+
+

धनगढीमा जन्डिसको समस्याले अस्पताल भर्ना भएका युवकको मृत्यु, लापरवाही गरेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते २०:१८

११ साउन, धनगढी । धनगढीको नोभा हस्पिटलमा उपचाररत कञ्चनपुरका एक युवकको मृत्यु भएको छ । जण्डिसको समस्या देखिएपछि ७ साउनदेखि अस्पतालमा भर्ना भएका बेलौरी नगरपालिका-२ १७ वर्षीय नसिब चौधरीको शुक्रबार मृत्यु भएको हो ।

नातामा मृतकका मामा पर्ने फुलाराम चौधरीले डाक्टरको गम्भीर लापरवाहीका कारण नसिबको मृत्यु भएको बताए । उपचारमा संलग्न डाक्टर रामचन्दै पौडेलले पटक-पटक भान्जाको स्वास्थ्य अवस्थाबारे जानकारी लिदा सामान्य रहेको बताउँदै उपचार सम्भव भएको आश्वासन दिएको तर अवस्था जटिल बनेपछि अन्तिम समयमा आएर रेफर गरिदिएको उनको भनाई छ ।

‘भान्जालाई जन्डिसको समस्या थियो । अस्पताल भर्ना भएकै दिनदेखि यहाँ उपचार सम्भव छ की छैन भनेर सोध्दा नोभा हस्पिटलले आत्तिनुपर्दैन् उपचार भइहाल्छ भन्दै आएको थियो,’ चौधरीले भने, ‘अवस्था जटिल बनेपछि अन्तिम समयमा आएर आज अन्यत्र लैजान भनियो । भेन्टिलेटरमा राखिदिनुहोस् भन्दा पनि राख्नै मान्नुभएन ।’

चौधरीले अस्पतालले तीन घण्डाभित्र नेपालगञ्ज वा भारत लैजान भनेपछि एम्बुलेन्समा राख्दाराख्दै मृत्यु भएको बताए । मृतक नसिब बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा ११ कक्षामा अध्ययन गरिरहेका थिए । अहिले उनको शव नोभा अस्तालमै राखिएको छ ।

मृतकका आफन्तले उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारवाही नगरेसम्म शव नउठाउने चेतावनी दिएका छन् । तर अस्पताल प्रशासनले भने चौधरीको उपचारमा कुनै लापरवाही नगरिएको दाबी गर्दै आएको छ ।

अस्पतालका सूचना अधिकृत पदमराज भट्टले चौधरी जटिल अवस्थामै उपचारका लागि आएको बताउँदै स्थिती थप जटिल भएपछि डाक्टरले रेफर गरेको बताए । शुक्रबार बिहान ११ बजे रेफर गरेको बिरामीलाई दिउँसो साढे ३ बजेसम्म अन्यत्र नलिएपछि ह्रदयघातका कारण उनको मृत्यु भएको दाबी भट्टले गरेका छन् ।

‘सास फेर्न गाह्रो भयो भनेर उहाँ ७ गते अस्पताल आउनुभएको थियो । सामान्य उपचारपछि फर्किनुभयो । थप समस्या भएपछि भोलिपल्ट फेरी आएर भर्ना हुनु भएको हो,’ भट्टले भने, ‘उहाँ भर्ना हुने बेलामै कलेजो सुजन भइसकेको थियो । मृगौलामा पनि समस्या थियो । आईसीयूमा राख्दा पनि सुधार नभएपछि रेफर गरिएको हो ।’

अवस्था जटिल बन्दै गएपछि मृतकको मुटुमा समेत समस्या देखिएपछि शल्यक्रिया गर्न नसक्ने भन्दै रेफर गरिएपनि आफन्तले ढिलो गर्दा ह्रदयघात भएर उनको मृत्यु भएको भट्टले बताए । मृतकका आफन्तले जोखिम पत्रमा हस्ताक्षर गर्न नमानेपछि भेन्टिलेटरमा नराखिएको दाबी समेत उनको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?