+

काभा यू-२० महिला भलिबल : लक्ष्य ठूलो राख्दा चुकेको नेपाल

२०८१ साउन  १२ गते १६:२३ २०८१ साउन १२ गते १६:२३
काभा यू-२० महिला भलिबल : लक्ष्य ठूलो राख्दा चुकेको नेपाल

१२ साउन, काठमाडौं । लक्ष्य शिखर चुम्ने नै राख्नुपर्छ तर सुरुकै प्रयासमा शिखरसम्म नपुग्न पनि सकिन्छ । ठिक यस्तै भयो काभा यू२० महिला भलिबल च्याम्पियनसिपमा नेपाली यू२० टोलीको अवस्था ।

पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाउँदा नै नेपाली जुनियर टोलीले उपाधि जित्ने ठूलो लक्ष्य राखेको थियो । तर नतिजा अर्कै आयो । चार टोली सहभागि च्याम्पियनसिपमा नेपाल तेस्रो हुँदै कांस्य पदक जितेर फर्कियो ।

नेपालसहित चारै टोलीले समान पाँच खेल खेले । किर्गिस्तानले श्रीलंकासँग लिग चरणमा बेहोरेको हारको बदला लिँदै फाइदा सोजो सेटको जितसहित स्वर्ण पदक जित्यो ।

किर्गिस्तानले र श्रीलंकाले समान ४ खेल जित्दा एक एक खेलमा पराजित भए । नेपालले दुई खेल जित्दा ३ खेलमा पराजित भयो । नेपालले दुवै जित माल्दिभ्स विरुद्ध निकालेको थियो । घरेलु टोली माल्दिभ्स भने सबै टोलीसँग पराजित भयो र जितविहन हुँदै चौथो स्थानमा रह्यो ।

नेपालका मुख्य प्रशिक्षक र कप्तानले प्रतियोगितामा सोचे अनुसारको प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए । ‘सबैको अपेक्षा स्वर्ण जित्ने नै थियो । सोचेजस्तो नहुँदा अली दु:ख लागेको छ ।’ कप्तान  जेनिशा विश्वकर्माले भनिन् ।

उपाधि जित्ने लक्ष्य राखेको नेपाली टोलीको कमजोरी कहाँ रह्यो ? किन नेपाल पराजित भयो र तेस्रो स्थानमा चित्तु बुझाउनुपर्‍यो? मालेबाट फर्किएपछि नेपाली टिमको प्रदर्शनबारे विश्लेषण यस्तो छ ।

अनुभवको कमी

पहिलो पटक प्रतियोगिता खेल्न विदेश गएको नेपाली टोलीसँग अन्तर्राष्ट्रिय अनुभव थिएन । अनुभव थियो त सिनियर राष्ट्रिय प्रतियोगिता खेलेको अनी नेपालको सिनियर खेलाडीहरुसँगै एउटै टिममा खेलेको मात्र ।

यस्तै माले जानुअघि जुनियर टोलीले सिनियर टोलीसँग अभ्यास खेल खेलेको थियो । जहाँ जुनियर टोलीले पराजित भएपनि राम्रो प्रदर्शन गरेको थियो ।

छोटो समयमको तयारी र सिनियर टिमसँगको त्यही अभ्यास खेलको आधारमा नेपाल प्रतियोगिता खेल्न गएको थियो ।

तर अन्तर्राष्ट्रिय कोर्टमा नेपाललाई अनुभवको कमी प्रष्ट देखियो । कोर्टमा नेपाली खेलाडीहरुको तालमेल नमिलेको प्रष्ट देखियो । ‘पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा अनुभव पनि कम भयो । त्यहाँको माहोल पनि फरक थियो । सबै जनाले खुलेर खेल्न सकेन,’ मुख्य प्रशिक्षक कुमार राईले स्वदेश फर्किएपछि सञ्चार्मीहरुसँग भने, ‘हामीले अझै केही कुरामा सुधार गर्नुपर्छ । हाम्रो तयारी पुगे छैन भन्ने अनुभव भयो । अन्तर्राष्ट्रिय अनुभवहरु बटुलिरहनुपर्छ भन्ने महसुस भयो ।’

श्रीलंका विरुद्ध पहिलो खेलमा त नेपाली खेलाडीहरु नर्भस नै भए । माले सिटीस्थित सोसल सेन्टर इन्डोर हलमा नेपाली समर्थकहरु नेपालको खेल हेर्न उपस्थित थिए । चर्को हुटिङ थियो । रातीको समयमा लाइटको उज्यालो नजिक थियो ।

