+

मधुमेहले मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

२०८१ साउन  ११ गते १७:०३ २०८१ साउन ११ गते १७:०३
मधुमेहले मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

शान्त रहने व्यक्ति अचानक सानो कुरामा रिसाउने, दिक्क हुने, झर्किने र अँध्यारो मुख लगाउने हुँदै गएमा जो कोही पनि छक्क पर्न सक्छ । यदि सो व्यक्ति लामो समयसम्म मधुमेहको समस्याबाट गुज्रिरहेको छ भने त पक्कै पनि यसको प्रभाव परेको हुनसक्छ ।

सामान्यतया रगतमा ग्लुकोजको मात्रा बढी हुने अवस्था मधुमेह हो । जसरी मधुमेह भएकाहरूमा यसको मात्रा बढी भएमा अंगहरु क्षति हुने, मोटोपन, मुटुसम्बन्धी लगायतको जोखिम हुन्छ । ठीक सोही प्रकारले मानसिक स्वास्थ्यमा समेत प्रभाव पार्छ ।

कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

मधुमेह र मानसिक स्वास्थ्यबीचको सम्बन्धलाई बुझ्न दुवै पक्षको गहिराइमा जान आवश्यक छ । मधुमेह भएका कतिपय व्यक्तिलाई तनावले घेर्छ । किनकि, एकातर्फ यो औषधि उपचारपछि पुन: रूपमा ठीक हुने रोग होइन । यसलाई नियन्त्रण गर्नुपर्छ ।

नियमित रूपमा रक्त ग्लुकोजको स्तर जाँच्नुपर्ने, औषधि लिनुपर्ने र खानपानमा ध्यान दिनुपर्ने हुन्छ । यही व्यवस्थापन तथा नियन्त्रण दिनहुँजसो गरिरहनु व्यक्ति हैरान हुनसक्छ । यी चुनौतीहरूले गर्दा व्यक्ति निराश, चिन्तित वा अवसादमा पर्न सक्छन् । यस्तो झन्झटिलो प्रक्रियाबाट छुट्कारा नहुने चिन्ताले उनीहरूलाई सताउन सक्छ ।

अर्कोतर्फ उनीहरुमा शारीरिक हल्का लक्षण देखियो भने मधुमेह बढेर केही पो भइहाल्ने हो कि, यो खानेकुरा खाँदा मधुमेह बढ्न सक्छ, कति खाइरहने दिनकै यस्ता औषधि भन्ने जस्ता चिन्ता भइरहने हुनसक्छ । यस्तो चिन्तालाई चिकित्सकले मधुमेह सम्बन्धित चिन्ता अर्थात् डायबिटिज रिलेटेड डिसट्रेस र डायबिटिज वर्नआउटको नाम दिएका छन् । यही चिन्ताले अत्यधिक सोचेर डिप्रेसनमा समेत मानिस पुग्न सक्छ ।

अध्ययनमा उल्लेख भएअनुसार इन्सुलिनमा भर पर्न आवश्यक नरहेका टाइप २ भएका पाँच जनामध्ये एक जनामा र इन्सुलिन लिइरहेका ६ जनामध्ये एक जनामा डायबिटिज रिलेटेडडिसट्रेसको समस्या देखिन्छ ।

त्यस्तै, हाम्रो मुडसँग उच्च र निम्न ब्लड सुगर वा ग्लाइसेमिकबीच सम्बन्ध हुन्छ । खराब ग्लाईसेमिक नियमनको लक्षण मानसिक स्वास्थ्यको लक्षण जस्तै, झर्को लाग्नु, अत्यधिक चिन्ता हुने लक्षणसँग मिल्दोजुल्दो छ । किनकि हाम्रो मस्तिष्क ग्लुकोजको आधारमा चल्छ ।

मधुमेह नियन्त्रित छ भने कुनै समस्या हुँदैन । तर मधुमेह घट्ने र बढ्ने भइरहेमा मुडमा तीव्र रूपमा परिवर्तन आउँछ । जसको प्रभाव घरपरिवारको सदस्य र नातेदारबीचको सम्बन्धमा पर्न सक्छ ।

ब्लड सुगर कम हुँदा एन्जाइटी, कुनै कुराको भय र भ्रम उत्पन्न हुने हुन्छ । ब्लड सुगर उच्च हुँदा उसलाई भोक नलाग्ने, समन्वय शक्ति तथा एकाग्रताको क्षमता, निर्णय लिनुमा कठिनाइ, आक्रामक स्वभाव, अधैर्यता र निद्रा नआउने जस्ता लक्षण अनुभव हुन्छ ।

मानसिक समस्या भएकालाई मधुमेहको जोखिम

चिन्ता, तनाव वा अवसाद जस्ता मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले पनि बिस्तारै खानपान तथा जीवनशैलीमा ध्यान दिन सक्दैनन् । कम शारीरिक गतिविधि, खानपानको तालमेल नमिल्नु, एकोहोरिनु,  अनियमित निद्रा जस्ता समस्या उनीहरूले अनुभव गर्न सक्छन्, जसले मधुमेहको जोखिमलाई बढाउँछ । साथै, उनीहरूमा अनावश्यक चिन्ता लगातार बढ्दा कोर्टिसोल हर्मोनको मात्रा अत्यधिक बढ्छ ।

