+
+

नजिकिए शेखर–सुजाता

कोइराला परिवारको नयाँ पुस्तालाई मिलेर अघि बढ्न पार्टीभित्रैबाट आग्रह हुने गरे पनि त्यो सम्भव भइरहेको थिएन । निरन्तर रक्षात्मक बन्नुपरेपछि यति बेला नजिकिएका छन् शेखर–सुजाता ।

लिलु डुम्रे लिलु डुम्रे
२०८१ साउन ९ गते २१:०८

९ साउन, काठमाडौं । शेखर, शशांक र सुजाता– कोइराला परिवारको पछिल्लो पुस्तालाई प्रतिनिधित्व गर्ने यी तीन नेता तीनतिर फर्किदा कांग्रेसलाई कति फरक पर्‍यो, परेन भन्नेबारे पार्टीमै आन्तरिक समीक्षा भएको होला । तर तीन नेतालाई भने पक्कै फरक पर्‍यो ।

त्यसैले ०७८ मा भएको १४ औं महाधिवेशनअघि परिवार मिलाउने प्रयास नभएको होइन । कोइराला परिवारका तीन नेता एक ठाउँ हुने भन्दै सार्वजनिक रुपमा बोलेका नेताहरु आफैं एउटै टीममा रहन भने सकेनन् । वीरगन्ज, विराटनगरलगायत विभिन्न ठाउँमा आयोजित भेला, कार्यक्रमहरुमा शेखर, शशांक र सुजाता एउटै मालाको हारमा समेटिने गर्थे । कार्यकर्ताले तीन नेताका लागि एउटै ठुलो हार बुन्नुको सन्देशभित्र पक्कै एकताको चाहना लुकेको थियो ।

जस्तो कि गिरिजाप्रसाद कोइराला फाउण्डेसनले २०७५ फागुनमा गरेको उक्त कार्यक्रममा पछिल्लो पुस्ताका कोइराला परिवार सदस्यहरुले महाधिवेशनमा आफूहरु एकढिक्का हुने सन्देश दिएका थिए । त्यसअघि विराटनगरमा गरेको कार्यक्रममा पनि कोइराला परिवारमा तीन नेता बीचमा विग्रह नआउने वचनवद्दता गरे । पारिवारिक जमघट, रितिथिति/ परम्परा अनुसार भेला हुँदा तीन नेताको एकतामा समस्या नहुने बताइरहे ।

तर, कोइरालाले चिताएपछि पुर्‍याउँछन् भन्ने पार्टीपंक्तिभित्रको बुझाइविपरीत २०७८ मंसिर–पुसमा भएको १४ औं महाधिवेशनमा यी तीन नेता तीनतिरै उभिए । उनीहरुले आफ्नो पूर्व बोलीलाई व्यवहारमा लागू गरेनन् ।

नेता शेखर सभापतिको उम्मेदवार बने । पूर्व महामन्त्री शशांक केन्द्रीय सदस्यमा उम्मेदवार बनेर कुनै समूहमा खुलेनन् । निर्वाचित केन्द्रीय समितिमा दोस्रो स्थानको मत ल्याएर उनी केन्द्रीय सदस्य बने ।

शशांक तटस्थ बस्दा सभापतिमा शेरबहादुर देउवालाई सहयोग पुगेको शेखर पक्षका नेताहरुको निचोड थियो । सुजाता नेता प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा प्रतिस्पर्धा गरिन् । सुजाताले उपसभापतिमा ६४४ मत ल्याएर पराजय भोगिन् । सभापतिमा १,८५५ मत सहित शेखर पराजित हुन पुगे । कोइराला परिवारका तीन नेता तीनतिर हुँदा शेखर सभापति हुनबाट रोकिएको उनी पक्षीय नेताहरुको बुझाइ छ ।

पराजित भएसँगै दिएको प्रतिक्रियामा परिवारका सदस्यहरु मिलाउन नसक्दा महाधिवेशनमा पराजित हुन भएको शेखरले स्विकारेका थिए । बीपीले आफ्ना बुबा केशवलाई लेखेको पत्र भाइ बहिनीलाई शेखरले पीडाभावमा सम्झाएका थिए । कांग्रेस संस्थापक नेता बीपी कोइरालाले उनका बुबा केशव कोइरालालाई भारतबाट लेखेको पत्र भाइ–बहिनी (शशांक र सुजाता) ले मर्म नबुझेको उनको गुनासो थियो ।

कोइराला परिवारका तीन नेताबीच कटुता नभएको दाबी गर्दै आए पनि समधुर सम्बन्ध भने थिएन ।