त्यस्तोमा नेपाली खेलाडीहरुले आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्नै सकेनन् । ओपन स्पाइकर सलिना बुढा मगरले एक्लै खेलेको जस्तो देखियो । उनले पहिलो खेलमा अंक जोडे । पहिलो खेलमा हार बेहोरेपछि नेपाली टोलीले त्यसबाट सिकेर गल्ती सच्याउदै दोस्रो खेलमा राम्रो गर्ने प्रयास गरेको थियो ।

तर त्यो खेलमा पनि अनुभवको कमी प्रष्टै देखियो । किनभने नेपालले पहिलो सेटमा जित नजिक पुगेर पनि चुकेको थियो ।

२४-२४ को अवस्थामा नेपालले  सेट प्वाइन्ट नजिक पुगेर पनि जित्न सकेन । सेटर भावना तामाङले बल कटाउने चक्करमा नेटमा लागेपछि नेपालले जित्ने सेट चुकेको थियो ।

त्यसपछिको दुई सेटमा भने नेपालले किर्गिस्तानलाई चुनौती दिन सकेन र दुई सेटमा लगातार गुमाउँदा सोझो सेटमा पराजित भयो ।

लगातार दुई खेल हारेपछि नेपाली टिम निराश थियो । तेस्रो खेलमा भने नेपालले माल्दिभ्सलाई सहजै हरायो । तर यसमा पनि नेपाली खेलाडीको प्रदर्शन ‘वाउ’ थिएन ।

लिगमा नेपाल तेस्रो भयो । लिगमा तीन वटै खेल जितेको श्रीलंका पहिलो र किर्गिस्तान दोस्रो भयो ।

सेमिफाइनलमा नेपालको भेट फेरि किर्गिस्तानसँग भयो । नेपाल सामु लिग चरणको हारको बदला लिन अवसर थियो । तर सेमिफाइनलमा पनि नेपालले पुरानै गल्ती दोहोर्‍यायो । अनुभवी र अग्ला टोली विरुद्ध नेपालले झन् कमजोर प्रदर्शन गर्‍यो । नेपाली टिममन जित्नको लागि हंगर पनि नभएको जस्तो देखियो । कोर्टमा खेलाडीबीच तालमेलको अभाव पनि देखियो । प्रशिक्षकले पनि सही रणनिति प्रयोग गर्न सकेनन् ।

‘श्रीलंकासँग सुरुमै परिहाल्यो । सुरुमा खेल्दा कोर्ट र त्यहाँको माहोलले सबै जना हतोत्साही भयो । नत्र त्यति अफ्ठ्यारो नहुनपर्ने हो । कीर्गिस्तानचाँही धेरै माथिको रह्यो ।’ मुख्य प्रशिक्षक कुमार राईले भने, ‘हामीले ओपन स्पाइकमा राम्रो प्रदर्शन गरेपनि अन्य क्षेत्रमा कमजोर भयौँ ।’

कप्तान जेनिशा विश्वकर्माले नेपालले अन्तर्राष्ट्रिय स्तरमा खेल्दा अझ धेरै मिहिनेत गर्नुपर्ने कुरा सिकेको बताइन्  । ‘अब आगामी दिनमा अझै मिहिनेत गर्नुपर्ने रैछ । यतिले पुग्दैन । अहिले हार्दैमा निराश हुनुपर्दैन । अर्को पटक कसरी राम्रो गर्न सकिन्छ भनेर सिक्ने मौका पायौँ ।’ उनले स्वदेश फर्किएपछि भनिन् ।

डिफेन्स र रिसिभमा कमजोर

भलिबलमा एउटा भनाई छ, ‘अट्याकले खेल जितिन्छ डिफेन्सले टुर्नामेन्ट जितिन्छ । तर माल्दिभ्समा नेपालको स्पाइक बाहेक अरु केही चलेन । तथ्याङ्क हेर्ने हो भने नेपालले स्पाइकबाट नै धेरै अंक जोड्दा अन्य क्षेत्रमा कमजोर प्रदर्शन देखियो ।

डिफेन्स र रिसिभमा नेपाल एकदमै कमजोर देखियो । डिफेन्स खेल्ने लिबेरो एन्जिला प्रधानले आफ्नो क्षमता अनुसार खेल्दै सकेनन् ।

