+
+
अबिचुअरी :

घनश्याम जब अन्तरेबाट ‘अन्तरे सर’ भए

सानै उमेरदेखि गीतसंगीत एवम् साहित्यमा घनश्यामको धेरै रुचि थियो । राजा महेन्द्रले घोषणा गरेको गाउँफर्क अभियानलाई जोडेर गीतसंगीत एवम् साहित्य मार्फत उनले सचेतना फैलाए । उनको यो जागरणबाट प्रेरित भएर धेरै गाउँ फर्केका पनि थिए ।

प्रेम लामा प्रेम लामा
२०८१ साउन १२ गते १९:३०

ठोरीको इतिहास निकै पुरानो मानिन्छ । इतिहास साक्षी मान्ने र गहिरिएर अध्ययन गर्ने हो भने विक्रम सम्वत् ८०० देखि ११५० सालभित्रै ठोरी नाका चल्तीमा थियो । लिच्छविकालदेखि नै ठोरीमा व्यापारिक दृष्टिले मानवीय बसोबास भएको अध्ययनले देखाएको छ । सन् १९०६ मा ठोरी नाकासम्म भारतले रेल सेवा विस्तार गरेपछि ठोरी क्षेत्रमा थप चहलपहल बढ्न गयो ।

राजा महेन्द्रले २०२० सालतिर राष्ट्रियता रक्षाका लागि भन्दै चितवनका विभिन्न ठाउँबाट ठोरीमा बस्ती स्थानान्तरण गरे । बस्ती बसाउन उनले जंगल फडानी अनुमति दिए । त्यसबेला ठोरी घना जंगल थियो । बस्ती स्थानन्तरणसँगै ठोरीमा क्रमिक रूपमा बस्ती विस्तार भयो ।

बस्ती विस्तारकै क्रममा १५ वर्षको एउटा ठिटोको प्रवेश हुन्छ ठोरीमा । उनी थिए– घनश्याम अधिकारी ।

सानो छँदै बाबु गुमाएका घनश्याम आमा र दाजुहरूको हात समाएर २०२६ सालमा ठोरी झरेका थिए । हँसिलो, रसिलो र चञ्चले उनमा बहुआयामिक क्षमता थियो ।

घनश्यामको पुर्ख्यौली थलो ताप्लेजुङ हो । परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक हुँदा उनका बाबुआमा जीविकोपार्जनका लागि भारतको सिक्किम भासिएका थिए । त्यहीँ २०११ सालमा उनको जन्म भएको थियो । परिवार पाल्नकै लागि भनेर उनका बाबुआमा विकल्प खोज्दै सिक्किमबाट भुटान हान्निए । तर, पनि उनको परिवारले भने जस्तो सुख पाएन ।

उनकी दिदीको घर दार्जिलिङ थियो । घनश्यामलाई बाबुआमाले दिदीको जिम्मा लगाए । उनको प्रारम्भिक शिक्षा त्यहीँ भयो । परिवारका बाँकी सदस्य भने भुटानमै ज्याला मजदुरी गरेर जीवन गुजारिरहेका थिए । घनश्याम ११ वर्षको हुँदा उनको बाबुको भुटानमै निधन भयो । बाबुको मृत्युसँगै छोराहरू पाल्ने जिम्मेवारी आमाको थाप्लोमा पर्न गयो ।

दैनिक ज्याला मजदुरी गरेर दुःखसुख भुटानमा उनको परिवारको जीवन चलिरहेको थियो ।

त्यही समय (२०२४ साल) नेपालमा राजा महेन्द्रले ‘गाउँफर्क अभियान’ घोषणा गरे । घनश्यामको परिवार पनि भुटानबाट स्वदेश फिर्ता भएर झापामा झन्डै दुई वर्ष बिताए । त्यहाँको बसाइ पनि सकसपूर्ण नै बन्यो । झापाबाट पनि बसाइ सर्ने निश्चित भएपछि घनश्याम पनि आमा र दाजुहरूको हात समाएर ठोरी आए । जसले गर्दा उनको पढाइ बीचैमा छुट्यो ।

परिवारलाई सुखसँग लालनपालन गर्ने सपना बोकेर उनका बाबुआमा ताप्लेजुङबाट भारतको सिक्किम भासिए, सिक्किमबाट भुटान । तर, भुटानमा बाबुको दुःखद् निधनपछि आमा र दाजुको सहारामा उनको परिवार झापा र झापाबाट भौंतारिँदै ठोरी आइपुग्यो ।

