+
+

मन्त्रीज्यू, मन्त्रालयको इन्जिन तात्यो ?

साँचो मात्रै घुमाएर इन्जिन तात्दैन। प्रायः सबै उपकरणहरू पूर्ण सञ्चालनमा आउनुपूर्व तात्नुपर्दछ र हरेकलाई तताउने आफ्नै विधि हुन्छन्। आउनुहोस् मन्त्रालयको इन्जिन तताउने १० विधि र प्रक्रियाका बारे छलफल गरौं।

डा. सन्जिब हुमागाईं डा. सन्जिब हुमागाईं
२०८१ साउन १३ गते १२:३३

धेरै मन्त्रालयहरूमा नयाँ-नयाँ मन्त्रीज्यूहरू विशेष ऊर्जा एवं उत्साहका साथ ब्रिफिङ लिंदै हुनुहुन्छ। समृद्धि र समुन्नतिको खाका कोर्दै हुनुहुन्छ। मन्त्रीज्यूले बधाई थाप्दै, ब्रिफिङ लिंदै गर्दा सचिव र उच्च तहका कर्मचारीहरू आफ्नो सम्भावित सरुवाको बारेमा सोध्दै, बुझ्दै, आकलन गर्दै दिलोज्यान लगाएर मन्त्रीज्यूलाई सहयोग गर्दै हुनुहुन्छ।

धेरै उत्साहित भएर होला, यस्तो बेलामा मन्त्रीज्यू, सचिवालय र सिङ्गो मन्त्रालयले विधि, प्रक्रिया, सूचक, तथ्यांक र आधारभूत विषयलाई बेवास्ता गर्ने गरेको देखिन्छ। साँचो मात्रै घुमाएर इन्जिन तात्दैन। प्रायः सबै उपकरणहरू पूर्ण सञ्चालनमा आउनुपूर्व तात्नुपर्दछ र हरेकलाई तताउने आफ्नै विधि हुन्छन्। यहाँ मन्त्रालयको इन्जिन तताउने १० विधि र प्रक्रियाका बारेमा प्रश्न र उदाहरण सहित पेश गर्न चाहन्छु।

१. तपाईंको नयाँ जागिर कस्तो छ ?

एकपल पनि भुल्नुभएन, तपाइँको नियुक्ति एउटा कार्यालय प्रमुखको नियुक्ति हो। जरुर, राष्ट्रिय चासोको विषयमा नीतिगत निर्णय लिने, आफ्नो मन्त्रालय अन्तर्गतका राष्ट्रिय स्वार्थसँग जोडिएका विषयलाई विशेष प्राथमिकता साथ छलफल गर्ने, समाधान निकाल्ने र सदन, प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा सङ्घीय मन्त्रीले विशेष ध्यान दिनुपर्दछ।

यहाँलाई पूर्ण रूपमा सहयोग गर्न श्रीमान् सचिवज्यू सहितको प्रशासनिक संयन्त्रको व्यवस्था हुन्छ र तपाइँ त्यो सिङ्गो संयन्त्रको प्रमुख हो।

यहाँसँग कार्यालय प्रमुखको हैसियतको चेक लिस्ट तयार भयो त ? के तपाइँको दैनिक जीवन एक मन्त्रीको जस्तै छ? अहिलेको तयारीले सफल हुने शुभ सङ्केत गरेको छ ? तपाइँका रोल मोडेलहरू को हुन् र उहाँको के-के विषय अनुसरण गर्दै हुनुहुन्छ ? मन्त्री हुनु अघि र पछिको दैनिक जीवन कसरी फरक छ, हजुर ?

२. भौतिक सम्पत्ति, जनशक्ति, कानुन र संरचनाको पूर्ण विवरण प्राप्त भयो ?

मन्त्रीले प्रक्रिया र नतिजा दुवै विषयको जिम्मेवारी लिनुपर्दछ। त्यसको लागि शुरुवाती दिनमा नै मन्त्रीले आफ्नो कार्यालयको बारेमा सम्पूर्ण विवरण लिनु अत्यावश्यक हुन्छ। यदि प्राप्त भएको छैन भने बुझ्नु पर्‍यो यहाँको संयन्त्रमा केही समस्या छ। त्यो सबै विवरण टेबुलमा हुँदा मात्रै मेरो मन्त्रालयको अल्प, मध्यम एवं दीर्घकालीन आवश्यकता पहिचान हुन्छन्।

अनि मात्रै थाहा हुन्छ, मेरो मन्त्रालयलाई सही ट्रयाकमा, उच्च गतिमा दौडाउन केको अभाव रहेछ भन्ने। तत्काल पूर्ति गर्नुपर्ने अभावको विवरण निर्माण गर्ने र त्यसको व्यवस्थामा लाग्दा मात्र दीर्घकालीन नतिजा निकाल्न सकिन्छ। हामीले अबको ८०-८५ दिनपछि मन्त्रीज्यूहरूको १०० दिनको पत्रकार सम्मेलनमा सुन्न चाहेको प्रथम विषय पनि यही नै हो।

३. आधारभूत कामको विषयसूची बनाउनुभयो ?

अहिले हाँकिरहनुभएको मन्त्रालयमा जो मन्त्री हुँदा पनि गर्नै पर्ने अनिवार्य कामहरू के हुन्? २०८१ साउनमा सम्पन्न हुनैपर्ने कामहरू के-के छन्? भदौमा? असोजमा? कात्तिकमा? दोस्रो चौमासिकमा? यो आर्थिक वर्षमा? अनि सारा नेपालीको चिन्ताको विषय रहेको पूँजीगत खर्च कहिले-कहिले हुँदैछ भन्ने योजनाको क्यालेन्डर छ यहाँको टेबुलमा? अनि एक-एक काम भए–नभएको रिपोर्टिङ लिने संयन्त्र तयार भयो? जब यो तयार हुन्छ अनि मात्र ‘थप’ राम्रो गर्ने सोचौं।

४. सफल बनाएरै छोड्ने रणनीतिको खाका तयार भयो ?

हुनत योजना र रणनीतिलाई कागजको घोडा भनेर खिसीटिउरी गर्ने नेताज्यूहरूको कमी छैन नेपालमा। त्यही बहानामा मौखिक र अनौपचारिक प्रशासनले नराम्रोसँग जरा गाडेको छ। आफ्नो प्रष्ट लिखित रणनीतिको अभावमा पदमा हुँदा पनि अलमल-अलमलमा रहेका धेरै वरिष्ठ व्यक्तिहरू मैले नै पनि देखेको छु।

लिखित र व्यवस्थित लिखित रणनीति आवश्यक थिएन भने विकसित राष्ट्रका राष्ट्रप्रमुख, मन्त्रीहरू र त्यहाँका संस्था प्रमुखहरूले रमाइलो गर्न, समय बिताउन रणनीति तर्जुमा गर्ने, सार्वजनिक गर्ने, सुझाव माग्ने काम गरेका हुन् त? पक्कै होइन। हेक्का राख्नुहोस्, पहिला तपाइँलाई आफ्नो व्यक्तिगत रणनीति आवश्यक छ। त्यसका आधारमा चेक लिस्ट बनाउने र त्यसको पूर्ण पालना नै सफलताको एक मात्र आधुनिक सूत्र हो। मलाई थाहा छैन, यहाँहरू त्यस बाहेकको सँग जादुको छाडी पनि छ कि !

५. कुन-कुन सफल उदाहरणसँग इमेज ट्रेनिङ गर्दै हुनुहुन्छ ?

ठूलो-ठूलो खेल खेल्नुपूर्व खेलाडीहरूको डर भगाउन त्यस अगाडिका महत्वपूर्ण खेलहरूमा सोही टिमका खेलाडीहरूले गरेका राम्रा प्रस्तुतिहरूको भिडियो बनाएर देखाउने प्रचलन छ र यसलाई इमेज ट्रेनिङको एउटा प्रमुख विधिको रूपमा लिने गरिन्छ। हाम्रो मन्त्रीज्यूहरू कस्तो भिडियो हेर्दै हुनुहुन्छ होला ?