नेपालले सेटरमा भावना तामाङ र अनुषा चौधरी दुवैलाई खेलाएको थियो । पहिलो खेल भावनाले खेलिन् भने त्यसपछि दुवैले पालैपालो खेलेका थिए । अग्लो भएकोले अनुषाले ब्लक गर्न सक्थिन् । तर खेलमा भने उनी चुकिन् ।

‘पहिलो सहभागिता भएकोले सर्भिस, रिसिभ, ब्लकिङमा हामीले राम्रो गर्न सकेनौँ । स्पाइक हाम्रो राम्रो नै भएको थियो ।मुख्य प्रशिक्षक कुमार राईले भने

‘जोन’ अनुसारको खेलाडी भएन

ओपन स्पाइकरमा सलिना बुढा मगरसहित मिना सुनारले राम्रो प्रदर्शन गरिन् । तर क्विक स्पाइकर र ब्लकमा भने नेपालले कमजोर प्रदर्शन गर्‍यो ।

सुरुमा नेपालले निशा चौधरी, स्नेहा ठगुन्ना र एलिसा मानन्धरलाई क्विक स्पाइकरको भुमिका दिएको थियो । खासमा उनीहरु ओपनर स्पाइकर थिएन । नेपालमा क्विक स्पाइक गर्ने खेलाडी नहुँदा उनीहरुलाई फरक भूमिका दिइएको थियो जसमा उनीहरुले न्याए गर्न सकेनन् ।

आफ्नो स्वभाविक पोजिसन भन्दा फरक भूमिका दिँदा उनीहरु कोर्टमा अल्मलिएको जस्तो देखियो । मिडल ब्लकमा पनि उनीहरु कमजोर देखियो । विपक्षीको स्पाइकलाई उनीहरुले रोक्नै सकेनन् । प्रतियोगितादौरान पालले निशा महरलाई पनि क्विकको रुपमा प्रयोग गरेको थियो ।

‘हामी पहिलो अन्तर्राष्ट्रियमा जाँदा जुन जोनको खेलाडी तयार पारेर जानुपर्ने त्यो थिएन । ओपनका खेलाडीलाई क्विकमा प्रयोग गर्दा राम्रो प्रदर्शन भएन ।’ प्रशिक्षक राईले भने ।

कप्तान जेनिशा विश्वकर्माले पनि फरक जोनमा खेलाउँदा राम्रो प्रदर्शन गर्न नसकेको स्वीकारे । ‘यहाँ ओपन स्पाइकर खेल्नेले उता ब्लक खेलेको थियो । हामीसँग तयारीको लागि १० दिनको समय थियो । ओपन स्पाइकरलाई मिडल ब्लकरमा प्रशिक्षण गरेर खेल्नुभयो । त्यसमा अली नराम्रो नै भयो ।’

किर्गिस्तानका खेलाडीहरुको उचाई र रिच धेरै माथि थियो । जसले गर्दा उनीहरुले हाइटको फाइदा उठाउदै माथिबाट स्पाइक हान्दा नेपाली खेलाडीले त्यसलाई बचाउने भेउ नै पाएनन् । ‘हामीले सकेसम्म बेस्ट दिन खोजेको हो तर सोचेजस्तो हुन सकेन । हाम्रो ब्लकमा कमजोर हुँदा विपक्षी स्पाइकरहरुले माथिबाट प्रहार गरे । हाम्रो डिफेन्स पनि कमजोर रह्यो ।’ प्रशिक्षक राईले भने ।

विपक्षीबारे जानकारी नहुनु

कुमार राई नेपालमा महिला खेलाडीहरु उत्पादन गर्ने गुरुकै रुपमा चिनिन्नछ । न्यु डायमण्डबाट उनले राष्ट्रिय टिमलाई धेरै खेलाडीहरु दिएका छन् । अर्का प्रशिक्षक अर्जुन घिमिरे बुटवलमा एभरेष्ट स्कुलमा प्रशिक्षण दिन्छन् । यू२० टिममा पनि दुवै प्रशिक्षकले प्रशिक्षण दिएका खेलाडीहरुको वर्चस्व थियो ।