टाटा मेमोरियल अस्पतालबाट बीपीले केशवलाई लेखेको पत्रमा भनिएको थियो, ‘मेरो भाइहरुको ठूलो मद्दतले मैले केही गर्न सकें । कोइरालाहरुको केन्द्र भूमि –पिताजीको कार्य क्षेत्र विराटनगरमा हाम्रो अस्तित्व रक्षा तिमीहरुबाट भएको छ । हाम्रो सेख पछि छोराहरुले एकदम एकता राखेर पिताजीको किर्तिलाई कायम राख्नेछन् ।’

शशांक–सुजाताले असहयोग गरेको बीपी साहित्य महोत्सव (३ असोज, २०८०) मा शेखरले पुनः स्मरण गरे । ‘परिवारले बुझेका बीपी’ सत्रमा शशांक र सुजाता लक्षित गर्दै असहयोग गरेको टिप्पणी गरेका थिए । शेखरले थपे, ‘१४ औं महाधिवेशनमा त प्रयास गर्नुभएन उहाँहरुले । कसैले कसलाई सपोर्ट गर्नुभयो । कसैले कसलाई सपोर्ट गर्नुभयो, मलाई त सपोर्ट गर्नुभएन ।’

शेखर–सुजातालाई आत्मबोध

कोइराला परिवारका तीन नेताबीच कटुता नभएको दाबी गर्दै आए पनि समधुर सम्बन्ध भने थिएन । नियमित महाधिवेशन आउन करिब डेढ वर्ष बाँकी रहँदा शेखर र सुजाता भने नजिकिएका छन् । दुई नेताको संवाद बाक्लिएको सुजाता स्वीकार गर्छिन् ।

मण्डिखाटारको निवास बेचेर एकान्त खोज्दै काठमाडौंको उत्तरी भेग मुहानपोखरीमा पुगेकी सुजातालाई भेट्न शेखर पक्षका नेताहरु अलि बढी धाउन थालेका छन् । आठ महिनादेखि मुहानपोखरी बस्न थालेकी सुजातालाई भेट्न शेखर भने यस वीचमा एकपटक उनको निवासमा पुगेका छन् । तीन साता अघि शेखर निकटका नेताहरुको एक समूह सुजाता निवासमा पुग्यो । भूपेन्द्र बहादुर थापा, त्रैलोक्यप्रताप सेन, हस्तबहादुर मल्ल, चन्द्रा जोशी, खगराज पाण्डे, रिता शाही, मोहन बराल, हर्षजित लामा, बालचन्द्र शर्मा, रामचन्द्र खड्का,बलबहादुर कुँवर, शंकर गिरी, ताराबहादुर कोइराला, सन्तोष भट्टराई, सत्यराज भण्डारी लगायत सुजाता निवासमा पुगेका थिए ।

समूह बनाएर सुजातालाई भेट्न जानुको अन्तर्य कोइराला परिवारका नेताहरुको एकता गराउने प्रयासका लागि थियो । कांग्रेस कमजोर भएकाले कोइराला परिवारका नेताहरु एकठाउँमा गराउने उद्देश्यले सुजाता कहाँ भेटघाटका लागि गएको सिन्धुपाल्चोकका पूर्व सभापति भुपेन्द्र थापाले बताए । ‘कोइराला परिवार कमजोर हुँदा कांग्रेस र मुलुक कमजोर हुने कुरा हामीले उहाँलाई भन्यौं,’ थापाले भने,‘दिदीले पनि हाम्रो कुरा महसुस गर्नुभयो । मुलुक र कांग्रेसलाई एक बनाउन हामी एकै ठाउँमा उभिने भन्नुभयो ।’

त्यही छलफलपछि शेखरलाई सघाएर अघि बढ्न सुजाता तयार भइन् । शेखर–सुजाता एक ठाउँमा रहेको सन्देश दिने गरी कार्यक्रम तय गरियो । ४ साउनमा सुजाता विशालनगरस्थित शेखरको सम्पर्क कार्यालयमा पुगिन् । शेखर पक्षका नेताहरुको पहलकदमीमा सुजाता विशालनगर पुगेर आगामी दिनमा उनलाई सघाउने प्रतिवद्दता जनाइन् । भनिन्,‘शेखर दाइले एकदम धेरै मिहिनेत गरिरहनु भएको छ । मेरो सम्पूर्ण सपोर्ट हुन्छ ।’

सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका शेखरलाई पूर्ण समर्थन गर्ने बुधबार अनलाइनखबरसँग पनि बताइन् । मुलुक र पार्टीका लागि कोइराला परिवारका सदस्यहरु एक ठाउँमा हुनुको विकल्प नरहेको उनले सुनाइन् । सभापतिका लागि मिहिनेती व्यक्ति आवश्यक रहेकाले उक्त क्षमता शेखरमा भेटेको उनले बताइन् ।

‘अलि मिहिनेती, सक्षम व्यक्ति सभापतिका लागि खोज्नुपर्दछ । पुरानो इतिहास जानेको र अहिलेको युवाहरुको भावना बुझेको लिडरसीप हामीलाई चाहिएको छ,’सुजाताले भनिन्, ‘शेखर दाइको मिहिनेत देखेर उहाँको आवश्यकता मैले देखें ।’

शेखर–सुजाताको मिलनपछि शशांकलाई पनि मनाउने प्रयासमा समूहका व्यक्तिहरू लागेका छन् ।

कोइराला परिवारका तीन नेताहरु वैमनस्य नरहेको दाबी गर्ने तर एकता नहुने अवस्था थियो । शेखरलाई पूर्ण साथ रहने जानकारी गराएकी सुजाताले आफूहरु वीचमा कुनै विवाद नरहेको दाबी दाहोर्याइन् । विवादै थिएन भने विगतमा एकता कायम किन हुन नसकेको भन्ने जिज्ञासामा उनले व्यक्तिगत प्रवृत्ति कारण भएको जानकारी गराइन् ।

‘हाम्रो एकतामा खास केही समस्या होइन । शेखर दाइले अलि बढी पहल गर्नुपर्थ्यो । राम्रोसँग शेखर दाइले कम्युनिकेट गर्नसक्नुभएन’ सुजाताले भनिन्, ‘अब म डगमग हुँदिन । उहाँलाई जिताउन लाग्ने हो ।’

शेखर–सुजाताको मिलनपछि शशांकलाई पनि मनाउने प्रयासमा समूहका व्यक्तिहरू लागेका छन् । सुजाताले कोइराला परिवारका सदस्यहरु प्रकाश कोइराला, मनीषा कोइराला लगायतसँग मिलनका लागि संवाद गरिसकेको जानकारी गराइन् । परिवारका सबै सदस्य मिलेको अवस्थामा शशांक एक्लै अर्को बाटोमा लाग्न नसक्ने उनले तर्क राखिन् । ‘यही ठाउँमा शशांकलाई पनि ल्याउनुपर्दछ । हामी ल्याउँछौं, सुजाता भन्छिन् ।

कांग्रेसमा नेताहरु मिल्दै गर्दा पदीय भूमिकाको ‘पावर शेयरिङ’ गर्ने गरी एक भएको विश्लेषण गरिँदै आएको छ । १५ औं महाधिवेशनमा शेखर टीमबाट पदाधिकारी प्रतिस्पर्धा गर्ने गरी एक भएको हो कि भन्ने आशंकामा सत्यता नभएको सुजाताले स्पष्ट पारिन् । ‘म लड्ने नलड्ने केही कुरा भएको छैन । शेखर दाइ लडेपछि भइहाल्यो नि,’ सुजाताले भनिन् ।

शेखरलाई लाभ पुर्‍याउने उद्देश्यले सुजातालाई प्रमुख अतिथि बनाएर उक्त समूहको ‘वृहत् भेला’ आगामी शनिबार गरिने तय भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा हुने कार्यक्रममा ७७ जिल्लाका ५ बढी नेता कार्यकर्ता उपस्थित हुने शेखर निकट सिन्धुपाल्चोकका पूर्व सभापति भुपेन्द्र थापाले दाबी गरे । ‘अस्ति शेखर दाइको कार्यालयमा भएको कार्यक्रममा सुजाता दिदीले प्रतिवद्दता जनाउनुभयो,’ उनले भने,‘अब देशभरीबाट आएका नेता कार्यकर्ताको विचमा बोल्नुहुन्छ ।’

शेखरलाई भावी दिनमा मद्दत पुग्ने विश्वासले शनिबार कार्यक्रम गर्न लागिएको सुजाताले बताइन् । उनले भनिन्, ‘उहाँहरुले मलाई चिफ गेष्ट बनाउनुभएको छ । संगठन र पार्टीका बारेमा कुरा हुन्छ । भोलिका दिनमा कस्तो नेतृत्व चाहिन्छ, यही बारेमा छलफल हुन्छ ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?