ठोरी आएपछि पनि उनको परिवारमा दुःखका पहाड उस्तै थियो ।

उनका निकटवर्ती समेत रहेका छिमेकी कृष्ण पौडेल भन्छन्, ‘परिवारमा धेरै सदस्य थिए । आर्थिक अवस्था कमजोर थियो । जसले गर्दा दैनिक गुजारा टार्न उनी १५ वर्षकै उमेरमा अरूको घरमा काम गर्न बस्न बाध्य भए ।’

परिवारको सातौं छोरामध्ये पाँचौं थिए घनश्याम । त्यसैले उनलाई ‘अन्तरे’ को नामले पनि बोलाउने गरिन्थ्यो । बिस्तारै यही नामले पनि उनी परिचित हुँदै गएको पौडेल सम्झिन्छन् ।

सानै उमेरदेखि गीतसंगीत एवम् साहित्यमा उनको धेरै रुचि थियो । राजा महेन्द्रले घोषणा गरेको गाउँफर्क अभियान जोडेर गीतसंगीत एवम् साहित्य मार्फत उनले सचेतना फैलाए । उनको यो जागरणबाट प्रेरित भएर धेरै नेपाली गाउँ फर्केका थिए ।

‘आमाको खुसीका लागि अर्काको घरमा काम गर्न बाध्य भए पनि घनश्याममा रहेको बहुआयामिक क्षमता भने समाजमा विभिन्न माध्यमबाट प्रष्फुटन भइरहन्थ्यो,’ पौडेल भन्छन् ।

समाजमा हुने कुरीति, विसंगति, जातीय विभेद विरुद्ध उनी खुलेर प्रस्तुत हुन्थे । नाटक, गीत, कवितामार्फत जागरण फैलाउँथै । सानादेखि ठूलासँग सहजै घुलमिल हुने क्षमता उनमा थियो । यही क्षमताका कारण उनले लेखेका नाटकमा अभिनय गर्न युवा लोभिन्थे ।

घरको आर्थिक अवस्था नाजुक थियो नै । उनी ठोरी आउँदा मावि तहको स्कुल पनि थिएन । जसले गर्दा उनको पढाइ अघि बढ्न सकेन । ठोरीमा बस्तीकरण भएको धेरै समयपछि मात्रै गाउँमा मावि तहको पढाइ सुरु भयो । अरूको घरमा काम गरेरै भए पनि उनले अध्ययनलाई निरन्तरता दिए । २०३९ सालमा २८ वर्षको उमेरमा एसएलसी पास गरे ।

जब उनले एसएलसी पास गरे, त्यसपछि भने उनको जीवनमा केही परिवर्तन आयो । उनी घर नजिकैको स्कुलमा शिक्षक नियुक्त भए । आर्थिक अवस्था पनि बिस्तारै सुधार हुँदै आयो । अन्तरेबाट उनी ‘अन्तरे सर’ भए ।

पछिल्लो समय उनी गाउँलेलाई स्वच्छ पिउने पानी खुवाउने अभियानमा थिए । वर्षौंदेखि गाउँमा रहेको खानेपानी समस्या हल गर्ने उनको धोको थियो । तर, क्यान्सर जस्तो प्राणघातक रोगबाट ८ साउनमा उनले यो धर्तीबाट बिदा लिए । जसका कारण गाउँलेलाई पानी खुवाउने उनको सपना उनीसँगै गयो । उनका श्रीमती, चार छोरी र एक छोरा छन्

‘उनले घरको अवस्था मात्रै सुधारेनन् । गाउँ, टोल र समाज समेत सुधारे । समाजमा हुने विकृति, विसंगति, जातीय विभेद विरुद्ध आवाज उठाउँथे । अरूलाई पनि यस्ता कार्यमा लाग्न प्रेरित गर्थे,’ घनश्यामसँग लामै संगत गरेका महेन्द्र पौडेल स्मरण गर्छन् ।

नाट्य रंगमञ्च क्षेत्रबाट समाजमा सांस्कृतिक जागरण उनले नै फैलाएको पौडेल स्मरण गर्छन् । घरको आर्थिक अवस्था कमजोर हुँदाहुँदै उनको ध्यान प्रायः समाज परिवर्तनमै केन्द्रित हुन्थ्यो ।

‘नाटकमार्फत उनले कुरीति, विसंगति र अन्याय विरुद्ध व्यंग्य प्रहार गर्थे । अन्याय विरुद्ध आवाज उठाउन अरूलाई पनि प्रेरित गर्थे । बाटोघाटो, मठमन्दिर, खानेपानी निर्माण लगायतमा अग्रपंक्तिमा रहेर काम गर्न उनी सधैं अघि सर्थे,’ पौडेल भन्छन्, ‘यो नै उनको समाजप्रतिको सबैभन्दा ठूलो योगदान हो ।’

