+
+

आयकर भारतमा भन्दा नेपालमा ६ गुणा बढी

११ लाख ३४ हजार नेरुबराबर आयमा भारतमा ५ प्रतिशत आयकर लाग्छ भने नेपालमा ३० प्रतिशतसम्म तिर्नुपर्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते २१:१७

८ साउन, काठमाडौं । भारतले व्यक्तिगत आयकरको स्ल्याबमा परिवर्तन गरेपछि सवा ११ लाख नेपाली रुपैयाँसम्मको आयमा भारतको तुलनामा नेपालमा करको दर ६ गुणा बढी पुगेको छ ।

भारतीय अर्थमन्त्री निर्मला सितारमणले मंगलवार सार्वजनिक गरेको बजेटमार्फत ७ लाख भारु अर्थात् ११ लाख ३४ हजार नेपाली रुपैयाँसम्म ५ प्रतिशत कर तिरे हुने व्यवस्था गरिएको छ ।

त्यस बराबरको आयमा नेपालमा चार स्लाबमा आयकर तिर्नुपर्छ । शुरुमा ५ लाखसम्मको आयमा १ प्रतिशत कर लाग्छ भने त्यसपछिको २ लाखमा १० प्रतिशत कर लाग्ने गरेको छ । त्यस्तै, त्यसपछिको ३ लाख रुपैयाँमा २० प्रतिशत कर लाग्छ भने त्यसपछिको १० लाख रुपैयाँमा नेपालमा ३० प्रतिशत कर लाग्ने गरेको छ ।

यस हिसाबले भारु ७ लाख बराबरको आयमा नेपालमा ३० प्रतिशतसम्मको स्लाबमा बसेर आयकर तिर्नुपर्ने अवस्था छ ।

जबकि, भारतमा ३ लाख भारु अर्थात् ४ लाख ८६ हजार सम्म कुनै कर नै तिर्नुपर्दैन । तीन लाख देखि ७ लाख भारुसम्म ५ प्रतिशत र ७ लाखदेखि १० लाख भारुसम्म १० प्रतिशत कर तिर्नुपर्ने प्रस्ताव भारतको बजेटले गरेको छ ।

त्यसभन्दा माथि १० लाख भारुसम्म भारतमा १० प्रतिशत र १० देखि १२ लाख भारुसम्म १५ प्रतिशत आयकर लाग्ने व्यवस्था छ । १२ देखि १५ लाख भारुसम्म २० प्रतिशत आयकर भारतमा लाग्दै आएको छ । १५ लाखदेखि माथिको आयमा भने भारतमा ३० प्रतिशत आयकर लाग्छ ।

५० लाख भारुसम्म ३० प्रतिशत आयर लाग्छ भने त्यसभन्दा माथि १ करोड भारुसम्म १० प्रतिशत सरचार्ज जोडेर कर लाग्छ अर्थात् ३३ प्रतिशत कर लाग्छ । त्यस्तै, १ देखि २ करोड भारुसम्म १५ प्रतिशत सरचार्ज लाग्छ अर्थात् साढे ३४ प्रतिशत कर लाग्छ । त्यसभन्दा माथिको आयमा २५ प्रतिशत सरचार्ज लाग्छ । अर्थात् भारतमा अधिकतम् आयकरको दर साढे ३७ प्रतिशतसम्म छ ।

नेपालमा भने अत्यन्तै कमजोर आयवर्गकै जनतासँग राज्यले आयकर उठाउँदै आएको छ । आयकरको विश्वव्यापी मान्यता विपरीत नेपालले सबैभन्दा कमजोर आयवर्गका नागरिकहरुसँग १ प्रतिशत कर लिँदै आएको छ । ५ लाख रुपैयाँसम्म आय गर्नेले सो दरमा कर तिर्नुपर्छ ।

त्यसपछिको २ लाखमा एकैपटक १० प्रतिशत कर तिर्नुपर्छ भने त्यसपछिको ३ लाखमा २० प्रतिशत कर तिर्नुपर्छ । १० लाखभन्दा माथि २० लाख रुपैयाँसम्म ३० प्रतिशत कर तिर्नुपर्छ भने त्यसमाथि ५० लाख रुपैयाँसम्म ३६ प्रतिशत आयकर तिर्नुपर्छ भने ५० लाखभन्दा माथिको आयमा ३९ प्रतिशत कर तिर्नुपर्छ ।

नेपालको तुलनामा भारतमा जिविका चलाउने खर्च १६.४ प्रतिशतले कम भएको यससम्बन्धी तथ्यांक राख्ने प्लेटफर्म ‘नम्बियो’ले उल्लेख गरेको छ । तर, नेपालमा एकातिर जिविका चलाउने खर्च धेरै छ, अर्कातिर करको दर पनि भारतको तुलनामा अत्यधिक धेरै छ ।

नेपाल र भारतको आयकरको स्लाब तुलना

नेपाल भारत
आय करको दर आय करको दर
५ लाख रुपैयाँसम्म १ प्रतिशत ३ लाख भारुसम्म शून्य
त्यसपछिको २ लाख १० प्रतिशत ३ देखि ७ लाख भारु ५ प्रतिशत
त्यसपछिको ३ लाख २० प्रतिशत ७ देखि १० लाख भारु १० प्रतिशत
त्यसपछिको १० लाख ३० प्रतिशत १० देखि १२ लाख भारु १५ प्रतिशत
त्यसपछिको ३० लाख ३६ प्रतिशत १२ देखि १५ लाख भारु २० प्रतिशत
५० लाखमाथि ३९ प्रतिशत १५ लाख भारुभन्दा माथि (यसमाथि थप आयका आधारमा सरचार्ज लाग्छ, अधिकतम् साढे ७ प्रतिशतसम्मले थप कर तिर्नुपर्छ) ३० प्रतिशत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?