+
+

संसदीय समितिमा सभापति यादव र माओवादी सांसद किरातीको नोकझोंक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १० गते २०:२८

१० साउन, काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सभापति राजकिशोर यादव र माओवादी सांसद सुदन किरातीबीच भनाभन भएको छ ।

सौर्य एयरको विमान दुर्घटना भएको भोलिपल्ट बिहीबार बैठक बोलाएको समितिले पर्यटनमन्त्री, नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक लगायतका अधिकारीलाई बोलाएको थियो ।

छलफलका क्रममा पूर्व पर्यटनमन्त्री समेत रहेका माओवादी सांसद किरातीले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्र्याएर नियमनकारी र सेवा प्रदायक अलग–अलग निकाय बनाउनुपर्ने बताए ।

विमानस्थलहरुलाई पीपीपी मोडलमा लैजान आफ्नै पालामा अध्ययन भएको भन्दै उनले नयाँ सरकारले यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे । त्यसपछि उनले दक्षिण कोरियामा जान उसकै जहाज चाहिने किन भयो भनेर प्रश्न गरे ।

‘हाम्रो जहाज लैजाने कुरामा हाम्रो सर्वभौम सत्ताको कुरा छ । डिजीबाट अठ्यारो हुन्छ भने मन्त्रिस्तरबाट निर्णय गरेर हुन्छ कि क्याबिनेटमा निर्णय गराएर हुन्छ, बाटो हामीले खोल्नुपर्छ’, उनले अगाडि भने, ‘हुन त सार्वभौम सत्ताको कुरा गर्दा हिजो एमसीसीमा पनि त्यस्तै भन्थे, गयो त हाम्रो देश ?’

सांसद किरातीले ठूला निर्णय गर्न बाटो हेराहेर भइरहेको भनिरहेका बेला समिति सभापति यादवले समयको चाप रहेको भन्दै छोट्याउन आग्रह गरे ।

सांसद किरातीले एजेण्डा राखेपछि बोलिसकौं भनेर जवाफ दिए ।

त्यसपछि समिति सभापति र सांसद किराँतीबीच निकैबेर सवाल जवाफ भयो ।

समिति सभापति यादव : टेक्निकल्ली राख्नुस् न ।

सांसद किराती : टेक्निकल्ली त म कसरी राख्छु, म त राजनीतिक मान्छे । राजनीतिक मान्छेले कुन चाहिँ जहाज कति घन्टा उडाएर ….. म त सक्दिन नि त ।

(सहभागीहरु गलल हाँसे)

समिति सभापति यादव : समय ख्याल गरौं न ।

सांसद किराती : विषयमा नीति केन्द्रित भन्नु न सभापतिज्यू । कसरी टेक्निकल्ली टेक्निकल्ली भन्नुहुन्छ, म त जान्दिन नि त । म त पाइलट पनि परिनँ ।

समिति सभापति यादव : राजनीतिक विषयको बहस यहाँ गरेर हुँदैन नि !

सांसद किराती : राजनीतिक मान्छेले के गर्छ त ?

समिति सभापति यादव : ठीक छ, यहाँ विषयमा केन्द्रित होऔं न

सांसद किराँती : केमा केन्द्रित गर्दैछु त म ?

समिति सभापति यादव : तपाईं अब यो जालोले गर्न दिएन, त्यो जालोले गर्न दिएन …।

सांसद किराती : सभापतिज्यू, तपाईंले कोरियाको ल्याउनुभयो नि त, म त्यही गर्दैछु ।

समिति सभापति यादव : त्यही गरौं न त

सांसद किराती : अनि के गर्दैछु त ?

समिति सभापति यादव : तपाईं मन्त्री भएर आउनु भएको मान्छे, समय चाप छ ।

सांसद किराँती : तपाईंले एजेण्डा किन राख्नुभएको त ?

समिति सभापति यादव : ठीक छ त, तपाईंले राख्नु त भयो नि । विषयमा अलिकति केन्द्रित भएर राख्नु

सांसद किराती : म विषयभन्दा कसरी बाहिर गएँ ? तपाईंले पो बुझ्नु समस्या भयो यो त ?

