+

मिर्गौला संक्रमण किन हुन्छ ?

२०८१ साउन  ९ गते १७:२९ २०८१ साउन ९ गते १७:२९
मिर्गौला संक्रमण किन हुन्छ ?

मिर्गौलाको काम रगतलाई शुद्ध गर्ने, काम नलाग्ने पदार्थ छानेर पिसाब मार्फत बाहिर निकाल्नु हो । मिर्गौला शरीरको मेरुदण्ड नजिक दुई भाग ओगटेर बसेको हुन्छ, जुन मूत्रथैली नजिकको भाग हो । जसमा मूत्राशय र मूत्रनली हुन्छ ।

यस्तोमा कुनै कारणवश ब्याक्टेरिया वा भाइरसले मूत्रनलीमा संक्रमण गराई मिर्गौलामा समेत प्रवेश गर्छ भने मिर्गौलामा संक्रमण भएको भनेर बुझ्छौं । मिर्गौलाको संक्रमणले एउटा वा दुवै मिर्गौलालाई प्रभावित गर्न सक्छ । यस्तो अवस्थालाई मेडिकल भाषामा ‘पायलोनेफ्राइटिस’ भनिन्छ ।

कारण

मिर्गौला संक्रमण कुनै पनि उमेरमा हुनसक्छ । तर पुरुषको तुलनामा यो समस्या महिलामा बढी देखिन्छ । यसको मुख्य कारण भनेको महिलाको मूत्रनली तुलनात्मक रुपमा छोटो हुन्छ । दिसा र पिसाब गर्ने भाग नजिकै हुँदा संक्रमणको जोखिम उच्च हुन्छ । पिसाब संक्रमण पटक-पटक भए मूत्रनली हुँदै मिर्गौलासम्म संक्रमण फैलिन सहज हुन्छ ।

गर्भावस्थाको क्रममा पाठेघरको आकारमा वृद्धि हुँदा मूत्रथैलीमा दबाब पर्ने हुँदा पिसाबथैलीमा कीटाणुले संक्रमण गरी मिर्गौलासम्म पुग्न सक्छ । पुरुषमा भने प्रोस्टेट ग्रन्थी बढेर वा चोटपटक लागेर मूत्रनली साँघुरो भएमा हुनसक्छ ।

महिला र पुरुष दुवैमा साझा रुपमा पत्थरी, मधुमेह रोग अनियन्त्रित, बच्चादेखि नै पिसाबनली साँघुरो हुनु, पिसाब गलत दिसामा गएर पुनः मूत्रथैलीमै फर्किनु, सेतो रक्तकोषको मात्रा कम हुनु, एचआईभी, केही औषधिको प्रयोग र मिर्गौलामा दुई मूत्रनलीमा भएमा र मिर्गौला प्रत्यारोपण गरेका बिरामीमा यो समस्या हुनसक्छ ।

त्यस्तै, पिसाब लामो समयसम्म रोक्ने बानीले पनि मिर्गौलामा संक्रमण हुनसक्छ ।

ईकोली, प्रोटियुस मिराबिलिज, इन्टेरोब्याक्टर, स्टाफाइलोकोकस जस्ता ब्याक्टेरियाले पिसाबदेखि मिर्गौला संक्रमण गराउने ईकोली, प्रोटियुस मिराबिलिज, इन्टेरोब्याक्टर, स्टाफाइलोकोकस नामक ब्याक्टेरिया हुन् ।

लक्षण

मिर्गौला संक्रमण भएमा यसको लक्षण केही घण्टा वा केही दिनमा तीव्र रुपमा सुरु हुन थाल्छ । बान्ता हुनु, पटक-पटक पिसाब आउनु, पिसाब लागेको जस्तो अनुभव भइरहनु, पिसाबमा रगत देखा पर्नु, पिसाब गन्हाउनु, ज्वरो आउनु, कम्मर दुख्नु, कमजोर अनुभव गर्नु, भोक कम लाग्नु, दुवै कोखा दुख्नु र काम ज्वरो आउनु यसका सामान्य लक्षण हुन् ।

पहिचान

लक्षणको आधारमा पिसाबको परीक्षण गरिन्छ । पिसाब परीक्षणमा युरिन कल्चर गरिन्छ । जसबाट भाइरस र कीटाणुको विकासबारे पत्ता लाग्छ । कतिपय अवस्थामा सिटी स्क्यान र अल्ट्रासाउन्ड गरी मूत्राशय र मिर्गौलाको अवस्था पनि हेरिन्छ ।

उपचार

मिर्गौला संक्रमणको जोखिम अनुसारको एन्टिबायोटिक औषधि चलाउनुपर्ने हुन्छ । जुन ३ देखि १४ दिनसम्म नियमित लिनुपर्छ । पटक-पटक पिसाब संक्रमण भइरहेको छ भने कारण पत्ता लगाएर लक्षणअनुसारको उपचार गराउने, प्रोस्टेट ग्रन्थी बढेमा वा पत्थरी भएमा शल्यक्रिया गराउन आवश्यक हुन्छ ।

जटिलता

यदि उपचार भएन भने दीर्घकालीन मिर्गौला रोग, संक्रमण मिर्गौला हुँदै रगतमा फैलिन सक्छ । जसले ‘ब्लड प्रेसर लो’ हुने मात्र नभई मृत्यु हुनसक्छ ।

कसरी संक्रमण रोक्ने ?

– पिसाब कम लाग्ने वा पटक-पटक आइरहने समस्या छ भने तुरुन्तै उपचार गराउनुपर्छ ।

– पिसाबलाई लामो समयसम्म रोकेर राख्नु हुँदैन ।

– दिसा-पिसाब गरेपछि राम्रोसँग योनांग सफा गर्नुपर्छ ।

– पर्याप्त मात्रामा पानी खानुपर्छ ।

डा. सुमित आचार्य मिर्गौला
डा. सुमित आचार्य
लेखक
डा. सुमित आचार्य
मिर्गौलारोग विशेषज्ञ

एमबीबीएस, एफसीएपएस (पक), फेलोसिप इन एड्भान्स रेन्टल ट्रान्सप्लानेट (बेलायत) हाल काठमाडौं थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल र भक्तपुर शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?