फलस्वरुप, हर्मोनल सन्तुलनमा प्रभाव पार्न सक्छ, जसले बल्ड सुगरको नियमन तथा नियन्त्रणमा समस्या ल्याउँछ ।

यौन जीवनमा प्रभाव

मधुमेह अत्यधिक मात्रामा बढिरहेको छ भने यौन जीवनलाई समेत प्रभावित पार्न सक्छ । महिलामा योनीमा सुक्खापन, पुरुषमा उत्तेजना कम हुनु वा शीघ्र स्खलन हुने समस्या भएमा उनीहरू यौन जीवनमा खुसी हुन सक्दैनन् । यही सोचले पनि उनीहरूमा बिस्तारै मानसिक समस्याले सताउन सक्छ ।

सेन्टर अफ डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) अनुसार मधुमेह भएकालाई मधुमेह नभएकाहरूको तुलनामा दुईदेखि तीन गुणा बढी डिप्रेसन हुने सम्भावना हुन्छ । तीमध्ये २५ देखि ५० प्रतिशतमा मात्रै डिप्रेसनको पहिचान र उपचार हुन्छ ।

मानसिक स्वास्थ्यमा प्रभाव परेको कसरी पहिचान गर्ने ?

– स-साना झर्किनु, आत्तिनु, रातभर ननिदाउनु, अरुको कुरा सुन्दै नसुनी आक्रामक हुन, उदास हुनु, केहीमा पनि मन नलाग्नु, निराशावादी हुनु, थाकेको अनुभव हुनु, अत्यधिक खाने वा खाँदै नखाने जस्ता लक्षण देखिन्छ ।  यीमध्ये धेरै लक्षण दैनिकीमा देखिए मानसिक समस्या भएको बुझिन्छ ।

मधुमेह भएकाले मानसिक स्वास्थ्य कसरी व्यवस्थापन गर्ने ?

– मानसिक रूपमा समस्या भइरहेको छ भने चिकित्सकलाई बताउनुपर्छ । ताकि, चिकित्सकलाई मधुमेह र मानसिक स्वास्थ्यमा परेका प्रभावलाई ध्यानमा राखी दुवै समस्याको समग्र रूपमा मूल्यांकन गर्न सहन होस् ।

थेरापी

मधुमेह भएकाहरूमा मुड स्विङ, चिन्ता, थकान, तनावले सताइरहेको छ भने थेरापीले यो अवस्था सुधार गर्छ ।

सो थेरापी मनोविज्ञ वा मनोचिकित्सकले दिन सक्छन् । थेरापीमा दिमागलाई आराम गर्ने र मधुमेह व्यवस्थापन प्रविधिहरू समावेश हुन्छन्, यी मार्फत भावनात्मक नियमन कायम रहन्छ । साथै तनाव पनि कम हुन्छ ।

मनमा चलेको विचलन पोख्नुहोस् । तनाव, चिन्ता जस्ता भावनाहरू अनुभव भएमा नजिकको व्यक्तिसँग पोख्न सकिन्छ । यसरी भावना पोख्दा मन त हल्का हुन्छ नै उनीहरूले पनि जीवनोपयोगी सल्लाह दिन सक्छन् ।

सकिन्छ भने परिवारमा पनि यी समस्या भन्नुपर्छ । ताकि, उनीहरूले पनि समस्या बुझेर सोही अनुसारको व्यवहार गर्न सकुन् ।

नियमित रूपमा ब्लड सुगर परीक्षण

अनियन्त्रित मधुमेहले मस्तिष्कलाई प्रभाव पार्ने भएकाले रगतमा ग्लुकोजको मात्रा नियमित रूपमा जाँच गर्नुपर्छ । ताकि, यसमा अचानक कुनै उतारचढाव नआओस्, जसकारण मानसिक स्वास्थ्य अवस्थाको सामना गर्नुपरोस् ।

निद्रा र शारीरिक गतिविधि

सातदेखि आठ घण्टा सुत्नु र शारीरिक क्रियाकलापमा सहभागी भई आफूलाई शारीरिक रूपमा सक्रिय राख्दा रगतमा ग्लुकोजको मात्रा लगायत मानसिक अवस्था सुधार्न पनि मद्दत गर्छ । उचित निद्राले उच्च रक्तचाप नियमन गर्नुका साथै मुड बुस्टर पनि गर्छ ।

जीवनशैली परिवर्तन

स्वस्थ आहार, नियमित व्यायाम, पर्याप्त निद्रा र ध्यान जस्ता जीवनशैलीका विकल्पले मधुमेह र मानसिक स्वास्थ्यलाई सुधार गर्न मद्दत पुर्‍याउन सक्छ ।

औषधिको प्रयोग 

आवश्यक परेको खण्डमा चिकित्सकले मधुमेह र मानसिक स्वास्थ्यका लागि उपयुक्त औषधि सिफारिस गर्न सक्छन् । औषधिको उपयोगले रोगलाई नियन्त्रणमा राख्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

डा. विनय भट्टराई मधुमेह मानसिक स्वास्थ्य
डा. विनय भट्टराई
लेखक
डा. विनय भट्टराई
मधुमेह, हार्मोन तथा थाइराइड रोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९०९५ अध्ययन : एमबीबीएस र एमडी हाल काठमाडौंस्थित मेट्रो काठमाडौं र ह्याम्स अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?