त्यसपछि भने समिति सभापति यादव रिसाए । उनले भने, माननीयजी, तपाईंले अलिकति हद पार गर्दै हुनुहुन्छ क्या । तपाईंले यहाँ जालोले …।

सांसद किराती पनि रिसाए । उनले चर्कै स्वरमा भने, ‘माननीय सभापतिज्यू तपाई दोहोरो सम्वाद गरेर समय नष्ट गर्ने, धेरै एजेण्डाहरु राख्ने ।’

बैठकको अध्यक्षता गरेका समिति सभापति यादवले समयमा बोलिसक्नुपर्ने बताए । तर सांसद किराती रोकिएनन्, उनले भने, ‘तपाईंले एजेण्डा राखेकोमा हामीले बोल्न नपाउने ? तपाईंको हठ के हो यो ? तपाई हठी कि म हठी ?’

सभापति यादवले समयलाई ध्यान दिन आग्रह गरे । तर सांसद किरातीले उनीतिर औला देखाएर भने, ‘बेकारको कुरा गर्नुहुन्छ । शासन होइन सभापतिज्यू, कोअर्डिनेसन गर्नुस् ।’

समिति सभापति यादव : होइन, तपाईले समयलाई … ।

सांसद किराती : तपाईको नयाँ मन्त्री त छ, किन चार चार वटा (एजेण्डा) गर्नुभयो त ?

समिति सभापति यादव : किन गरिँदैन ?

सांसद किराती : अनि मैले बोल्न किन रोक्नुहुन्छ ?

समिति सभापति यादव : विषयमा राख्नु न

सांसद किराँती : म त यत्रो पढ्दै थिएँ । अझै छोट्याउन खोजेको ।

त्यसपछि अरु सांसदले रोक्न खोजे । सांसद किरातीले आफू विषय केन्द्रित भएर बोल्दा पनि सभापतिले विषय केन्द्रित, टेक्निकल भनेको भन्दै उनले भने, के हो यो ? अरु माननीय जति त मैले बोलेको छैन । ल ठीक छ, सभापतिज्यू म बोलिनँ ।

त्यसपछि समिति सभापति यादवले सांसद हरि उप्रेतीलाई बोल्न समय दिए । उनी बोलिरहँदा माओवादी सांसद किराती आफ्नो स्थानबाट उठेर भने, ‘सभापतिज्यू म लागेँ । तपाईले हामीलाई धम्क्याउन बोलाउनु भएको रहेछ । धन्यवाद ।’

समिति सभापति र अरु सांसदले कसैले नधम्क्याएको भन्दै बस्न आग्रह गरे । छेउमा रहेका उप्रेतीले ‘यस्तो गम्भीर विषय छ …।’ मात्र के भनेका थिए, सांसद किराती उनको प्रतिवादमा उभिए ।

सांसद किराती : गम्भीर विषय छ त मैले राख्न पाउनुपर्‍यो नि कुरा ।

सांसद उप्रेती : राख्नु भयो कि कुरा । एकएक घन्टा राख्नु भयो ।

सांसद किराती : तपाईंले मलाई रुल गर्ने कि उहाँले ? तपाई फेरि रुल गर्न थाल्ने ?

त्यसपछि सांसद किराँतीले एजेण्डामा बोल्दा पनि रोकेको भनेर सभापति यादवसँग आक्रोस पोखे, यादवले समयमा जोड दिए ।

उनले भने, ‘यसलाई त्यही गरौं न ।’

अर्का सांसदले थपे, ‘यसलाई निरन्तरता दिउँ । सबैले जति राख्नुपर्ने छ, राख्ने ।’

सांसद किरातीले सभापतिले यति भन्नुपर्ने बताए । अरुलाई जति पनि बोल्न दिएको, तर आफूलाई टेक्निकल कुरा गर्नु भनेको भन्दै उनले भने, ‘म इन्जिनियर हो र, म त राजनीति गरेर आएको हुँ सभापतिज्यू । तपाई गर्नुस् टेक्निकल कुरा, छानबिन पनि तपाई नै गरेर प्रतिवेदन दिनुस् ।’

‘कसरी झर्‍यो ? दाहिने गयो कि देब्रो गयो प्लेन सबै हेर्नुस्’ भन्दै उनी बाहिरिए ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?