सांस्कृतिक, सामाजिक, साहित्यिक रूपमा मात्रै उनी अब्बल थिएनन् । उनी शैक्षिक र राजनीतिक रूपमा पनि उत्तिकै सबल र सक्रिय थिए । उनले समाजमा सांस्कृतिक, साहित्यिक, शैक्षिक एवम् राजनीतिक जागरण फैलाए ।

‘उनी सांस्कृतिक एवम् साहित्यिक चेतको भण्डार नै हुन् भन्दा फरक पर्दैन । आर्थिक अवस्था कमजोर हुनु, प्रविधिमा पहुँच नभएकै कारण उनी ओझेलमा परेका हुन्,’ पौडेल भन्छन्, ‘बहुआयामिक प्रतिभा भएकै कारण नाट्य, गीतसंगीत, साहित्य, शिक्षा, राजनीति लगायत हरेक विधामा उनको दखल थियो । यही प्रतिभाका कारण समाजमा सबैमाझ लोकप्रिय थिए र रहिरहने छ ।’

आर्थिक अवस्था कमजोर भएकै कारण उनले लेखेका दर्जनभन्दा बढी नाटक, गीत, कविता, गजल प्रकाशन हुन पाएनन् । ‘उनले लेखेका थुप्रै नाटकमा अभिनय गर्नेहरू अहिले सरकारी निकायको माथिल्लो तहसम्म पुगेका छन् । समाजमा साहित्यिक चेत भर्ने योगदान उनकै थियो,’ पौडेल भन्छन् ।

समाजमा हुने जुवातास, जाँडरक्सी जस्ता विकृति हटाउन उनी सधैं अग्रसर हुन्थे भने सर्वहारा वर्गको उत्थानका लागि सदैव क्रियाशील हुन्थे ।

दसैंतिहार जस्ता ठूला चाडपर्वलाई नाट्य रंगमञ्च एवम् संगीतमय बनाएर सामाजिक जागरण फैलाउने समाजका आदर्श व्यक्ति थिए उनी । तिहारमा देउसीभैलोको संस्कृतिको जगेर्नामा उनको योगदान अतुलनीय छ । युवापुस्तालाई देउसीभैलोमा गोलबन्द गरी आर्थिक संकलन गर्थे, र विभिन्न सामाजिक कार्यमा लगाउँथे ।

केही समयअघि मात्रै सरकारी जागिरबाट अवकाश लिएका पौडेल अधिकारीलाई आफ्नो सांस्कृतिक गुरु मान्छन् । उनकै पदचाप पछ्याएर आफूले पनि नाटक लेख्ने प्रेरणा मिलेको उनी बताउँछन् । उनकै प्रेरणाले गीत गाउनेदेखि लिएर अभिनय गर्न आफूलाई प्रेरणा मिलेको सम्झिन्छन् ।

घण्टौंसम्म लोकसंगीत एवम् भजनकीर्तनमा समेत रम्न सक्ने खुबी उनमा थियो । लोकसंगीतको जगेर्ना एवम् भजनकीर्तनलाई जीवन्त राख्न उनी सदैव अग्रसर रहन्थे ।

‘घनश्यामकै अग्रसरतामा ठोरीमा पहिलो पटक रेडक्रस जस्तो संस्थाको सहयोग समिति गर्न सफल भएका थियौं । घरघर गएर सदस्यता बाँडेर रेडक्रस सहयोग समिति गठन गरेका थियौं । जसको अध्यक्ष अधिकारी थिए भने सचिव म आफैं,’ पौडेल सम्झिन्छन् ।

पछिल्लो समय उनी गाउँलेलाई स्वच्छ पिउने पानी खुवाउने अभियानमा थिए । वर्षौंदेखि गाउँमा रहेको खानेपानी समस्या हल गर्ने उनको धोको थियो । तर, क्यान्सर जस्तो प्राणघातक रोगबाट ८ साउनमा उनले यो धर्तीबाट बिदा लिए । जसका कारण गाउँलेलाई पानी खुवाउने उनको सपना उनीसँगै गयो । उनका श्रीमती, चार छोरी र एक छोरा छन् ।

विभिन्न संघसंस्थामा आवद्ध उनी समाजको उत्थानमा सधैं क्रियाशील थिए । उनको निधनसँगै ती संघसंस्थाले अभिभावकत्व गुमाएको छ भने ठोरी क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको पौडेल बताउँछन् । पछिल्लो पुस्ताले उनको पदचाप पछ्याएर समाज परिवर्तनमा लाग्न सके घनश्यामप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

अलबिदा अन्तरे सर !

लेखकको बारेमा
प्रेम लामा

लामा अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?