।

संघमा राजनीतिक समीकरण फेरिएर कांग्रेस-एमालेको गठबन्धन बनेपछि सुदूरपश्चिममा २० असारमा एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारबाट बाहिरिएको थियो ।

एमाले बाहिरिएसँगै अल्पमतमा परेका सोडारीले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट प्रदेश सभाबाट पारित गराउन नसकेपछि प्रदेश बजेट शून्यतामा गएको छ ।

सरकारले २९ असारमा प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो तर प्रदेश प्रमुखले पाँच दिनपछि ३ साउनमा अधिवेशन आह्वानसम्बन्धी सिफारिस कार्यान्वन गरेका थिए भने भोलिपल्ट नै विशेष अधिवेशन आह्वान गरेका थिए ।

प्रदेश प्रमुखले चालेको यो कदमले अध्यायदेशबाट बजेट ल्याउने मुख्यमन्त्री सोडारीको चाहाना रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?