+

काभा यू-२० महिला भलिबलमा नेपाल तेस्रो

२०८१ साउन  ८ गते १८:५९ २०८१ साउन ८ गते १८:५९
काभा यू-२० महिला भलिबलमा नेपाल तेस्रो

८ साउन, माले । माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल तेस्रो भएको छ ।

माले सिटीस्थित सोसल सेन्टर इन्डोर हलमा मंगलबार तेस्रो स्थानको लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई २५-१५, २५-१०, २५-१४ ले पराजित गरेको हो ।

उपाधि जित्ने लक्ष्यका साथ माले आएको नेपाली जुनियर टोलीले सोचे अनुसार प्रदर्शन गर्न नसक्दा तेस्रो स्थानमै चित्त बुझाउनुपर्‍यो ।

चार राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले कुल ५ खेल खेल्दा जम्मा दुई खेल मात्र जित्यो । नेपालले माल्दिभ्सलाई दुई पटक पराजित गर्‍यो । तर कीर्गिस्तानसँग दुई पटक र श्रीलंकासँग एक पटक पराजित भयो ।

लिग चरणमा नेपाल पहिलो खेलमै श्रीलंकासँग भिड्दा ३-१ को सेटमा पराजित भएको थियो । त्यसपछि कीर्गिस्तान विरुद्ध ३-० को सेटमा पराजित भएको नेपालले माल्दिभ्सलाई ३-० कै सेटमा पराजित गरेको थियो ।

लिग चरणमा तेस्रो भएपछि नेपालले दोस्रो स्थानको कीर्गिस्तानसँग सेमिफाइनल खेलेको थियो । नेपाल सामु लिग चरणमा ब्यहोरेको हारको बदला लिने अवसर थियो । तर सेमिफाइनलमा कीर्गिस्तानसँग सोझो सेटमा पराजित हुँदा नेपाल फाइनल पुग्न असफल भएको थियो ।

युवा टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा अनुभव र एक्सपोजरको अभाव देखियो ।

मुख्य गरी रिसिभ, ब्लक र डिफेन्समा नेपालले राम्रो प्रदर्शन गर्न सकेन ।

नेपाली टिमका प्रशिक्षक अर्जुन घिमिरेेले यस प्रतियोगितामा नेपालले सोचे अनुसार प्रदर्शन गर्न नसकेको तर पहिलो प्रतियोगिता भएकोले धेरै कुरा सिक्ने अवसर भएको बताए ।

‘पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा भएर खेलाडी हामी सबै उत्साहित थियाैँ । तर रिसिभ, डिफेन्स, ब्लकमा कमजोर हुँदा फाईनल पुग्न सकेनाैँ । पहिलो खेलमा हामीले श्रीलंकालाई हराउनुपर्ने थियो ।तर खेलाडीहरु सुरुमा नर्भस भए । कीर्गिस्तानको स्तर हामी भन्दा राम्रो देखियो ।’उनले भने ।

च्याम्पियनसिपको उपाधिका लागि मंगलबारै राती श्रीलंका र कीर्गिस्तानबीच फाइनल खेल हुँदैछ ।

श्रीलंका हालसम्म अपराजित छ भने कीर्गिस्तानले लिग चरणमा श्रीलंकासँग मात्र हार ब्यहोरेको थियो । श्रीलंका सोही लयलाई निरन्तरता दिँदै च्याम्पियन बन्ने लक्ष्यमा छ भने कीर्गिस्तान हारको बदला लिने योजनामा छ ।

काभा भलिबल माल्दिभ्स
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय