+
+

अन्तर्राष्ट्रिय विमानस्थलकै डिलमा शृङ्खलाबद्ध दुर्घटना, असफल उद्धार

त्रिभुवन विमानस्थलसँग अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका अत्याधुनिक उपकरण र पर्याप्त जनशक्तिसमेत छन् । नेपालमा भएकामध्ये सबैभन्दा उत्कृष्ट यही विमानस्थलमा नै सबैभन्दा धेरै दुर्घटना भएका छन् ।

अच्युत पुरी अच्युत पुरी
२०८१ साउन ९ गते २०:५४

९ साउन, काठमाडौं । नेपालको सबैभन्दा आधुनिक र सुविधासम्पन्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिलमै सौर्य एयरलाइन्सको सीआरजे २००–९ एनएएमई जहाज बुधबार दुर्घटनामा पर्‍यो ।

जहाजमा दुई क्याप्टेनसहित १९ जना सवार रहेकोमा १८ जनाको निधन भयो । तीमध्ये एक बच्चा थिए । घाइते क्याप्टेनको उद्धार गरिएको छ ।

त्रिभुवन विमानस्थलसँग अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका अत्याधुनिक उपकरण र पर्याप्त जनशक्तिसमेत छन् । नेपालमा भएकामध्ये सबैभन्दा उत्कृष्ट यही विमानस्थलमा नै सबैभन्दा धेरै दुर्घटना भएका छन् ।

त्रिभुवन विमानस्थलको डिलमै भएको यो जहाज दुर्घटनाको खबर नेपाल प्रहरीले ४ मिनेटपछि मात्र पाएको देखिएको छ । जहाज खसेरलगत्तै फायर फाइटिङ तथा रेस्क्यु टिमले रेस्पोन्स नसकेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूबाट पुष्टि हुन्छ ।

प्रत्यक्षदर्शी विज्ञान परियारले अनलाइनखबरलाई बताएअनुसार जहाज खसेपछि कतिपय यात्रु छट्पटाएको स्पष्ट देखिन्थ्यो । तर, विमानस्थलको फेन्सिङभित्र भएको दुर्घटनामा सर्वसाधारण छिरेर उद्धार गर्न तारबारका कारण सम्भव थिएन ।

‘हामीले बचाउन जाने धेरै कोसिस गर्‍यौं, तर तारबारले गर्दा सम्भव नै भएन,’ उनले भने । जहाजबाट जिवितै उद्धार गरिएका पाइलट मनिष शाक्यको दुर्घटनापछिको २३ मिनेटमा मात्र उद्धार भएको नेपाल प्रहरीले जनाएको छ ।

जहाज दुर्घटनामा सबैभन्दा जोखिम आगोको हुन्छ । आगोसँग जुध्न व्यक्ति एक्लैले सक्दैन ।

दुर्घटना आफ्नै आगन अगाडि भएको अवस्थामा पनि किन समयमै उद्धार सुरु हुन सक्दैन, किन मानिस बचाउन सकिँदैन ? यो प्रश्नले पुनः एक पटक नेपालको नियामक निकाय र यसका रेस्क्यु संयन्त्रमाथि सवाल खडा गरेको छ ।

करिब डेढ महिनाअघि २८ जेठ २०८१ का दिन त्रिभुवन विमानस्थलमा फुल रेस्क्यु इमर्जेन्सी अभ्यास गरियो । हरेक वर्ष १० देखि २० लाख रुपैयाँसम्म खर्च गरिने यस्तो अभ्यास वास्तविक दुर्घटनाका बेला जनशक्ति खरो उत्रिन र दुर्घटनामा मानवीय क्षति कम गर्न सक्षम होउन भन्ने उद्देश्यले आयोजना गरिन्छ । तर, दोहोरिरहेका दुर्घटनाका श्रृङ्खलाले यी अभ्यासको औचित्यमाथि नै प्रश्न उठाएको छ ।

त्रिभुवन विमानस्थल फायर फाइटिङ क्याटागोरीमा ९ औं स्थानमा आउँछ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको वर्गीकरणमा सबैभन्दा सुविधा सम्पन्न विमानस्थललाई १० औं क्याटागोरीमा राखिन्छ । त्यो भन्दा एक स्थान तल त्रिभुवन विमानस्थल आउँछ । यस हिसाबले त्रिभुवन विमानस्थल सुरक्षित विमानस्थलभित्र पर्छ । तर, दुर्घटना र यसपछिको रेस्क्युमा देखिन नसकेको तत्परताले विमानस्थलभित्र रहेको फायर फाइटिङको क्षमतामाथि प्रश्न उठिरहेको छ ।

