+
+

फरेन्सिक विभागले मृतकको हुलिया खोज्दा…

कसरी गरिँदैछ विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचान ?

पुष्पराज चौलागाईं विकास रोकामगर पुष्पराज चौलागाईं, विकास रोकामगर
२०८१ साउन ९ गते २१:२७

९ साउन, काठमाडौं । बुधबार दिँउसो १ बजे । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको फोरिन्सक विभाग । अन्य दिनमा चिकित्सा शिक्षामा अध्ययनरत विद्यार्थी ओहोर–दोहोर गरिरहेका हुन्थे । बुधबार यहाँको वातावरण भिन्न थियो ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १८ मृतकको शव पोष्टमार्टमका लागि अस्पतालको फोरेन्सिक विभाग पुर्‍याइएको थियो ।

बाहिर प्रांगणमा आफन्तहरु जम्मा भएका थिए, सबैका आँशुले भरिएका छन् । कोही भुइँमा मुर्छित अवस्थामा छन् । कोही छातीमा मुड्की हान्दै अलापविलाप छन् । आफन्तहरु एकले अर्कोलाई सम्हाल्ने प्रयास गरिरहेका थिए । केही सूचना आइहाल्छ कि भन्ने चासो राखिरहेका थिए ।

भित्रबाट प्रहरीले माइकिङ गर्‍यो, मृतकका आफन्त दुई जनामात्रै भित्र आउनु होला ।

बाहिर जम्मा भएका आफन्तहरु हतार–हतार भित्र छिर्न खोजे । गेटमा पहरा दिइरहेका प्रहरीले भित्र धेरै भीड भएकाले मृतकको आफन्तलाई मात्र जान आग्रह गरे ।

आफन्तले आक्रोश पोखे, ‘हाम्रो आफन्त मरिरहेको छ, तपाईंहरुलाई भीडको चिन्ता ।’

त्यसपछि प्रहरीले आफन्तलाई भवनको लेल्चर नम्बर २ मा बस्न अनुरोध गर्‍यो । एक–दुई जना गर्दै हल भरिभराउ भयो । अन्य दिनमा फरेन्सिक विधाका विद्यार्थी अध्ययन गर्ने त्यो कक्ष बुधबार भने कारुणिक बन्यो ।

केही प्रहरीले आफन्तसँग सोधेर मृतकको नाम टिप्न थाल्यो । त्यसपछि त सम्हाल्नै गाह्रो हुने अवस्था बन्यो ।

फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरी अगाडि आएर सान्त्वना दिए, ‘जे नहुनुपर्ने थियो, भयो । मृतक सबैलाई हार्दिक श्रद्धान्जली । तपाईंहरुले सहयोग गर्नुभयो भने शव छिट्टै पहिचान गर्न सहज हुनेछ ।’

मृतक व्यक्तिको नाम थाहा भएपनि कुन व्यक्तिको शव कुन हो भनेर पहिचान गर्न पोस्टमार्टका केही प्रक्रिया गर्नुुपर्ने भएको जानकारी आफन्तलाई दिए ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै पोस्टमार्टम प्रक्रियालाई अगाडि बढाउने र विमान दुर्घटनामा परेको मृतकको शव पहिचान कठिनाइ हुने भएकाले विभिन्न प्रक्रिया अपनाउनुपर्ने बाध्यता रहेको उनले सुनाए । उपस्थित आफन्तलाई डा.चौधरीले भने, ‘सबैभन्दा पहिला तपाईँहरुले मृतकको हुलिया यहाँ उपस्थित हुनुभएका डाक्टर र प्रहरीलाई टिपाइदिनुहोला ।’

उनले थप्दै गए, ‘आज बिहान घरबाट निस्कदा मृतकले के लगाएर हिँड्नुभएको थियो ? शरीरमा कस्ता चोटपटक थिए ? सबै कुराको जानकारी यहाँ हुनुभएको प्रहरी र डाक्टर साथीहरुलाई भन्नुहोला ।’

पूर्ण पहिचान भएपछि मात्रै आफन्तलाई मृतकको शव दिइने उनले जानकारी गराए ।

‘एउटा शवलाई पोस्टमार्टम गर्न कम्तीमा चार घण्टा लाग्छ । दिनरात नभनेर हजुरहरुलाई चाँडै शव दिन कोशिस गर्छौं,’ आफन्तलाई शान्त बनाउन कोशिस पादै उनले भने, ‘चिकित्सक र प्रहरीको टोली रेडी भएर बस्नुभएको छ ।’

भीडबाट एक आफन्तले सोधे, ‘शव कहिँलेसम्म दिनुहुन्छ ? हामीले आफ्नो मतकलाई चिनेमा शव दिन मिल्दैन ?’