नेपालले आफ्नो टोलीको मात्र जानकारी राख्दा विपक्षी टोलीबारे भने बेखबर थियो । घरेलु टोली माल्दिभ्स तुलानात्मक रुपमा कमजोर नै थियो । तर श्रीलंका र किर्गिस्तानको युवा टोली कस्तो छ भन्ने जानकारी नेपाललाई भएन । सिनियर स्तरमा नेपालले श्रीलंका र किर्गिस्तानलाई हराइसकेको थियो । तर जुनियर टोद्यीले पहिलो पटक खेल्दा सोचे जस्तो भएन ।

‘यताबाट जाँदा विपक्षी टिमको बारे धेरै थाहा थिएन । उनीहरुको तयारी हाम्रो भन्दा धेरै राम्रो देखियो । एकदमै राम्रो टिम रहेछ । किर्गिस्तान एकदमै अनुभी टिम रहेछ श्रीलंका पनि राम्रो रहेछ ।’ मुख्य प्रशिक्षक कुमार राईले स्वदेश फर्किएपछि भने ।

कप्तान जेनिशाले पनि विपक्षी टिम बलियो भएकोले बेस्ट दिने प्रयास गर्दा पनि सफल नभएको बताइन् । ‘हाम्रो तयारी अली कम भयो । किनभने विपक्षी टोली श्रीलंका कीर्गिस्तान धेरै नै राम्रो थियो । त्यही भएकोले बेस्ट दिँदा पनि सकिएन ।’

गत वर्ष नेपालमा काभा च्यालेन्ज कप हुँदा नेपालको सिनियर टिमले किर्गिस्तानलाई सहजै पराजित गरेको थियो । तर उनीहरुको युवा टोली कस्तो थियो भन्ने जानकारी नेपालले माल्दिभ्स गएर खेलेपछि मात्रै थाहा पायो । किर्गिस्तान यू२० टोलीका कप्तान राजुलबेक रोजा किजी र आइतरग्नले गत वर्ष काठमाडौं आएर काभा च्यालेन्ज कपमा सिनियर टिमबाट खेलिसकेका थिए ।

यस्तै टिममका आधा खेलाडीले गत महिना मात्र उज्वेकिस्तानमा भएको काभा गू१८ वुमन्स च्याम्पियन खेलेको थियो । किर्गिज टोलीमा सिनियर र जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी थिए र अनुभव पनि राम्रो थियो । उनीहरुको त्यो अनुभव खेलमा प्रस्ट देखियो ।

यस्तै श्रीलंकन टोली मात्र राम्रो थियो । श्रीलंकन टोलीको डिफेन्स प्रतियोगितामै सबैभन्दा राम्रो थियो ।

काभा वुमन्स नेसन्स लिगको ट्रफी र खेलतालिका सार्वजनिक कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जुनियर टोलीको पहिलो सहभागिता भएकोले यो ऐतिहासिक पदक भएको बताउँदै नेपालले विपक्षी टिम कस्तो थियो भनेर जानकारी नराख्दा यो अवस्था आएको बताए ।

व्यक्तिगत विधातर्फ अवार्ड जितेकोले पनि किर्गिस्तान र श्रीलंकाको टोली बलियो भएको प्रमाणित गर्छ । जसमा कीर्गिस्तानका खेलाडीले ५ र श्रीलंकन खेलाडीले ३ अवार्ड जिते । किर्गिस्तानका कप्तान रोजा प्रतियोगिताकै मोस्ट भ्यालुएबल प्लेअर घोषित भइन् । उनले उत्कृष्ट आउटसाइट हिटरको अवार्ड पनि पाइन् । यस्तै किर्गिज खेलाडी केरेजोभा अलियाले उत्कृष्ट सेटर, अमिराकुलोभा साइकलले उत्कृष्ट मिडल ब्लकर र अइतबेकोभा अयतुर्गानले अपोजिट स्पाइकरको अवार्ड पनि पाए ।

श्रीलंकन कप्तान हेराथ चतुरीले उत्कृष्ट आउटसाइड हिटर, सेसान्डी रवान्याले मिडल ब्लकर र लु अवार्ड पाए ।

मुख्य प्रशिक्षक कुमार राईले पहिलो प्रतियोगिगताबाट अनुभव बटुल्ने मौका पाएको भन्दै आगामी दिनमा कमी कमजोरीलाई सच्याउँदै राम्रो प्रदर्शन गर्ने बताए ।

काभा यू-२० महिला भलिबल च्याम्पियनसिप
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय