+
+

‘शाम्बाला’ भदौ २८ मा रिलिज हुने, नेटफिल्क्समा पनि ल्याउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते २१:२९

काठमाडौं । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’को नेपाल प्रदर्शन मिति तय भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यो फिल्म भदौ २८ गते (सेप्टेम्बर १३)मा रिलिज हुने जानकारी दिइयो ।

यो ड्रामा, एड्भेन्चर र म्याजिक रियालिज्म फिल्मलाई एप्पल इन्टरटेनमेन्टले देशब्यापी प्रदर्शन गर्न लागेको हो । ‘हामीले यो फिल्मलाई नेपालब्यापी रिलिज गर्दैछौं’ लामो समयदेखि विदेशी फिल्मको वितरणमा समेत सक्रिय एप्पल इन्टरटेनमेन्टका प्रमुख नकिम उद्दिनले भने ।

विश्व प्रसिद्ध बर्लिन फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियरपछि यो फिल्म अगस्ट पहिलो साता स्वीटजरल्याण्डको लोकार्नोमा स्क्रिनिङ हुँदैछ । प्रतिष्ठत फेस्टिभलमा प्रदर्शनपछि निर्माता कम्पनी सुनी फिल्मसले यो फिल्मलाई स्वदेशमा रिलिज गर्न लागेको हो ।

नेपाली र तिब्बती भाषामा रिलिज हुने यो फिल्मलाई नेपालमा अंग्रेजी र नेपाली सबटाइटलमा समेत प्रदर्शन गरिनेछ । सहरी क्षेत्रमा अंग्रेजी सबटाइटलमा देखाइने तयारी एप्पलको छ ।

पत्रकार सम्मेलनमा निर्देशक भामले ग्लोबल दर्शकपछि अब आफू घरेलु दर्शकमाझ आउन लागेकोमा उत्साही रहेको बताए । ‘मेरो पहिलो फिल्म कालोपोथी केही हलमा मात्र रिलिज भएको थियो । यो भने, वाइडरुपमा नेपालभर लगाउँदैछौं’ भामले भने ।

झण्डै १४ करोड नेरु बजेट तय रहेको यो फिल्मलाई अहिलेसम्मकै महंगो नेपाली फिल्म बताइएको छ । यो फिल्मले नेपालको चलचित्र विकास बोर्डसहित विश्वका १७ अन्तर्राष्ट्रिय संस्थाबाट फण्ड जितेको छ । फिल्मलाई नेटफ्ल्क्सिमा रिलिजका लागि आफ्ना विदेशी निर्माताहरु लागिपरेको समेत भामले जनाए ।

‘कालोपोथी’ निर्देशक भामको यो दोस्रो निर्देशकीय फिचर हो । फिल्ममा थिन्ले ल्हामो र सोनम तोप्देन शीर्ष भूमिकामा छन् । यो फिल्मले नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा पेश गर्छ ।

फिल्मले एक पुरुष र उनका दुई साना भाइसँग बहुआयामी वैवाहिक सम्बन्धमा रहेकी एक महिला पेमालाई पछ्याउँछ । जब व्यापारका लागि गएका पुरुष फर्किंदैनन्, तब पेमाले आफ्नो गर्भमा रहेको बच्चालाई वैधता दिनका लागि उसलाई खोज्न थाल्छिन् ।

पत्रकार सम्मेलनमा निर्देशक भामले बौद्ध दर्शनलाई आफूले कथावस्तुमा समेटेको बताए । अभिनेत्री थिन्ले ल्हामोले आफू गर्भवती महिलाको रोलमा देखिँदा चरित्रमा डुब्न धेरै प्रयास गरेको अनुभव सुनाइन् ।

पत्रकार सम्मेलनमा फिल्म निर्देशक नवीन सुब्बा र निश्चल बस्नेतले पनि भामलाई बधाई तथा शुभकामना दिए । सरकारप्रति आक्रामक सुनिएका बस्नेतले सरकारले गर्नुपर्ने काम भामले गरेको बताए । निर्देशक सुब्बाले भामले विश्वस्तरमा नेपाली फिल्मको स्वीकार्यता बढाएको बताए ।

उक्त अवसरमा थांका कलाकार पासाङ डोल्पाले पोतेको थांका पोस्टर अनावरण गरियो । एप्पल इन्टरटेनमेन्ट तथा क्यूएफएक्स प्रमुख उद्दिनले पोस्टर अनावरण गर्दै रिलिज मिति घोषणा गरे ।

‘शाम्बाला’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बेल्जियमको वितरण कम्पनी बेस्ट फ्रेन्ड फरेभरले लिएको छ । फिल्मको मल्टिप्लेक्स पार्टनरमा क्यूएफएक्स छ । फिल्म निर्माणमा फ्रान्स, नर्वे, हङकङ, टर्की, ताइवान र अमेरिकी कम्पनीले पनि सहकार्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?