+
+

फोहोरबाट आम्दानी गर्ने योजना बनाउँदै व्यास नगरपालिका

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १२ गते १८:५३

१२ साउन, तनहुँ । तनहुँको व्यास नगरपालिकाले खेर गइरहेको फोहोर व्यवस्थापनबाट आम्दानी गर्ने योजना अघि बढाएको छ ।

पहिलो चरणमा नकुहिने फोहोरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरेर बिक्री वितरण गर्ने प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

वन, वातावरण तथा सरसफाइ शाखा प्रमुख नवराज कँडेलले विगत लामो समयदेखि नकुहिने फोहोरलाई खाडल खनेर पुर्दै आएकामा हाल कार्यालय परिसरमै व्यवस्थापन गरी बिक्री वितरणको तयारी गरिएको जानकारी दिए ।

‘यसअघि वडा नं ३ मादीनदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएका थियौं । त्यहाँको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहोर व्यवस्थापन गर्न लागिएको छ’, उनले भने, ‘यसरी सङ्कलित फोहरको वर्गीकरण गरी बिक्री वितरणको योजना बनाएका छौँ । त्यसका लागि ट्रष्ट निर्माण र व्यवस्थित वर्गीकरणका लागि आवश्यक मेसिन खरिदको काम भइरहेको छ ।’

नगरपालिका क्षेत्रमा हाल दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहोर सङ्कलन हुने गरेको छ । यसको दिगो व्यवस्थापनका लागि वडा नं १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।

यहाँ पूर्वनिर्धारित स्थलमा फोहर विसर्जनका लागि भएको सम्झौता अवधि सकिएपछि यही साउन १ गतेदेखि दमौली बजारलगायत आसपासका क्षेत्रबाट नकुहिने फोहोर सङ्कलनमा समस्या भइरहेको छ । कुहिने फोहोर वडा नं १० दुम्सीस्थित गौ संरक्षण केन्द्रमा व्यवस्थापन हुँदै आएको छ ।

प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले प्लाष्टिक, सिसा, कपडा र फलामलगायत नकुहिने वस्तुलाई छ किसिमले सूक्ष्म वर्गीकरण गरी बिक्री गर्ने योजना बनाइएको जानकारी दिए । यसबाट मासिक एक लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।

यसअघि खाडल खनेर पुरिँदै आएको नकुहिने फोहोर अब सरसफाइ शाखाका कर्मचारी परिचालन गरी वर्गीकरण गर्ने र त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर बिक्री वितरण गरिने गैरेले बताए ।

नगर प्रमुख बैकुण्ठ न्यौपानेले हालसम्म फोहोर व्यवस्थापनका लागि लाखौँ रकम खर्च गरिरहेको नगरले अब त्यसैबाट आम्दानी गर्ने गरी काम गर्ने बताए ।

‘हामीले सिसाका बोतल खरिद गर्न प्रस्ताव माग गरिसकेका छौं । सबै किसिमका वस्तु बिक्रीका लागि आवश्यक तयारी भइरहेको छ’, उनले भने, ‘सरसफाइ क्षेत्रमा लाखौं खर्च गर्दै आएकामा अब फोहोरलाई आम्दानीको स्रोतका रूपमा अगाडि बढाउने छ । सोहीअनुसार आवश्यक काम भइरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?