+

रोकिएको तीन वर्षपछि गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण हुँदै

२०८१ साउन  ८ गते १७:४६ २०८१ साउन ८ गते १७:४६

आगामी साता सुरु गरेर २०८३ पुसमा सम्पन्न गर्ने लक्ष्य

रोकिएको तीन वर्षपछि गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण हुँदै

८ साउन, चितवन । २०७८ साउन २२ गतेबाट निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तीन वर्षपछि पुनः सुरु हुने भएको छ ।

चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ रामपुरमा बन्न लागेको रंगशालाको बाँकी निर्माण आगामी साताबाट सुरु हुने भरतपुर महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए ।

रंशगाला निर्माणको बाँकी काम गर्न निर्माणको ठेक्का पाएको हिमालयन, कालिञ्चोक बीबीआर जेभीले काम सुरु गर्ने तयारी गरेको इन्जिनियर आचार्यले जानकारी दिए ।

‘निर्माण कम्पनीका प्रतिनिधि र इन्जिनियरहरू बुधबार भरतपुर आउनुहुन्छ, बुधबार र बिहीबार फिल्ड भिजिट गछौं, उहाँहरूले आफ्नो साइट अफिस तयार गर्नुहुन्छ,’ इन्जिनियर आचार्यले भने ।

साइट अफिसको मर्मत, कामदार भवन मर्मत, रंगशालाभित्रको सरसफाइ लगायतका काम गरेपछि पूर्वाधारको काम सुरु हुने उनले जानकारी दिए । महानगरपालिकाको एक कार्यालय पनि त्यहीँ रहने छ ।

सुरुमा रंगशालामा बनेका पिल्लरका छडमा लागेको खिया सफा गर्ने, बाँकी भाग भर्ने, टावर विल्डिङको काम सुरु गरिने आचार्यले बताए । निर्माण कम्पनीसँग कामको तालिका समेत लिएर काम गराइने उनको भनाइ छ ।

इन्जिनियर आचार्यका अनुसार थप १० हजार क्षमताको प्याराफिटसहित मैदान हिमालयन कालिञ्चोक बीबीआर जेभीले तयार गर्नेछ ।

सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाउन्डेसनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । प्याराफिटका लागि २८६ पिलर उभ्याइएको छ ।

रंगशाला निर्माणको पहिलो किस्ता (१० प्रतिशत)वापत निर्माण कम्पनीले ६ करोड ८० लाख रकम असार मसान्त अगाडि नै भुक्तानी लिइसकेको छ । बीबीआर निर्माण कम्पनीका अध्यक्ष विकास गौतमले महानगरमा आएर डिजाइन सहितको नक्सा र फिल्ड भिजिट गरेपछि काम सुरु हुने बताए ।

उनले एक हप्ता भित्रै ‘साइट मोबिलाइजेसन’ गर्ने गरी तयारी गरेको दाबी गरे । उनका अनुसार निर्माण कम्पनीको साइटमा कन्ट्याक्ट म्यानेजर १ जना, सहायक इन्जिनियर १, सर्भेयर २, सव–इन्जिनियर १ जना तथा अन्य व्यवस्थापकीय टिम रहने जानकारी दिए ।

३० महिनाभित्र सक्ने गरी निर्माण कम्पनीले भरतपुर महानगरपालिकासँग गत असार २३ गते सम्झौता गरेको थियो । २०८३ पुस २२ गतेसम्म निर्माणको म्याद दिइएको छ ।

धुर्मस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेर आर्थिक अभावको कारण देखाउँदै बीचमै छोडेको थियो । फाउन्डेसनले ३९ प्रतिशत भौतिक प्रगति गरेको छ ।

रंगशालाको थप पूर्वाधार निर्माणका लागि पहिलोपटक गरेको टेन्डर रद्द भएपछि दोस्रोपटक आह्वान गरिएको टेन्डरमा १२ कम्पनीले टेन्डर हालेका थिए ।

महानगरपालिकाले रंगशालाको थप भौतिक पूर्वाधारको काम गर्नका लागि आह्वान गरेको टेन्डरबाट हिमालयन, कालिञ्चोक, बीबीआर जेभी छानिएको हो ।

निर्माण लागत ७५ करोड ५० लाख ९१ हजार १ सय ८९ रुपैयाँ रहेको महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले जानकारी दिए । महानगरले रंगशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेको भन्दै उपनिर्देशक अर्यालले तोकेको अवधिभन्दा अगाडि नै रंगशालाको काम सक्ने गरी निर्माण कम्पनीलाई सहजीकरण गरिने बताए । उनका अनुसार बिहान, दिउँसो र साँझ गरेर तीन सिफ्टमा काम गर्न ठेकेदार कम्पनीलाई भनिएको छ ।

ठेक्का पाएको निर्माण कम्पनीले रंगशालामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐज सहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३/३ तलाको टावर बनाउने छ । एउटामा भीआईपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू तयार हुनेछन् ।

रंगशाला निर्माणका लागि आगामी आर्थिक वर्ष संघीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले ४ करोड ८० लाख बजेट विनियोजन गरेका छन् ।

यस्तै बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत रकम बेहोर्ने निर्णय गरेको छ । रंगशालाका लागि बागमती प्रदेश सरकारले ५२ करोड ५० लाख रकम दिने निर्णय गत माघ २३ गते गरेको थियो । महानगरपालिकाले रंगशाला निर्माणमा बजेटको कमी हुन नदिने महानगरका उपनिर्देशक अर्यालले बताए ।

मन्त्रिपरिषदको गत कार्तिक २३ गते बसेको बैठकले गौतमबुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजना भित्र समेटेर बाँकी काम तीनै तहका सरकार मिलेर पूरा गर्ने निर्णय गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयको नाममा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा १९ कट्ठा जग्गामा रंगशाला बनिरहेको छ ।

गौतमबुद्ध क्रिकेट रंगशाला
लेखक
सुवास पण्डित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय