
काठमाडौं । नम्रता सापकोटा, गौरव पहारी र विनोद न्यौपानेको शीर्ष भूमिका रहेको फिल्म ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो ।
साउन २५ गतेदेखि प्रदर्शन तयारीमा रहेको राजु गिरी निर्देशित फिल्मको ट्रेलरमा प्रेम र द्वन्द्वलाई समेटिएको छ । साथै, यसले अवैध सुन समातिने घटनाको कथावस्तुलाई पनि चित्रण गर्छ ।
ट्रेलरले चरित्र चित्रणबारे पनि प्रकाश पारेको छ । सरोज खनाल गाउँले मुखियाको रोलमा देखिएका छन् । कथित माथिल्लो र तल्लो वर्गका युवायुवतीको प्रेमकथा र त्यसले निम्त्याउने घटनालाई फिल्ममा देखाइएको छ ।
नम्रताले सम्भ्रान्त परिवारकी युवतीको भूमिका निर्वाह गरेकी छन् भने गौरवले गरिब परिवारका युवकको रोलमा अभिनय गरेका छन् । आफ्ना फिल्ममा समसामयिक प्रेमकथा उठाउँदै आएका निर्देशक गिरीले यसमा प्रेममा वर्गीय लडाइँको कथा प्रस्तुत गरेका छन् ।
फिल्ममा बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ ।
सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व र गौतमराज खड्काको सम्पादन छ । फिल्मका प्रस्तुतकर्ता नारायण खाती हुन् ।
प्रतिक्रिया 4