त्रिभुवन विमानस्थलस्थित खोज तथा उद्धार समन्वय केन्द्रमा बसेर काम गरिसकेका एक पूर्वप्राविधिकका अनुसार विमानस्थलमा अहिले पनि आगलागीका समयमा हावाको दिशा पत्ता लगाएर रेस्क्यु थाल्ने दक्ष जनशक्तिको अभाव छ । भएका कर्मचारी पनि पनि इमर्जेन्सीका लागि चनाखो भएर बस्नु पर्नेमा त्यसरी बस्ने गरेको पाइन्न ।

‘घटना भइसकेपछि विमानस्थल फेन्सिङभित्र ३ मिनेट भित्र रेस्क्यु थाल्नु पर्छ भन्ने म्यानुअल छ,’ उनी भन्छन्, ‘तर यो व्यवहारमा देखिएन, प्रश्न किन कर्मचारीलाई चनाखो राखिँदैन भन्ने हो ।’

उनका अनुसार यस्ता दुर्घटनामा आगो निभाउन पानी नै फालिहाल्नु पर्छ भन्ने हुँदैन । कुनै बेला पानीले झन धेरै आगो उठाउन पनि सक्छ । त्यस्तो बेला फम विच्छ्याएर पनि आगो नियन्त्रणमा लिने प्रयास गरिन्छ । सोहीकारण दुर्घटनाको प्रकृति हेरेर छिटो निर्णय लिने क्षमताको अभाव देखिन्छ ।

त्रिभुवन विमानस्थलमा फायर फाइटिङ र रेस्क्यु टिममाथि प्रश्न उठेको पहिलो पटक होइन । बुधबारको दुर्घटनालाई २८ फागुन २०७४ मा बंगलादेशबाट काठमाडौं आएको यूएस बंगला जहाज दुर्घटनाको फोटोकपी जस्तै मान्न सकिन्छ । त्रिभुवन विमानस्थलको डिलमै भएको सो दुर्घटनामा ५१ जना स्वदेशी तथा विदेशी नागरिकको ज्यान गएको थियो । सो दुर्घटनामा समेत नियामक निकायमाथि रेस्क्यु ढिला थालेको भन्दै आलोचना भएको थियो ।

१ माघ २०७९ का दिन पोखरामा भएको यती एयरलाइन्सको दुर्घटना समेत सुविधा सम्पन्न विमानस्थलको नजिकै भएको थियो । पोखरा विमानस्थल फायर फाइटिङ सुविधाको क्याटागोरी ५ मा पर्छ । सो दुर्घटनामा समेत रेस्क्यु समय र व्यवस्थापनमाथि धेरै प्रश्न उठेको थियो ।

एक हवाईविज्ञले आजको दुर्घटनाले फेन्सिङका लागि लगाइएको तारजाली नभएको भए केही मानिसलाई बचाउन सकिन्थ्यो कि भन्नेमा आफूले पनि अनुभव गरेको बताउँछन् ।

‘त्यसले सेक्युरिटी त दियो, तर सेफ्टी दिएन,’ उनी भन्छन्, ‘बर” सुरक्षा गार्ड धेरै खटाएर विमानस्थल वरपर इमर्जेन्सी इन्ट्री/एक्जिट गेट बढाउनु पर्ने देखियो ।’

त्यसो हुन पाएको भए आम मानिसले तत्काल उद्धार थाल्ने र सकेसम्म धेरै मानिस बचाउन सम्भव हुने उनको भनाइ छ । संसारभर धेरै दुर्घटना टेकअफ र ल्यान्डिङकै क्रममा हुने भन्दै उनले विमानस्थलभित्रको रेस्क्यु संयन्त्र सक्षम र चनाखो हुनुपर्ने उनी बताउँछन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल आजको दुर्घटनामा त्रिभुवन विमानस्थलस्थित फायर फाइटिङ सेवाले रेस्पोन्स गर्न ढिलाइ नगरेको दाबी गर्छन् ।

