
काठमाडौं । अमेरिकी दुतावासको आयोजनामा शुक्रबारदेखि राजधानीमा दुई दिने ‘क्रिएटर्स मेला २०२४’ सुरु भएको छ । ठमेलस्थित अलफ्ट होटलमा आयोजित मेलाको पहिलो दिन झण्डै एक दर्जन सत्र प्रस्तुत भए ।
नेपाली डिजिटल क्रिएटर र इन्फ्लुएन्सरको क्षमता र सीपको विकास गर्दै अनलाइनमा उनीहरुको उपस्थितीलाई प्रभावकारी तुल्याउन र व्यवसाय बढाउने उद्देश्यले मेला आयोजना गरिएको दूतावासले जनाएको छ ।
यसवर्षको मेलाको थिम ‘बिल्ड, ब्राण्ड, बुस्ट’ राखिएको छ । मेलाको पहिलो दिन झण्डै ५०० कन्टेन्ट क्रिएटरले सहभागिता जनाए ।
पहिलो दिन शुक्रबार पोडकास्टिङ, विभिन्न प्लाटफर्ममा बढ्दो सामाजिक संजालको प्रभाव, सामाजिक सञ्जालमा एआईको सदुपयोग, सामाजिक सञ्जालमार्फत सफलता प्राप्त गर्ने तरिका, दृश्य माध्यममार्फत कथा भन्ने शैली, सामाजिक संजाललाई नियमन गर्ने विषयमा वहसबारे विभिन्न छलफल सत्र आयोजना गरियो ।
‘पडकास्ट कार्यशाला : शैली र सीप’ विषयक’ सत्रमा अमेरिकी पडकास्टर एवं लेखक एलिसी हु तथा नेपाली स्वतन्त्र पडकास्टर सुशान्त प्रधानले छलफल गरे । चर्चित नेपाली पडकास्टर सविना कार्कीले सहजीकरण गरेको यो सत्रका वक्ताले पडकास्टलाई कसरी सुरुचि र चाख लाग्ने तुल्याउनेबारे आफ्ना धारणा राखे ।
उनीहरुले दर्शक तथा श्रोतालाई कन्टेन्टसँग जोड्ने बारेमा कसरी काम गर्न सकिन्छ भन्ने बारेमा आफ्ना अनुभव पनि सुनाए ।
‘विभिन्न प्लाटफर्ममा कसरी सामाजिक संजालको उपस्थिती बढाउने’ विषयक सत्रमा मेकअप कलाकार लेमी र कन्टेन्ट क्रिएटर पराक्रम राणाले छलफल गरे । कुनै दबाबबिना नेपाली युवाले सामाजिक संजालमा आफ्नो रुचि र चाहनाका भिडियो पोस्ट गर्न सक्ने लेमीले बताइन् ।
‘तपाईंलाई मःम बनाउने रेसिपीको आइडिया छ भने त्यो पोस्ट गर्दा पनि हुन्छ । यस्तै किसिमले कुनै दबाबविना कन्टेन्ट क्रिएट गर्नूस’ लेमीले अनुभव सुनाउँदै भनिन्, ‘मैले पनि मेकअप ब्यवसायमा सामाजिक संजालको प्रयोग गरेँ । यसले मेरो ब्यवसाय उकास्न पनि मद्दत गर्यो ।’
कन्टेन्ट क्रिएटर राणाले जुनसुकै कन्टेन्ट बनाउँदा पनि त्यो नेपाली भाषा, संस्कृति र मौलिकतासँग जोडिनुपर्ने बताए । ‘यसरी कन्टेन्ट बनाउँदा नेपालको इमोसन जोडिन्छ’ उनले भने ।
सामाजिक संजालमा कसरी सफल हुने भन्ने छलफल सत्रमा ओसिन सिटौला, संजोग कोइराला र पूर्वमिस नेपाल तथा उद्यमी अनुष्का श्रेष्ठले छलफल गरे ।
‘कथावाचन शैलीको कला’ विषयक सत्रमा फोटो पत्रकार स्कन्द गौतम, फिल्ममेकर शान्ता नेपाली, सुशिल सापकोटाले छलफल गरे । दूतावासका सार्वजनिक मामिला प्रमुख ग्यारेट विल्करसन र प्रवक्ता जेहरा नक्वीले प्रश्नोत्तर सत्रमा भाग लिए ।
मुख्य स्टेजमा कलाकारले सांगीतिक प्रस्तुतिसँगै मनोरञ्जनात्मक माहोल सिर्जना गरे । सुशान्त घिमिरेले गायन प्रस्तुतिसँगै सहभागिलाई झुमाए । प्रगति पुनले डान्स प्रस्तुति दिइन् । यीसहित अन्य रमाइला सत्र पनि मुख्य स्टेजमा आयोजना भए ।
मेलाको अन्तिम दिन शनिबार फुड भ्लगिङ कार्यशाला, मानसिक स्वास्थ्य, रुचिलाई कसरी नाफामा परिणत गर्ने भन्ने शैली, सामाजिक संजालमा आफ्नो व्यक्तिगत ब्राण्ड कसरी बनाउने, यात्रा भ्लग, इन्स्टाग्राम स्टोरी र रिल्स वर्कसपजस्ता छलफल र कार्यशाला हुनेछन् ।
साथै, लाइभ बडी पेन्टिङ, गायिका त्रिशला गुरुङको सांगीतिक प्रस्तुति, प्रियंका कार्कीको जीवनको यात्रा नामक कार्यक्रम हुनेछन् । पूर्वमिस नेपाल श्रृंखला खतिवडा, फिल्म निर्देशक निश्चल बस्नेत र युवा उद्यमी श्री गुरुङबीच अन्तक्रिया पनि हुनेछ ।
यसवर्ष, पोडकास्टिङ, ब्रान्ड-बिल्डिङ, मनिटाइजेसन र मानसिक स्वास्थ्य जस्ता विषयमा १२ मेनस्टेज सत्र र १९ अन्तरक्रियात्मक सत्रसहित कुल ३१ सत्र कार्यक्रम संचालन हुनेछन् ।
प्रतिक्रिया 4