+
+

फिल्म क्षेत्रमा ‘गुटबन्दी’ मौलाएकोप्रति सरोज खनालको असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १० गते १२:१८

काठमाडौ । अभिनेता सरोज खनाल घरेलु फिल्ममा पछिल्लो समय मौलाएको ‘गुटबन्दी’प्रति असन्तुष्ट सुनिएका छन् । आफू अभिनित पछिल्लो फिल्म ‘नम्बरी सुन’को पत्रकार सम्मेलनमा उनले यो प्रवृत्तिप्रति कटाक्ष गरे ।

उनले भने, ‘अलिकति नेपाली सिनेमामा गुटबन्दी जस्तो पनि छ । निश्चित निर्माता र निर्देशकले निश्चित कलाकार मात्र लिने चलन चल्दै आएको छ । आफ्नो भागमा जस्तो पर्छ, त्यो भागमा न्याय गर्ने हो ।’

पछिल्लो समय केही फिल्म निर्माताले निश्चित कलाकार र निर्देशकलाई मात्र ‘अप्रोच’ गर्ने प्रवृत्ति बढिरहेकोप्रति खनालले टिप्पणी गरेको बुझ्न कठिन छैन । कुनैबेला लिड रोलमा देखिने खनाल पछिल्लो समय चरित्र अभिनेतामा देखिंदै आएका छन् ।

‘नम्बरी सुन’मा उनी अभिनेता गौरव पहारीको बुवाको रोलमा छन् । पाका अभिनेता टीका पहारीका छोरा गौरव यो फिल्ममा हिरोको रोलमा छन् । यसबारे खनालले भने, ‘यो बेला म आदरणीय टीका पहारीलाई सम्झिन चाहन्छु । पहिला मेरो बुवाको रोल उहाँले गर्नुहुन्थ्यो, अहिले गौरवको बुवाको रोल म गर्छु । यो समयको खेल हो ।’

आफूलाई जस्तो रोल आउँछ, आफूले त्यस्तै भूमिका गर्ने उनको भनाइ छ । ‘म पहिला हिरो खेल्थें, अहिले हिरो खेल्छु भनेर म पाउँदिन । समय अनुसार जस्तो रोल अफर आउँछ मलाई त्यस्तो रोल गर्छु,’ उनले भने ।

उनले अगाडि भने, ‘यो समयको खेल हो । म यस कुरामा विश्वास गर्छु समय गतिशील छ । समय सँगैसँगै हामी परिवर्तनशील हुँदै जान्छौं । हाम्रो रंगरुप चेन्ज हुन्छ ।’

राजु गिरी निर्देशित ‘नम्बरी सुन’ साउन २५ देखि प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?