+
+

‘भीआईपी’ बाटै तोडिन्छ प्राविधिक उडान नियम

सौर्य एयरलाइन्सले मर्मत गर्नुपर्ने जहाजमा प्राविधिक बाहेक अन्य व्यक्ति उडाएर गल्ती गरिरहेको चर्चा भइरहँदा यो वातावरण सिर्जना हुनुमा नियामक निकाय र यसको नेतृत्वकर्ताबाटै अगुवाइ भइरहेको देखिन्छ । यसप्रति न सरकार गम्भीर देखिन्छ, न वायुसेवा कम्पनीले नै नकार्न सकेका छन् ।

अच्युत पुरी अच्युत पुरी
२०८१ साउन १२ गते १७:३९

१२ साउन, काठमाडौं । · १५ वैशाख २०७९ मा नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्यो । त्यो जहाजमा तत्कालीन पर्यटनमन्त्री प्रेम आलेसहित पर्यटन मन्त्रालय, नेपाल एयरलाइन्स र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरू सवार थिए । यो जहाज धावनमार्गमा अवतरण गरिसकेपछि केहीबेर रोकिन पुग्यो । जहाज मोड्ने बेला पाइलटले भेउ नपाएका कारण जहाज पुनः सोझो बनाएर मोड्नुपर्ने भयो । नेपाल एयरलाइन्सले नयाँ विमानस्थलमा परीक्षणका लागि गरेको यो उडानमा पर्यटनमन्त्री र प्राधिकरणबाटै परीक्षण उडानको नियम उल्लंघन गरिएको थियो ।

· ६ असार २०८१ मा श्री एयरलाइन्सले काठमाडौं–भरतपुर परीक्षण उडान गर्‍यो । तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, पर्यटनमन्त्री हितबहादुर तामाङसहित प्राविधिकहरू त्यो उडानमा सहभागी थिए । ४२ सिटे जहाजबाट नियमित उडान भइरहेको यो विमानस्थलमा पहिलो पटक श्रीको ८० सिट क्षमतायुक्त जहाज परीक्षण गर्न उक्त उडान गरिएको थियो ।

· ८ पुस २०७९ मा पोखरास्थित पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा यती र बुद्ध एयरका जहाजबाट परीक्षण उडान गरियो । ती उडानमा पोखरा महानगरपालिका मेयर धनराज आचार्यसहित स्थानीय पर्यटन व्यवसायीले जहाज खचाखच भरिएका थिए । ती जहाज पहिलो पटक विमानस्थलमा ओर्लिएका थिए ।

· १७ असोज २०७७ मा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको नेतृत्वमा डोटी दिपायल, बैतडी पाटन विमानस्थल र बझाङ चैनपुर विमानस्थलमा परीक्षण उडान गरिएको थियो । लामो समयदेखि बन्द भएका विमानस्थलको स्तरोन्नतिपछि परीक्षण उडान गरिएकोमा जहाजमा प्राविधिकभन्दा धेरै राजनीतिक दलका नेताले यात्रा गरेका थिए ।

यी केही प्रतिनिधिमूलक उदाहरण हुन्, जसले नेपालमा विशिष्ट व्यक्ति (भीआईपी) बाटै प्राविधिक उडान नियम उल्लंघन भएको छ । यसमा न उड्डयन नियामक प्राधिकरणले भीआईपीलाई प्राविधिक उडानमा चढ्नबाट रोक्न सकेको छ, न भीआईपी आफैंले पनि प्राविधिक उडानको जोखिम आकलन गर्न सकेका छन् ।

गत बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको पूर्णमर्मत गर्न गरिएको ‘फेरी फ्लाइट’ मा प्राविधिक बाहेक असम्बन्धित व्यक्ति राखेर उडाएको खुलेसँगै नेपालमा प्राविधिक उडानलाई कति हल्का लिइन्छ भन्ने खुलेको हो ।

सौर्य एयरलाइन्सले चार वर्षीय बालकलाई समेत आफ्नो कर्मचारी भन्दै नामको सूची विमानस्थलमा बुझाएको थियो । यस्तै प्रवृत्ति जहाज र विमानस्थलमा हुने परीक्षण उडानका दौरान देखिने गरेको छ ।

उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार सामान्यतया प्राविधिक प्रकृतिको जहाजमा असम्बन्धित यात्रु राख्नु हुँदैन । तर, राजनीतिक व्यक्तिको दबाबका अगाडि प्राधिकरण सधै निरीह हुने गरेको छ ।

‘विमानस्थल होस् वा जहाजको परीक्षण उडान, हरेक नेताका लागि काम देखाउने विषय हो,’ ती अधिकारी भन्छन्, ‘सोहीकारण यस्ता उडानमा आफूलाई लैजान ठूलो दबाब हुने गर्छ ।’

यसरी स्वयम् नियामक निकायले आफ्नै नेतृत्वमा नियम विपरीत प्राविधिक तथा परीक्षण उडान गराइरहेको छ ।

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमले एक आलेखमा राजनीतिक व्यक्तिबाट परीक्षण उडानमा दिइने दबाबबारे रोचक प्रसंग उल्लेख गरेका छन् ।

१७ चैत २०८० मा अनलाइनखबरमा प्रकाशित ‘बादलभित्रको अत्यास लाग्दो त्यो आठ मिनेट’ शीर्षकको आलेखमा २४ जेठ २०७५ का दिन गुल्मीको रेसुंगा विमानस्थलको धुले मैदानमा गरिएको परीक्षण उडानबारे उल्लेख छ ।

उनका अनुसार यसरी गरिने परीक्षण उडानमा प्राविधिक बाहेक अन्यलाई उडान अनुमति हुँदैन ।

करिब ८ मिनेट बादलभित्रको अन्धाधुन्ध उडान, डर र त्रासदीपूर्ण यात्राबारे गौतमले आलेखमा उल्लेख गरेका छन् । जसमा उनले प्राविधिक बाहेक व्यक्ति यात्रा गर्दा प्राविधिक उडानमा हुने जोखिमबारे उल्लेख गरेका छन् ।

सौर्य एयरलाइन्सले मर्मत गर्नुपर्ने जहाजमा प्राविधिक बाहेक अन्य व्यक्ति उडाएर गल्ती गरिरहेको चर्चा भइरहँदा यो वातावरण सिर्जना हुनुमा नियामक निकाय र यसको नेतृत्वकर्ताबाटै अगुवाइ भइरहेको देखिन्छ । यसप्रति न सरकार गम्भीर देखिन्छ, न वायुसेवा कम्पनीले नै नकार्न सकेका छन् । यसले नेपालको हवाई क्षेत्र झनझन असुरक्षित बन्दै गएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?