१० साउन, काठमाडौं । मच्छिन्द्र फुटबल क्लब यू १८ टिमले ललित स्मृति यू १८ युथ लिग फुटबलमा दोस्रो जित हासिल गरेको छ ।
बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले खुमलटार एफसीलाई २–१ ले पराजित गरेको हो ।
रोनिक राना मगरले अन्तिम मिनेटमा निर्णायक गोल गर्दै मच्छिन्द्रलाई जित दिलाएका हुन् ।
त्यसअघि ६०औं मिनेटमा कविर तामाङले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए । तर खुमलटारका पवन दर्लामीले त्यसको तीन मिनेटपछि नै बराबरी गोल फर्काए ।
बराबरीतर्फ अघि बढेको खेलको ९०औं मिनेटमा रोनिकले गोल गरेपछि मछिन्द्रले २–१ को जित निकाल्दै ३ अंक जोड्न सफल भयो ।
जितपछि ४ खेलबाट ८ अंक जोडेको मच्छिन्द्र दोस्रो स्थानमा उक्लेको छ । मच्छिन्द्रले दुई जित र दुई बराबरी नतिजा निकालेको छ ।
तेस्रो हार बेहोरेको खुमलटार ३ अंकका साथ आठौं स्थानमै छ ।
यस्तै बिहीबारै भएको दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी एफसीलाई २-० ले पराजित गरेको छ । जारी लिगमा आर्मीको यो तेस्रो हार हो ।
चर्च ब्वाइजका लागि दावाछिरिङ लामाले ७३औं र शिशिर यस्मालीले ८९औं मिनेटमा गोल गरे ।
दोस्रो जितपछि चार खेलबाट ७ अंक जोडेको चर्च ब्वाइज पाँचौ स्थानमा उक्लेको छ ।
तीन खेल हारेको आर्मी भने अझै जितविहिन छ । एक खेल बराबरी खेलेको आर्मीको चार खेलबाट जम्मा १ अंक मात्र छ ।
प्रतिक्रिया 4