+
+

कांग्रेसले टुंगो लगायो लुम्बिनीका मन्त्री, रोज राणा दोहोरिए

संस्थापन इतर असन्तुष्ट, प्रदेश सभापति भन्छन्– प्रदेश संरचना खारेज गर्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते ८:३५
प्यूठानका प्यूठानका सरोज थापा (रोज राणा) दोहोरिन लागेका छन् भने अरु नयाँ अनुहारका छन् ।

९ साउन, बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । कांग्रेसले आफ्नो भागमा परेका ५ मन्त्रालयमध्ये ४ जनाको नाम टुंगो लगाएको हो । यसप्रति संस्थापन इतर पक्षले तीव्र असन्तुष्टि जनाएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यसहित कांग्रेस र एमालेका मन्त्रीहरुको बुधबार बिहान बुटवलस्थित प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा शपथग्रहण कार्यक्रम राखिएको छ । शपथ ग्रहणमा सहभागी हुन नेता कार्यकर्ताहरु बुटवलमा भेला भएका छन् ।

कांग्रेसबाट कोको बन्दैछन् मन्त्री ?

लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी लगायतका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवासँग काठमाडौंमा भेटेर मन्त्रीहरुको नामावली टुंगो लगाएका थिए ।

स्रोतका अनुसार गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्री हुनेछन् । न्यौपाने बाहेक अरु संस्थापन समूहका हुन् । कांग्रेस प्रमुख सचेतक बर्दियाका जन्मजय तिमिल्सिना पनि मन्त्री बन्ने भनिए पनि उनको टुंगो लागिसकेको छैन । तिमिल्सिना बालकृष्‍ण खाँड निकट मानिन्छन् ।

मन्त्री बन्न लागेकाहरुमा प्यूठानका थापा दोहोरिन लागेका हुन् भने अरु सबै नयाँ अनुहार हुन् । थापा पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । थापा डिल्लीबहादुर चौधरीको पालामा उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका थिए ।

प्रदेश समितिसँग सल्लाह नै नगरी मन्त्री बन्नेहरुको नामावली टुंगो लगाइएको भन्दै संस्थापन इतर पक्षका नेताहरुले आजको शपथ ग्रहण कार्यक्रममा सहभागी नहुने बताएका छन् । यद्यपि संस्थापन इतरका प्रचण्डविक्रम न्यौपाने पनि प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पनि मन्त्री बन्नेहरुको नाम छनोट गर्दा प्रदेश समितिसँग सल्लाह र समन्वय नभएको बताए । ‘क–कसलाई मन्त्री बनाउँदैछन्, मलाई कुनै जानकारी छैन,’ पुनले भने ।

संविधानले तीन तहका सरकारको मान्यता दिएपछि सोही अनुसार पार्टी समितिहरु पनि तीन तहमै निर्णय गर्न स्वायत्त हुनुपर्ने भन्दै उनले केन्द्रबाट मनोमानी भएको बताए ।

केन्द्रको मनोमानी हुने भए प्रदेश संरचना खारेजीको बाटोमा जानुपर्ने उनले बताए । ‘प्रदेश समितिलाई बाइपास गर्ने हो भने संघीयता किन ल्याएको हो ? सिंगो प्रदेश संरचना खारेज गरे हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?