‘आजको हकमा विमानस्थल भित्रको फायर फाइटिङ तथा रेस्क्यु टिम डेढ मिनेटभित्र घटनास्थलमा पुगेको देखिन्छ,’ उनी भन्छन्, ‘तर, घटनास्थल खोँचमा हुनुले केही कठिनाइ भएको थियो ।’

जहाजमा हुने अतिप्रज्वलनसील इन्धन बलेका बेला लागेको भयानक आगो निभाउने काम विना उपकरण सम्भव नहुने भन्दै बरू राज्यको समग्र रेस्क्यु प्रणालीप्रति भने रिभ्यु गर्ने बेला आएको उनी बताउँछन् । विमानस्थल आसपास ठूलो बस्ती छ । जहाज चिप्लिएर हुने दुर्घटनापछि जहाज बस्तीमा पुग्न सक्छ ।

अहिलेसम्म त्रिभुवन विमानस्थल र पोखरा विमानस्थलमा भएका दुर्घटनाले मानव बस्तीमा क्षति पुगेको छैन । सधैंभरि यस्तो अवस्था नहुने भन्दै उनी समग्र राज्यको आकस्मिक उद्धार प्रणालीबारे बहस गर्नुपर्ने आएको उनी बताउँछन् ।

भीआईपी सवारीको झमेलो

अर्कोतर्फ दुर्घटनास्थलमा भीआईपीहरूको सवारीले समेत उद्धारको काममा प्रभाव पार्छ । खोज तथा उद्धार समन्वय केन्द्रको अनुभव लिएका ती पूर्वकर्मचारीका अनुसार उच्च पदस्थ व्यक्तिले तत्काल घटनास्थल पुग्न गर्ने लोभ र सुरक्षा निकाय तथा उच्च तहका कर्मचारी सो व्यवस्थापनमा व्यस्त हुँदा तत्काल हुने उद्धार र समन्वयमा मानसिक प्रभाव पार्छ ।

काम गरिरहेका मानिसमा मनोवैज्ञानिक प्रेसर समेत हुने गर्छ । आजको दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहितका भीआईपी घटनास्थल पुगेका थिए ।

कमजोर छानबिन समिति र उस्तै प्रकृतिका घटना पुनरावृत्ति

बुधबार जहाज दुर्घटनापछि सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । जसमा पाइलट, इन्जिनियर र कर्मचारीहरू राखिएको छ । समितिलाई ४५ दिनको समय दिइएको छ । हरेक दुर्घटनापिच्छे औपचारिकताका लागि गठन हुने पटके दुर्घटना जाँच आयोगका प्रतिवेदन यति कमजोर छन् कि जसलाई कुनै पनि निकायले पालना नगरे पनि कारबाहीको भागिदार हुनु पर्दैन । सोहीकारण अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन र युरोपेली युनियनले नेपाललाई कालोसूचीमा राख्दा स्थायी दुर्घटना जाँच संयन्त्रको अभाव देखाएका छन् ।

काठमाडौंमा यसअघि भएका सीता एयर, यूएस बंगला दुर्घटना बुधबारकै तरिकाका थिए । ‘यी दुर्घटनामा उठेका प्रश्नको हल हुन नपाउँदै अर्को दुर्घटना दोहोरिएको छ, प्राधिकरणका एक उच्च अधिकारी भन्छन्, ‘अब निर्मम हुनुपर्ने दिन आइसक्यो, आजसम्मका सबै दुर्घटनाको रिभ्यु गरौं, सबै निकाय नसच्चिने हो भने अवस्था भयाभह हुन्छ ।’

नेपाली आकाशमा १०८ औं दुर्घटना, ९५९ को मृत्यु

बुधबार नेपाली आकाशमा १०८ औं जहाज दुर्घटनामा परेको छ । जसमा ९५९ जनाले ज्यान गुमाइसकेका छन् । सौर्यको यो जहाज आन्तरिक उडानको ५४औं जहाज दुर्घटना हो ।

क्यानडामा बनेको सीआरजे २०० जहाज विश्वमा सबैभन्दा सुरक्षित जहाजमध्ये एक मानिन्छ । यो सिरिजका जहाज विश्वभर १ हजार १ सय वटा मात्र निर्माण भएका छन् । जसमध्ये मुस्किलले एक दर्जन जहाज मात्र दुर्घटनामा परेका छन् । यति सुरक्षित जहाज नेपालमा दुर्घटना हुनुले पुनः नेपालको हवाई सुरक्षामाथि प्रश्न उठेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?