+
+
जहाज दुर्घटना :

केही परिवारले शव बुझे, केहीले मानेनन्

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८१ साउन ११ गते २०:००
तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

११ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभाग विमान दुर्घटना ज्यान गुमाएका आफन्तले भरिएको छ । बिहानैदेखि विभाग अगाडि जम्मा भएका उनीहरू कहिले पोस्टमार्टम सकिन्छ भन्न मात्र कुरिरहेका थिएनन्, सरकार र विमान कम्पनीबाट कोही आएका छन् कि भनेर खोजिरहेका थिए ।

करिब चार बजे पोस्टमार्टमको सबै प्रक्रिया सकियो । फरेन्सिक विभागले १४ वटा शवलाई आफन्तले दिएको हुलिया र क्लिनिकल तथ्यको आधारमा र चार वटा शव अत्यधिक जलेका कारण डेन्टल एक्जामिनेसन मार्फत पहिचान गरेको थियो । तर सौर्य एयरलाइन्स र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का कुनै पदाधिकारी देखिएनन् ।

परिसरमा तैनाथ रहेका प्रहरीले आफन्तलाई शव हेर्न र प्रक्रिया पूरा गरेर बुझ्न माइकिङ गर्‍यो । तर आफन्त आक्रोश पोख्दै भन्न थाले, ‘यत्रो घटना हुँदा पनि राज्य नै निदाएको छ । जबसम्म सरकारका प्रतिनिधि र सौर्य एयरलाइन्सको व्यवस्थापक आएर मागलाई सम्बोधन गर्ने वातावरण नभएसम्म हामी शव बुझन् पनि जाँदैनौं ।’

बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने अडान राखे । उनीहरू बीमाको रकम कति र कहिलेसम्म पाइन्छ ? कामको सिलसिलामा मृत्यु भएकाले सौर्य एयरलाइन्सबाट के कति क्षतिपूर्ति दिन्छ ? प्रट हुन चाहेका छन् । साथै मृतकको परिवारको शिक्षा र रोजगारी, मानिसिक परामर्श, दाहसंस्कार तथा किरियाको खर्च, शववाहनको व्यवस्था र सरकारको तर्फबाट उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

तर एयरलाइन्स व्यवस्थापक पक्ष उपस्थित थिएन । उनीहरूको माग सुनिदिने कोही भएन । पीडित परिवारको आक्रोश बढ्दै गएपछि परिसरको माहोल बिग्रन थाल्यो । प्रहरीले शान्त बनाउने कोसिस गरेपछि केही आफन्त मृतकको शव हेर्न राजी भएका थिए ।

प्रहरीले आफन्तलाई शव हेर्न दिने भयो । ‘प्रत्येक परिवारको ३/३ जनालाई बोलाउँछौं । शव हेर्न दिन्छौं, अब शव लैजान पनि सक्नुहुन्छ,’ ती प्रहरीले आफन्तलाई अनुरोध गरे ।

पाँच जनाको परिवारले शव बुझेका छन् । अस्पताल स्रोतका अनुसार उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को–पाइलट सुशान्त कटवालका परिवारले शव बुझेका छन् । दुई शव परिवारले भोलि बिहान बुझ्ने गरी प्रक्रिया पूरा भएको छ ।

केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने अडान कायम नै राखेका छन् । ‘बीमा रकम कति र कहिले पाउने प्रष्ट हुनुपर्ने, सौर्य एयरलाइन्सले दिने क्षतिपूर्ति, मृतकका छोराछोरीको शिक्षा, आश्रित परिवारको रोगजगारी लगायतका विषयमा प्रष्ट भएपछि मात्र शव बुझ्छौं । नत्र यहीँ धर्नामा बसिरहन्छौं,’ मृतकका आफन्त राजकुमार पञ्जियार भन्छन् ।

सौर्य एयरलाइन्सले शुक्रबार विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्म सहयोग, साथ र सदभाव रहने बताएको छ ।

एयरलाइन्सका अध्यक्ष दीपककुमार पोखरेलद्वारा जारी विज्ञप्तिमा यो दुर्घटनाबाट अकल्पनीय क्षति भएको उल्लेख छ । ‘यस दुर्घटनामा परी ज्यान गुमाउनु हुने प्रतिष्ठित यति धेरै विज्ञहरूको क्षतिको कल्पना नै गर्न सकिन्न,’ विज्ञप्तिमा उल्लेख छ ।

एयरलाइन्सको स्थापनाकालबाटै परिवारका रुपमा काम गर्दै आएका मित्र तथा सहयोगी गुमाउँदा मर्माहत तथा भावविह्वल भएको पोखरेलले बताएका छन् ।

दुर्घटनामा बाँच्न सफल क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । घाइते भई उपचाररत क्याप्टेन शाक्य खतरामुक्तरहेको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको काठमाडौं मेडिकल कलेजले जनाएको छ ।

न्यूरो सघन उपचार कक्ष (आईसीयू) बाट क्याविनमा सारेर चिकित्सक प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । ‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । हिजो एमआरआई गर्दा खासै जटिलता नदेखिएपछि आईसीयूबाट सारेका छौं,’ मेडिकल कलेजकी मेडिकल डाइरेक्टर मीना डा. थापाले भनिन् ।

शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोटहरू, ढाडको एउटा हडी र देव्रे पट्टि तीन वटा करंगहरू भाँचिएको थियो ।

काठमाडौंबाट बुधबार बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटना भएको थियो ।

दुर्घटनामा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । विमान दुर्घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पतालका फोरिन्सिक विशेषज्ञ लगायतका २५ जना खटिएको थिए ।

अस्पतालका फोरिन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार शव पहिचान ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’ मार्फत गरिएको थियो ।

मृतकको उचाइ, तौल, गरगहना, दातको वनावट, शरीरमा भएको दाग वा ट्याटुका लगायतका कुराहरू मृतकका आफन्त मार्फत विवरण संकलन गरिएको थियो । त्यसपछि क्लिनकल परीक्षण गरिएको थियो । पोस्टमार्टम मार्फत मृतकको अप्रेशन भए नभएको, एपेन्डिक्स, गलब्ल्याडर, शरीरको कोठी, शरीरभित्र इम्प्लान्ट (स्टिल) लगाएका सबैलाई म्याचिङ गर्ने काम भएको थियो ।

त्यस आधारमा १४ जनाको शव पहिचान भएको थियो । तर ४ जनाको अत्याधिक जलन भएकाले डेन्टल एक्जामिनेसनमार्फत पहिचान खुलेको थियो । ‘अस्पतालको तर्फबाट शव पहिचान गर्ने काम सकिएको छ’ फरेन्सिक विभागका प्रमुख डा. चौधरीले भने, ‘केही शव आफन्तले बुझ्न भएको छ । कसैले लैजान इन्कार गर्नुभएको छ भन्ने प्रहरीले जानकारी दिनुभएको छ ।’

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?