+
+

चिनियाँ बजारमा खुम्चियो एप्पलको हिस्सा, हुवावेको पुनरागमन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते १०:४३

काठमाडौं । चीनमा अमेरिकी कम्पनी एप्पलको बजार हिस्सा खुम्चिएको छ । चालु वर्ष सन् २०२४ को दोश्रो त्रैमासिकमा चिनियाँ बजारमा एप्पलको हिस्सा २ प्रतिशतले घटेको हो ।

हुवावे लगायतका घरेलु कम्पनीहरुसँगको तीव्र प्रतिस्पर्धा बढ्दै जाँदा चीनमा एप्पलको बजार हिस्सा खस्किँदै गएको बजार अनुसन्धान कम्पनी क्यानालिसले जनाएको छ ।

यो गिरावटले विश्वको तेश्रो ठूलो बजारमा एप्पलले भोगिरहेको कठिनाइलाई दर्शाएको छ ।

त्यस्तै अप्रिल महिनामा फ्लागशीप स्मार्टफोन Pura 70 बजारमा आएसँगै चीनमा हुवावेका स्मार्टफोनको बिक्रीमा ४१ प्रतिशतले बढोत्तरी भएको छ । अमेरिका लगायतका पश्चिमा मुलुकहरुको प्रतिबन्धका बीच आफ्नै चिप प्रयोग गरेर गत वर्ष अगष्टमा स्मार्टफोन निर्माण गरी बजारमा ल्याएसँगै हुवावेले सशक्त पुनरागमन गरिरहेको छ ।

क्यानालिसको रिपोर्ट अनुसार सन् २०२३ को दोश्रो त्रैमासिकमा चीनको स्मार्टफोन बजारमा एप्पलको हिस्सा १६ प्रतिशत रहेकोमा यो त्रैमासिकमा घटेर १४ प्रतिशतमा झरेको छ ।

योसँगै चीनमा स्मार्टफोनको बजार हिस्साको हिसाबले एप्पल तेश्रोबाट छैटौँ स्थानमा पुगेको छ ।

रिपोर्ट अनुसार चिनियाँ बजारमा दोश्रो त्रैमासिकमा समग्रमा स्मार्टफोनको बिक्री भने १० प्रतिशतले बढेको छ । बजार हिस्साको हिसाबले १९ प्रतिशत हिस्सा सहित भिभो पहिलो स्थानमा छ भने दोश्रो स्थानको ओप्पोको १६ प्रतिशत, तेश्रो हनरको १५ प्रतिशत र चौथो हुवावेको १५ प्रतिशत रहेको छ ।

स्वदेशी ब्राण्डहरुले बजार हिस्सा बढाइरहँदा एप्पलले भने चिनियाँ बजारमा दबाबको सामना गरिरहेको छ र बजार श्रृंखला व्यवस्थापनमा केन्द्रित भएको छ । साथै एप्पलले आफ्ना आइफोनमा छुटको अफर पनि दिइरहेको छ ।

विश्लेषकहरुले चीनमा हुवावेका स्मार्टफोनको बिक्री यो वर्षभरि नै उच्च रहने प्रक्षेपण गरेका छन् । चीनमा यो वर्ष सन् २०२४ मा हुवावेले ५ करोड थान स्मार्टफोन बिक्री गर्ने प्रक्षेपण क्यानेडाली रिसर्च कम्पनी टेकइनसाइडले जनाएको छ । जसमा पुरा ७० सिरिजका १ करोड स्मार्टफोन बिक्नेछन् । योसँगै हुवावे चिनियाँ बजारमा १९ प्रतिशत बजार हिस्सा सहित पहिलो स्थानमा उक्लिनेछ ।

–रोयटर्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?