+

ओलम्पिक सोचेभन्दा फरक हुने रहेछ : श्यान्टु

२०८१ साउन  १३ गते ९:०७ २०८१ साउन १३ गते ९:०७
ओलम्पिक सोचेभन्दा फरक हुने रहेछ : श्यान्टु

१३ साउन,काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा पहिलो चरणबाटै बाहिरएपछि नेपाली टेबलटेनिस खेलाडी श्यान्टु श्रेष्ठले ओलम्पिक सोचेभन्दा फरक भएको बताएका छन् ।

पहिलो पटक ओलम्पिक खेलेका श्यान्टु  प्रिलिमिनरी राउन्डको पुरुष सिंगल्समा सेनेगलका इब्राहिम डिउसँग ४–० ले पराजित भएका थिए ।

‘बेस्ट अफ सेभेन’ को खेलमा इब्राहिमले श्यान्टुलाई १२–१०, ११–३, ११–४ र ११–५ ले हराए । इब्राहिमलाई जित निकाल्न २४ मिनेट लागेको थियो ।

हारसँगै श्यान्टु प्रतियोगिताबाट बाहिरिएका छन् भने इब्राहिम राउन्ड अफ ६४ मा प्रवेश गरेका छन् । खेलपछि श्यान्टुले सोचेभन्दा फरक भएको भन्दै प्रतिद्वन्द्वी आफूभन्दा धेरै माथिल्लो स्तरका खेलाडी भएको बताए ।

‘प्रतिद्वन्द्वी राम्रो भएपनि ४–० को नतिजा मैले सोचेको नतिजा भने होइन । ओलम्पिकमा पहिलो सहभागिता भएकाले पनि नर्भस पनि भएँ’,  २४ वर्षीय श्यान्टुले भने, ‘दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुदलगायत थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छ । तर, ओलम्पिक सोचे भन्दा फरक हुँदो रहेछ ।’

श्यान्टुका प्रशिक्षक राजेन्द्र कपालीले श्यान्टुले सक्दो राम्रो खेलेको प्रतिक्रिया दिँदै प्रतिद्वन्द्वी धेरै राम्रो भएकाले हार व्यहोर्नु परेको बताए ।

‘श्यान्टुले सक्दो राम्रो खेलेका हुन् । प्रतिद्वन्द्वी धैरे राम्रो खेलाडी हो । इब्राहिमको फोरह्यान्ड र ब्याकह्यान्ड पावर ड्राइभ एकदमै राम्रो थियो । हामीले शत हानेको बललाई इब्राहिमले रोक्ने होइन कि उल्टै हानी रहेका हुन्थे’, टेबलटेनिसका मुख्य प्रशिक्षक समेत रहेका कपालीले भने, ‘पहिलो सेटमा श्यान्टु ७–३ ले अगाडि थिए । त्यो सेट जितेको भए प्रतिद्वन्द्वीमाथि राम्रै दबाब कायम गर्न सकिन्थ्यो ।’

छनोट चरण पार गरेर ओलम्पिकमा पुगेका श्यान्टुले पेरिस ओलम्पिक उद्घाटन समारोहमा जुडोकी मनिता श्रेष्ठ प्रधानसँगै नेपालको झण्डा बोकेका थिए ।

चारपटकका राष्ट्रिय च्याम्पियन श्यान्टु दक्षिण एसियाली खेलकुद (साग) को एकै संस्करण मा ४ पदक जित्ने खेलाडी हुन् । नेपालमा भएको १३ औं सागमा श्यान्टुले टिम इभेन्टमा रजत तथा सिंगल्स, डबल्स र मिक्स डबल्समा कांस्य जितेका थिए ।

पेरिस ओलम्पिकमा नेपालबाट सहभागी ७ खेलाडी मध्ये श्यान्टु छनोट चरण पार गरेर खेल्ने एक्लो खेलाडी हुन् । समग्रमा भने श्यान्टु छनोट हुँदै ओलम्पिक खेल्ने तेश्रो नेपाली खेलाडी हुन् । यसअघि छनोट चरण पार गर्दै संगीना वैद्यले २००४ को एथेन्स ओलम्पिक तथा दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिक खेलेका थिए । दुवै तेक्वान्दोका हुन् ।

नेपालले टेबलटनिसमा पहिलोपटक ओलम्पिकमा सहभागी जनाएको हो । २ वर्षयता अध्ययनको सिलसिलामा अस्ट्रेलिया बस्दै आएका श्यान्टुले ओलम्पिकको तयारी पनि अस्ट्रेलियामै गरेका थिए ।

पेरिस ओलम्पिक २०२४ श्यान्टु श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय