+
+

कसरी गर्ने रक्तचन्दनको व्यावसायिक खेती ?

डा. मित्र पाठक डा. मित्र पाठक
२०८१ साउन १० गते १०:२१

आधा दशकअघि अनलाइनखबरमा रक्तचन्दन कसरी चिन्ने, कस्ता बिरुवाको बीउ र काठ रक्तचन्दन जस्तै हुन्छ ? आम मानिसलाई कसरी झुक्याइन्छ र कस्ता ठाउँमा खेती गर्न सकिन्छ ? जस्ता प्रश्नका जवाफ खोज्दै लेखेको थिएँ- बहुमूल्य रक्तचन्दन : भ्रम र वास्तविकता

अझै पनि रक्तचन्दनको व्यावसायिक खेती बारे पाठकसँग धेरै जिज्ञासा छन्। औपचारिक, अनौपचारिक रूपमा मैले यस्ता धेरै जिज्ञासाको जवाफ दिने प्रयत्न गर्दै आएको छु।

यो सफलताको कथा कञ्चनपुरका एक मिहिनेती र लगनशील व्यावसायिक कृषक विजयकुमार पन्तको हो। उनले आठ दश वर्षको अन्तरालमा रक्तचन्दनको व्यावसायिक खेतीबाट झन्डै ३०-४० लाखसम्मको कारोबार गरिरहेका छन्। मेरो जानकारीमा रहेसम्म सम्भवतः यो नै नेपालमा रक्तचन्दनको पहिलो र ठूलो व्यावसायिक उत्पादन हो।

५-६ वर्ष पहिला रक्तचन्दन र श्रीखण्डको बिरुवा उत्पादन गर्दैगर्दा उनले मलाई आफ्नो फार्ममा निम्तो दिए। म त्यहाँ पुग्दा नर्सरीमा रक्तचन्दन र श्रीखण्डका बिरुवा हुर्किंदै थिए। आज उनले एउटा उदाहरण प्रस्तुत गरेका छन् कि नेपालमै केही गर्छु भन्नेलाई सुन फल्ने माटो यहीं छ भनेर। हामीले उनीबाट पाठ सिक्न सक्छौं।

हुनत रक्तचन्दन काठको ए, बी, सी र डी मा ग्रेडिङ हुन्छ। असली ए ग्रेडको काठ तयार हुन १८ वर्ष बढी लाग्छ। तर ८-१० वर्षदेखि १२-१५ वर्षसम्मको रूखबाट प्राप्त हुने बी, सी र डी ग्रेडको काठबाट पनि राम्रै आम्दानी लिन सकिन्छ।

विशेषत: व्यावसायिक रूपमा खेती गर्दा कति जग्गामा कति उत्पादन गर्न सकिन्छ र बेच्ने प्रक्रिया कत्तिको सजिलो, अप्ठ्यारो वा झन्झटिलो छ भन्ने विषयमा प्रश्नहरू केन्द्रित हुने गरेका छन्।

निजी जग्गामा रोपिएको जम्मा १०३ वटा रक्तचन्दनको डिभिजन वन कार्यालय कञ्चनपुरले छपान गरिसकेको छ। साथै, वनस्पति विभागले स्थलगत निरीक्षणपश्चात् वैज्ञानिक प्रमाणित गरी वन विभाग बबरमहलबाट साइटिस कानुन बमोजिम रूख कटान अनुमतिपत्र समेत लिइसकेर बिक्रीका लागि खरिदकर्ताको खोजीमा भएको पन्तले जानकारी दिए।

कानुनी प्रक्रिया पूरा गरी नियम अनुसार भ्याट तिरेर उनीसँग खरिद गरिएको रक्तचन्दन नेपाल भित्र वा चीन लगायत विदेश लैजान पनि कुनै कानुनी समस्या र झन्झट हुँदैन। ढुक्कसँग खरीद तथा ढुवानी गर्न मिल्छ। नेपालमा नै पहिलो पटक रक्तचन्दनको स्वदेशी उत्पादन र कानुनी रूपमा खरीद–बिक्री हुनगइरहेको सायद यो नै पहिलो घटना हुनेछ।

बजारको सम्भावना र कठिनाइ

यो व्यावसायिक खेतीबाट रक्तचन्दनको पनि खेती गरेर यसको व्यापार गर्न सकिन्छ भन्ने एउटा आशा जागेको छ। सिंहदरबारस्थित दबाइखानाले विभिन्न आयुर्वेदिक औषधिमा प्रयोग गर्दै आएको रक्तचन्दन अभावमा औषधि बनाउन मुश्किल परेकोमा उनको उत्पादन किन्न सकिने आश्वासन दिएको छ।

उनले नै उत्पादन गरेको श्रीखण्ड पनि अब केही समयमा व्यापारिक प्रयोजनका लागि तयारी हुँदैछ। बजारमा अहिले रक्तचन्दन काठको मूल्य १५ देखि २० हजार प्रति केजी र श्रीखण्डको काठ पाँच हजार प्रति केजीसम्म छ।

