+
+

डेडिकेटेड र ट्रंकलाइन विवादमा सरकार गलत बाटो हिँड्दैछ : माओवादी नेता बस्नेत

‘कुरा सुशासन गर्ने, समाधान ठाडो निर्देशनमा खोज्ने ?’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १४:१५

८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले अमुक उद्योगमा काटिएको विद्युतको लाइन जोड्ने विषयलाई सरकारले प्रतिष्ठाको विषय बनाएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले डेडिकेटेड र ट्र्रंकलाइन विवादको मुख्य विषय उद्योगी व्यवसायीले नतिरेको विद्युत महसुल उठाउने कि नउठाउने भन्ने रहेको बताए ।

‘अमुक उद्योगमा काटिएको विद्युतको लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठा र मख्य प्राथमिकताको विषय बनाइरहेको छ यो आश्चर्य लाग्दो छ’, बस्नेतले भने ।

निवर्तमान ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री समेत रहेका बस्नेतले अहिलेको विवाद नियमित बिजुली उपभोगको नभई विशेष अवस्थाको भएकाले त्यसलाई कानुन अनुसार नै हल गर्नुपर्ने बताए ।

‘जहाँसम्म विदुत प्राधिकरणले जारी गरेका बिलहरु बारेको प्रश्न छ । त्यसको निरुपण गर्ने कानुनी र संरचनात्मक व्यवस्था छ । पुनरावालोकनदेखि पुनरावेदनसम्मको कानुनी व्यवस्था छ । त्यो बाटो हिँड्नुपर्‍यो’ उनले भने ।

तर, सरकारले सही बाटो नसमातेको उनको दाबी छ । ‘कुरा सुशासन र विधिको गर्ने, नियमको गर्ने । समाधान ठाडो निर्देशनमा खोज्ने ?’ उनले भने, ‘सरकार गलत बाटो हिँड्दैछ । सभामुखमार्फत म सचेत गराउन चाहन्छु– नियामक निकायहरुको दैनिक कार्यकारी, व्यवास्थापकीय कामहरुमा रुची देखाएर आफूलाई विवादित नबनाउन म आग्रह गर्न चाहन्छु ।’

बस्नेत अगाडि आकस्मिक समयमा बोल्दै सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद पदम गिरीले डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोपित गरेको भन्दै माओवादीको आलोचना गरेका थिए ।

‘प्रमुख प्रतिपक्ष दलले आज भन्दा यही विषयमा निकै लामो समय लिएर सम्माननीय प्रधानमन्त्रीज्यूका विषयलाई जुन प्रकारले आम जनतामा भ्रम छर्ने गरी अभिव्यक्ति दिनुभयो । त्यसको जवाफ यही सदनबाट दिनुपर्ने हाम्रो दायीत्व हुन्छ, हाम्रो जिम्मेवारी हुन्छ’, सांसद गिरीले भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?