
१२ साउन, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको विशेष ब्यूरोका प्रमुख डीआईजी मनोज केसीलाई जिम्मेवारीबाट हटाएको छ ।
सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको दिन बुधबार नै गृहमन्त्री स्तरीय निर्णयबाट केसीलाई जिम्मेवारीबाट हटाइएको खुलेको हो । केसीको १६ जेठमा ब्यूरोमा सरुवा भएको थियो ।
रवि लामिछाने गृहमन्त्री हुँदा उनको निकट भएर काम गरेर केसीलाई विशेष ब्यूरोबाट नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाइएको छ । ब्यूरोमा प्रहरी प्रतिष्ठानका डीआईजी राजन अधिकारीलाई ल्याइएको छ ।
केसी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का रुपमा उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वमा रहेका बेला नै भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएको थियो ।
उनी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।
दुलाल र भण्डारीको बयानबाट भुटानी शरणार्थी प्रकरणमा गृह मन्त्रालयका उच्च पदस्थहरु अधिकारीहरु नै यो प्रकरणमा संलग्न रहेको खुलेको थियो ।
गृह मन्त्रालयका एक अधिकारीले केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरकै सिफारिसमा हटाइएको दाबी गरे । ‘झा र प्रतीक थापालाई पक्राउ गर्दा संगठन प्रमुखलाई नै जानकारी दिइएको रहेनछ’, उनले दाबी गरे, ‘त्यो लगायतका कारण देखाएर प्रहरी प्रमुखबाटै सिफारिस आएपछि हटाइएको हो ।’
झा र थापा पक्राउ पर्दा आईजीपी कुँवर विदेश भ्रमणमा थिए, एआईजी दीपक थापा निमित्त प्रहरी प्रमुखको जिम्मेवारीमा थिए । झाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेलाई पनि जिम्मेवारीबाट हटाउने तयारी गृह प्रशासनले गरेको छ ।
झाबारे गहिरो अनुसन्धान हुँदा सत्तारुढ नेपाली कांग्रेसकै नेताहरुसम्म पुग्ने अधिकृतहरुको दाबी छ । यस्तोमा रजौरेलाई झाको अनुसन्धान प्रतिवेदन छिटो बुझाउन दबाब छ । यहीबीचमा उनलाई हटाउने तयारी भइरहेको स्रोतको भनाइ छ ।
सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई पनि हटाउने तयारी गरेको छ । रवि लामिछानेले गृहमन्त्री हुँदा ज्ञवालीलाई सीआईबी नेतृत्वमा ल्याएका थिए ।
प्रहरी प्रमुख कुवँरलाई बाईपास गरेर तत्कालिन गृहमन्त्री लामिछानेले ज्ञवाली र केसीकै सहयोगमा प्रहरी संगठन चलाएको आरोप लाग्ने गरेको छ ।
प्रतिक्रिया 4