श्रीखण्ड र अगरउडको व्यापारमा भने खासै समस्या छैन। श्रीखण्ड खेतीका लागि प्युठान प्रख्यात छ। बझाङ र डडेलधुरामा पनि खेती गरिन्छ। श्रीखण्डको तेल नेपालमै निकालिन्छ। तेल निकाल्ने कम्पनीहरू नेपालका विभिन्न स्थानमा स्थापना भएका छन्। यसको बजार अमेरिका, युरोप लगायत संसारभरि नै छ। अगरउड गुल्मी, म्याग्दी लगायत जिल्लामा खेती गरेको सुनिन्छ।

कठिनाइहरू

रक्तचन्दनका सक्कली बिरुवा र बीउ चिन्न मुश्किल हुन्छ। यसमा प्राविधिकको सहयोग लिनु आवश्यक पर्छ। यस्ता प्राविधिक सबैको सहज पहुँचमा उपलब्ध नहुन सक्छन्। कानुनी प्रक्रिया पूरा गरी नियम अनुसार भ्याट तिरेर नेपालमा खरिद गरिएको रक्तचन्दन नेपालभित्र वा चीन लगायत तेस्रो मुलुक निकासी गर्न पनि कुनै कानुनी समस्या र झन्झट हुँदैन। तर साइटिसको नियम अनुसार रक्तचन्दनको खेती सुरु गर्नु भन्दा अगाडि नै अनुमति लिनुपर्छ। यो प्रक्रिया अत्यन्त झन्झटिलो रहेको किसानहरूको गुनासो रहने गरेको छ। यसमा नीतिगत र कानुनी सुधार गर्नुपर्ने उनीहरूको माग रहने गरेको छ।

यो माग किन पनि जायज छ भने सुदूरपूर्व र सुदूरपश्चिमको मान्छे पनि काठमाडौं नै पुग्नुपर्दा ठूलो उत्साह बोकेका किसान निराश बनेका छन्। यसबारे वन तथा वातावरण मन्त्रालयको पहलमा किसानलाई सहज हुने उपाय तत्काल खोजिनु उपयुक्त हुन्छ।

सबैखाले बिरुवाको व्यावसायिक खेतीका लागि जग्गा छनोट उत्तिकै महत्वपूर्ण हुन्छ। पानी जम्ने तराईको समथर भन्दा अलि माथिको भित्री मधेश तथा चुरेको छेउछाउका भाग रक्तचन्दनका लागि उपयोगी पाइएको छ। पानी जम्ने तराईको समथर जमिनका रूखका जरा कुहिने र रूख सुक्ने समस्या देखिएको छ।

अहिलेसम्मको छोटो अनुभवमा शीतलहर पनि रक्तचन्दनका लागि घातक सावित भएको छ। तत्काल प्रशस्त बेच्ने काठ तयार नहुँदासम्म बेच्न पनि समस्या हुन सक्छ। बजारको मेसो नपाएर जेलमा बसेका तस्करसँग सोधपुछ गरेको तितो अनुभव पन्तले ठट्यौली पारामा सुनाउनुभएको थियो।

योभन्दा अगाडि वैधानिक व्यापार नभएकोले रक्तचन्दनको लागि चिनियाँ लगायत व्यापारीले ठूलो मात्रामा मात्रै काठको कारोबारमा चासो राख्ने हुँदा थोरै उत्पादनले बजार नपाउने सम्भावना पनि उत्तिकै छ। र, पनि ढिलोचाँडो सुन बिक्री नहुने सवाल भने रहँदैन। विधि पुर्‍याएर ठूलो मात्रामा खेती गर्दा उत्तम हुन्छ।

तराईका सरकारी तथा सामुदायिक वनका खोला छेउछाउ र मार्जिनल ल्याण्डहरूमा सामुद्रिक सतहदेखि १०००-१२०० मिटरसम्म रक्तचन्दन वा आ–आफ्नो वासस्थान अनुसार यो जस्तै बहुमूल्य काठ दिने रूखहरू लगाउन सकियो भने भविष्यमा देशका लागि एउटा राम्रो आम्दानीको स्रोत हुन सक्छ।

स्वर्ग जस्तो देशमै परिवारसँग बसेर स्वदेशमै केही काम गरौं भन्ने र गरिरहेकाहरू पनि धेरै छन् नेपालमा। धेरै विकल्पमध्ये जडीबुटी खेती, फलफूल, तरकारी खेती वा यस्तै आर्थिक महत्वका अफ्रिकन ब्ल्याकउड, अगरउड, चन्दन, रक्तचन्दन, रुद्राक्ष, बोधिचित्त, टिमुर, मालागिरी, रिट्ठा जस्ता बिरुवा रोपण पनि एउटा विकल्प हुन सक्छ।

तर, खेती गर्नुअघि यसको वास्तविक पहिचान, खेती प्रविधि, लगानीका लागि लाग्ने खर्च, सम्बन्धित निकायले दिने अनुदान, आय सुरु हुने अनुमानित समय, सम्भावित बजार, सम्भावित वार्षिक फाइदा अनि खेती सुरु गरेदेखि बेच्ने बेलासम्म विभिन्न चरणमा पूरा गर्नुपर्ने हुन्छ। साथै, आइपर्ने कानुनी प्रक्रिया तथा अड्चनहरूका बारेमा राम्रोसँग बुझेर मात्रै सुरु गरियो भने पछि पछुतो हुँदैन।

लेखकको बारेमा
डा. मित्र पाठक

डा. पाठक वनस्पति विभाग अन्तर्गत वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?