+
+

प्राक्टिकलमा फेल गराएको भन्दै गोरखामा शिक्षकमाथि हातपात

बिकास मरहट्टा बिकास मरहट्टा
२०८१ साउन १० गते १९:११

१० साउन, गोरखा । पालुङटार नगरपालिका–४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयका शिक्षक आशिष रानाभाटमाथि हातपात भएको छ । नेपाल विद्यार्थी संघ निकट युवाहरूले बिहीबार दिउँसो शिक्षालय परिसरमै पुगेर उनीमाथि हातपात गरेका हुन् ।

दुई जना पूर्वविद्यार्थी सहित आएको समूहले आफूमाथि हातपात गर्दै मोसो दल्ने प्रयास गरेको शिक्षक रानाभाटले अनलाइनखबरलाई बताए । ‘म अमिनहरूलाई पढाउने जियोम्याटिक्स विभागको कार्यकक्षमा काम गर्दै थिए,’ रानाभाटले भने, ‘उनीहरू आएर पहिले प्रशासनमा गए र एक्कासी म भएको कार्यकक्षमा छिर्न खोजे ।’

अन्य शिक्षकहरूले समूहलाई रोक्न खोज्दा पनि जबर्जस्ती कार्यकक्षमा छिरेर आफूमाथि हातपात गर्दै मोसो दल्ने प्रयास गरेको रानाभाटले जानकारी गराए । समूहले कार्यकक्षमा रहेको टेबल, विभाग प्रमुखको मोबाइल र ल्यापटप तोडफोड गरेका छन् ।

विद्यार्थी श्यामहरि संग्रौलालाई शिक्षक रानाभाटले आफूले अध्यापन गराउने सर्भे विषयको प्रयोगात्मक परीक्षामा पटकपटक फेल गराएको समूहले आरोप लगाएको शिक्षालयले जनाएको छ ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति गोरखाले घटनापछि विज्ञप्ति जारी गर्दै प्रयोगात्मक परीक्षाको सबै काम गरे पनि नियतवश अनुत्तीर्ण गराएको भन्दै आपत्ति जनाएको छ ।

‘शैक्षिक वर्ष २०७७ मा सोही शिक्षालयमा भर्ना भई डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययनरत छात्र संग्रौला उहाँलाई मन परेन छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निज प्रशिक्षकको सर्भे विषयमा प्रत्येक सेमिस्टरमा सीटीईभीटीले लिएको बाह्य परीक्षा उत्तीर्ण हँुदा प्रयोगात्मक परीक्षामा आग्रहपूर्ण तरिकाले अनुत्तीर्ण गराउनु हुन्थ्यो ।’

यस पटक चौथो सेमेस्टरको परीक्षामा पनि बदनियत राखी प्रयोगात्मक तर्फ अनुत्तीर्ण गराई विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न खोजेको नेविसंघको आरोप छ ।

यसबारे सम्बन्धित शिक्षकसँग छलफल गर्न शिक्षालय जाँदा उत्तेजित हुने खालको अभिव्यक्ति दिएको र बाहिर आउनुको सट्टा कोठामा चुकुल लगाएर बसेपछि सामान्य भनाभन र तानातान भएको नेविसंघले जनाएको छ । शिक्षक रानाभाटलाई हटाउन माग राख्दै उनीहरूले तालाबन्दी समेत गरेका छन् ।

शिक्षक रानाभाटले भने आफूले प्रयोगात्मक परीक्षामा फेल नगराएको दाबी गरेका छन् । ‘मैले पास अंक हालेर कोअर्डिनेटरलाई दिएको हुँ, कोअर्डिनेटर र परीक्षा विभाग मिलेर नम्बर चढाएका हुन् । कसरी फेल आयो मलाई थाहा भएन,’ उनले भने । आफूमाथि भएको घटनाको कानूनी उपचार खोज्ने उनले बताए ।

बहुप्राविधिक शिक्षालय प्रमुख प्रदीपराज बसौलाले शिक्षक रानाभाट र विद्यार्थी संग्रौलाबीच केही वर्षदेखि विवाद रहेको बताए । ‘तीन वर्षअघि खेलकुदको विषयमा विवाद भएको रहेछ, प्रहरीकोमा राखेर विवाद मिलाएका थियौं,’ उनले भने, ‘उनले पढाउने विषयको प्राक्टिकलमा पटकपटक फेल भएको देखियो । अस्तिको रिजल्टमा पनि फेल भएको पाइएपछि विद्यार्थीहरू अराजक भएर अभद्र व्यवहार गरे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?