+
+

लुम्बिनी केबलकारको मर्निङ अफर : सोमबारको यात्रा ५ सयमै

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १२ गते १२:०७

बुटवल ।  लुम्बिनी केबलकारले १४ साउनदेखि भदौ मसान्तसम्म लागु हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । अफरअनुसार हरेक सोमबार बिहानको टिकट आधा सस्तो हुने छ अर्थात ५ सय रुपैयाँमा नै यात्रा गर्न पाइने छ ।

हरेक सोमबार बिहान साढे ८ बजेदेखि १२ बजेसम्मको टिकट खरिदमा ५० प्रतिशत छुट सहित मर्निङ अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए ।

केबलकारको साधारण टिकट दर एक हजार रुपैयाँ छ । यो अफर अनुसार पर्यटक र भक्तजनहरूले केबलकारको दुईतर्फी यात्राका लागि ५ सय रुपैयाँ मात्र तिर्नुपर्ने छ ।

‘बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिद गर्दा मात्र छुट अफर लागु हुन्छ तर टिकट लिएकाहरू १२ बजेदेखि साँझसम्म आफू अनुकूल समयमा केबलकार चढ्न पाउँछन्,’ उनले भने ।

अन्य समयमा भने पुरानै टिकट दर कायम गरिएको छ । यो अफरले आम सर्वसाधारणलाई सस्तो शुल्कमा केबलकार यात्रा तथा प्रख्यात शक्ति पीठ कामाख्या मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माता मन्दिर दर्शन तथा साउनभर जलार्पण गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ ।

साउन महिनामा वसन्तपुरको टप स्टेसनमा महादेव शिवलाई जलार्पण गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ । मर्निङ अफर भारतीय पर्यटकमा पनि लागु हुने र उनीहरूले ५ सय रुपैयाँ भारुमा टिकट खरिद गर्न सक्ने छन् ।

मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न सहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने संख्या बढ्दो क्रममा रहेको म्यानेजर  प्रज्वल घिमिरेले बताए ।

टप स्टेसनमा जिपलाइन, स्काइ साइक्लिङ, आधुनिक पिङ, बाल उद्यान, वर पिपल चौपारी, पोखरी लगायतका धार्मिक संरचनाहरू रहेका छन् । केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत रकम सेवा शुल्कबापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिँदै आएको छ ।

लुम्बिनी केबलकार सञ्चालनमा आएपछि बुटवलमा भारतीय र आन्तरिक पर्यटकको आगमन केही मात्रामा बढेकाले बजार र व्यवसाय थप चलायमान भएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?