+
+

गाउँपालिका अध्यक्षकै घरमा जुवा खाल, भन्छन्– मनोरञ्जनका लागि खेल्यौं

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते १२:१३

११ साउन, काठमाडौं । जुवाखालबाट पक्राउ परेका रसुवास्थित नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घलेसहित १० जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

प्रहरी वृत्त, बौद्धले अनुसन्धान गरेर बुझाएको रायसहितको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बिहीबार अदालतमा मुद्दा दर्ता गराएको हो ।

मुद्दामा घलेसहित बूढानीलकण्ठका रमेश लामा, काठमाडौं–६ का चीनकुमार गोले, राजु तामाङ, बूढानीलकण्ठका दिनेश सुनार, बौद्धका प्रवीण लामा, काठमाडौं–१४ का विष्णुकुमार दोङ, सुमन गोले, सिन्धुपाल्चोकका कविराज भनिने सुक्र सुनार र ऋतिक राउत प्रतिवादी छन् ।

विशेष सूचनाका आधारमा प्रहरी प्रभाग, कपनको टोलीले गाउँपालिका अध्यक्ष घलेको अढाइ तले घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको थियो ।

५ साउनमा अपराह्न ३ बजेतिर घरमा पुगेको प्रहरी टोलीले नगद १ लाख ३६ हजार ५ सय रुपैयाँसहित जुवा खेल्न प्रयोग हुने क्वाइन ३७ वटा र ६ बुक तास समेत बरामद गरेको थियो ।

गाउँपालिका अध्यक्ष भन्छन् – समान्य मनोरञ्जनका लागि म्यारिज खेल्यौं

पक्राउ परेपछि प्रहरीसँग बयान दिँदै गाउँपालिका अध्यक्ष नुर्ब स्याङ्बो घलेले ‘साथीभाइहरुले भनेपछि मनोरञ्जनका लागि खेलेको’ बताएका छन् ।

‘शनिबारको दिन भएको हुँदा केही टोलबासी साथीभाइहरुले सामान्य मनोरञ्जनका लागि म्यारिज खेलौं भन्ने सल्लाह भएको हुँदा मैले पनि सहमति जनाएको थिएँ’, उनले भनेका छन्, ‘दिउँसो अन्दाजी साढे ३ बजेतिर घरको चौथो तला भाडामा लिएर बस्दै आएका मसँगै हिरासतमा रहेका रमेश लामाको कोठामा गएर हेर्दा केही साथीहरू पहिल्येदेखि तास खेलिरहेका थिए ।’

त्यसपछि आफूले पनि केहीबेर मनोरञ्जन गरौं भन्ने मनसायले ५० रुपैयाँ प्लाइन्ट म्यारिज खेल्न सुरु गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको उनले भनेका छन् । घले २८ चैत २०८० मा मानवबेचबिखन गरेको अभियोगमा समेत पक्राउ परेका थिए ।

घलेसहितको समूहले आर्थिक अवस्था कमजोर भएकी पीडितलाई कुवेतमा मासिक २८ हजार रुपैयाँ तलब दिने गरी काममा लगाइदिने भन्दै नयाँ दिल्ली पुर्‍याएको थियो । तर, त्यहाँबाट भिजिट भिसामा श्रीलंकाको कोलम्बोसम्म पुर्‍याएर कुटपिट गरेर बन्धक बनाएर राखेको अनुसन्धानपछि खुलेको थियो ।

०७३ सालमै मुद्दा दर्ता भएपनि उनी पक्राउ परेका थिएनन् । पछि मानवबेचबिखन अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरे पनि सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेको थियो ।

पीडितको एउटा निवेदनलाई आधार बनाएर सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेको थियो । तर, अनुसन्धानमा संलग्न अधिकृतहरुले भने पीडितलाई होस्टायल बनाइएको आशंका गरेका थिए ।

के हुन्छ सजाय ?

पक्राउ परेका १० जनामध्ये रमेश लामा, चीनकुमार गोले र प्रवीण लामा यसअघि जुवासम्बन्धी कसूरमै पक्राउ परेका थिए । मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने भनिएको छ ।

यस प्रावधान अनुसार पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?