आफन्तलाई शान्त पार्दै डा. चौधरीले पोस्टमार्टमा हुने जटिलतालाई बुझाउने कोशिस गरे ।

‘सामान्यतः नर्मल मानिसको मृत्यु भएपछि अनुहारको स्वरुप परिवर्तन हुन्छ । विमान दुर्घटनामा परेर व्यक्तिको आगोले शरीरका छाला खुम्चिन्छ’, डा. चौधरीले भने, ‘आफन्तलाई जुन शव पनि आफ्नै लाग्नसक्छ । त्यसकारण विभिन्न वैज्ञानिक हिसाबले प्रमाणित गरेपछि शव दिन सक्छौं ।’

सहज रुपमा हुँदा १८ जनाको पोस्टमार्टम गर्न तीन दिन लाग्ने डा. चौधरीले जानकारी दिए । त्यसबेलासम्म शवलाई फ्रिजमा सुरक्षित राखिने भन्दै उनले अगाडि भने, ‘मृतकबारे अहिले थप जानकारी भए हामीलाई खबर गर्नुहोला ।’

त्यही भीडबाट अर्को मृतकका आफन्तले प्रश्न गरे, ‘मृतक कस्तो अवस्थामा छन् ?’

‘अहिलेसम्म ल्याएकोमध्ये १७ जना पुरुष र एक महिला हुनुहुन्छ । त्यसमध्ये एक बालक हुनुहुन्छ । एक जना विदेशी जस्तो देखिएको छ ।’

मुचुल्का उठाउने प्रक्रियामा संलग्न एक प्रहरीले कतिपय क्षतविक्षत र कतिपय पुरै भाग जलेर नचिनिने अवस्थामा रहेको जानकारी दिए ।

भोलि पुनः ५ बजे यसरी पोस्टमार्टबारे थप जानकारी दिने बताउँदै फरेन्सिक विभागका प्रमुख डा. चौधरीले चिकित्सकसँग बसेर फर्म भर्न मृतकका आफन्तलाई अनुरोध गरे । त्यसका लागि पालै पालो बोलाउने भन्दै प्रहरीले आफन्तलाई लेक्चर नम्बर २ बाट बाहिर जान अनुरोध गर्‍यो ।

सबै निस्किएको केही मिनेटमा मृतकको नाम (सागर आचार्य) लिँदै आफन्तलाई बोलाइयो । अनि विवरण टिप्न थाल्यो । पहिचान खुलाउन उचाइ, तौल, शरीरमा कुनै दाग वा ट्याटु भए–नभएको, शरीरमा स्टिलको प्रयोग, कुन कपडा लगाएको…यस्तै प्रश्न गर्न थाले ।
आफन्तले रुँदै जवाफ दिए ।

चिकित्सक र प्रहरीको टोलीले यसरी नै १८ जनाको आफन्तसँग हुलिया संकलन गरेको छ ।

कसरी पहिचान गरिन्छ शव ?

डा. चौधरीका अनुसार अन्य घटनामा मृत्युको कारण पत्ता लगाउन मात्रै पोस्टमार्टम गरिन्छ । तर, यस्तो विपदमा शव पहिचानको लागि मात्रै पोस्टमार्टम गरिन्छ ।

‘हामीलाई मृत्युको कारण स्पष्ट छ । तर कुन शव कसको हो भनेर पहिचान गर्न पोस्टमार्टम गर्नुपरेको हो’, डा. चौधरीले उदाहरण दिँदै भने, ‘प्लेन दुर्घटना भयो र एकैपटक धेरै जनाको मृत्यु भयो भने त्यहाँ मृतकको पहिचान गर्न गाह्रो हुन्छ । आफन्तले दिएको विवरण र क्लिनिकल तथ्यको आधारमा एक अर्कोको विवरणलाई हेरेर पहिचान गर्छौं ।’

सबभन्दा पहिले त मृतकको उचाइ, तौल, शरीरमा भएको दाग वा ट्याटुका आधारमा शव पहिचान गरिन्छ । तर यसरी पत्ता नलागेमा मृतकको पहिचान खुलाउने तीन आधार हुन्छ–फिङ्गरप्रिन्ट डेन्टल एक्जामिनेसन र डीएनए परीक्षण । ‘के–आधारमा यो व्यक्ति भनियो भन्ने वैज्ञानिक आधार स्पष्ट भएपछि मात्र आफन्तलाई शव जिम्मा लगाउँछौं’, डा. चौधरीले भने ।

डा. चौधरीका अनुसार केही शव अत्यधिक जलेका कारण डीएनए टेष्ट पनि गर्नुपर्ने हुनसक्छ । त्यसो भएमा तीन दिनभित्र शव दिन गाह्रो छ । ‘धेरै शव जलेर नचिनिने अवस्थामा छन् । उनीहरूको दाँतको बनावट, शरीरभित्र इम्प्लान्ट (स्टिल) हालेको अवस्थामा वा फिंगर प्रिन्टको भरमा पहिचान भएपछि मात्रै शव दिन सकिन्छ’, उनले भने ।

पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पतालका फोरिन्सिक विशेषज्ञ लगायतका २५ जना खटिएको उनले जानकारी दिए ।

उनका अनुसार प्रहरी वा आफन्तले देखेको भरमा सनाखत गर्दा शव फरक पर्न सक्ने ठूलो जोखिम हुन्छ । ‘यसभन्दा अगाडि केही यस्ता घटना भएका छन् । मृतकका आफन्तले आफ्नो भनेर दाबी गर्दा गलत शव लैजानुभएको थियो’, डा. चौधरीले अनलाइनखबरसँग भने, ‘केही कारणवश गलत शव पर्न गएको अवस्थामा ठूलो मेडिकल इस्यू बन्नसक्छ ।’

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?