+
+

अध्यागमन विभाग पुगेर गृहमन्त्रीले भने – तपाईंहरुको सेवा स्मार्ट र स्माइलिङ हुनुपर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १३:१२

८ साउन, काठमाडौं । अध्यागमन विभाग पुगेर गृहमन्त्री रमेश लेखकले स्मार्ट र स्माइलिङ सेवा दिन कर्मचारीलाई निर्देशन दिएका छन् ।

मुलुकमा आउने हरेक मानिसले सुरुमा देख्ने देशको अनुहार अध्यागमन भएको भन्दै उनले यसको सेवा चुस्त र दुरुस्त हुनुपर्ने बताए । ‘तपाईंहरुलाई भेट्ने बित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहींबाट थाहा हुन्छ’, उनले भने, ‘त्यही सम्झेर काम गर्नुस् ।’

देशभन्दा बाहिर जाने मानिसकरुलाई पनि विदाइ गर्ने अन्तिम नेपाली पनि अध्यागमनकै कर्मचारी भएको भन्दै मन्त्री लेखकले भने, ‘अलि स्मार्ट र स्माइलिङ हुनुपर्‍यो । गतल ढंगले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नता देखिए कारबाही गरे हुन्छ ।’

पछिल्लो समय भिजिट भिसाका नाममा मानव तस्करी भएको घटनाहरु पनि सुन्नमा आएको भन्दै उनले त्यस्ता अवाञ्छनीय गतिविधि स्वीकार्य नहुने बताए । उनले भने, ‘मानव बेचबिखन पूर्ण रुपमा रोकिनुपर्छ, यसमा गृह प्रशासन निर्ममताका साथ प्रस्तुत हुन्छ ।’

मन्त्री लेखकले अध्यागमनसम्बन्धी विधेयक संशोधनका लागि एक महिनाभित्र मन्त्रालयमा प्रस्ताव पेश गर्न समेत निर्देशन दिए । सुशासन र सेवा प्रवाहलाई छरितो बनाउने विषयमा कानून संशोधन गर्ने कुरामा ढिलाइ नगर्ने उनले बताए ।

उनले भने, ‘कानुन निर्माणको विषय मेरो अझ बढी चासो, रुची र अनुभवको कुरा हो । यसका लागि यो उपयुक्त समय हुनसक्छ ।’

१६ वर्षअघि श्रममन्त्री हुँदा आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘श्रम डेस्क’ राखेको समेत गृहमन्त्री लेखकले स्मरण गरे । उनले दार्चुलाको तिङ्कर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय तत्काल स्थापनाका लागि प्रक्रिया अघि बढाउन निर्देशन दिए ।

कोरोना भाइरसको महामारीपछि नेपाल–भारतका नाकामा भारतीय पक्षबाट विदेशीहरुलाई आवागमनमा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउने विषयमा भारतीय पक्षसँग सकारात्मक छलफल भएको गृहमन्त्री लेखकले बताए ।

सुदूरपश्चिम प्रदेशमा दक्षिण–उत्तर जोड्ने महाकाली करिडोर, दोधरा चादँनीमा सुख्खा बन्दरगाह निर्माणको योजनाअघि बढेको बताउँदै गृहमन्त्री लेखकले तिङ्करमा अध्यागमन कार्यालयको आवश्यकता औंल्याउनुभयो ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले अन्तरनिकाय समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?