शिक्षामा कोरिया, पर्यटनमा कम्बोडिया, कपडामा बङ्गलादेश, ऊर्जामा लाओस, कृषि र खाद्य उद्योगमा थाइल्याण्ड, निर्यातमा भियतनाम जस्तै संसारभरका सफल अभ्यासको बारेमा हरपल चर्चा र छलफल पक्कै हुँदो होला!

६. तपाईंलाई सफल बनाउने टिमको आकार निर्माण भयो?

सफल हुन, सफल बनाउने टिम चाहिन्छ। पपुलिजमको युग छ। काम गर्न भन्दा पनि बोल्न सिकाउनेको होडबाजी छ। त्यो जटिल भाइरसबाट हाम्रो राजनीतिलाई जोगाउनु छ। आधुनिक युगमा राज्य सञ्चालन गर्दा धेरै विषयमा एकै पटक ध्यान दिनुपर्ने हुन्छ। एउटा महादेशमा घटेको सानो घटनाको अर्को महादेशमा तत्काल नतिजा देखिने विश्वव्यापीकरणको युगमा बाँचिरहेका छौं हामी।

व्यक्तिका इच्छा, सम्बन्ध, गतिविधि र त्यसले सिङ्गो समाजलाई नै रूपान्तरण गरिरहेको छ। त्यस्तो अवस्थामा, मन्त्रालयसँग सम्बन्धित अवसर र चुनौतीलाई प्रष्ट पहिचान गर्दै हर समय अपडेट हुने, गराउने टिमको आवश्यक हुन्छ। सफलता टिम र टिमले गराउने अपडेटसँग जोडिएको छ, मन्त्रीज्यू!

७. कोसँगको कस्तो सहकार्य अनिवार्य देख्नुभयो ?

नतिजा उन्मुख काम गर्न स्वायत्तता भन्दा पनि सहकार्यमा हाम्रा मन्त्रालयहरूको ध्यान जानु आवश्यक छ। जस्तै कृषिमा राम्रो गर्न शिक्षा, विज्ञान तथा प्रविधि र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँगको सहकार्य अपरिहार्य हुन्छ।

राष्ट्रिय आर्थिक विकासको मेरुदण्डको रूपमा रहेका कृषि, शिक्षा, पर्यटन, ऊर्जा जस्ता सबै मन्त्रालयहरूले सफल नतिजा निकाल्न अन्य मन्त्रालयसँग अनिवार्य सहकार्य गर्नुपर्ने गरी हाम्रो प्रशासनिक विधि र संरचना तर्जुमा भएको छ।

त्यस्तै संघीयतामा प्रदेश र स्थानीय सरकारसँगको सहकार्य पनि अपरिहार्य हुन्छ। मन्त्रालय मातहतका निकाय र सरोकारवालाहरूसँग पनि सहकार्य गर्नु पर्‍यो। हिजो कुन क्षेत्रको सहकार्य कमजोर भएका कारण नतिजा उन्मुख काम गर्न कठिनाइ भएको रहेछ भन्ने विषय पहिचानले नयाँ मन्त्रीज्यूहरूको सफलतालाई निर्धारण गर्दछ।

८. सबै संयन्त्र चलायमान बनाउँदै हुनुहुन्छ कि छिटपुट मात्रै ?

विगतमा मन्त्रालयका केही महाशाखा वा विभागमा मात्रै ध्यान दिने, चलायमान बनाउने र धेरै निकाय निष्क्रिय रहेका तीता अनुभवहरू धेरै छन्। सिङ्गो मन्त्रालय, त्यहाँभित्र काम गर्ने सबै जना चलायमान हुँदा मात्र निर्धारित लक्ष्य छिटो हासिल गर्न सकिन्छ। सबैले गर्नुपर्ने काम, गर्नुपर्ने समयमा गरिरहेका छन् कि छैनन् भन्ने मनिटरिङ गर्ने संयन्त्रको अभावमा नयाँ मन्त्रीज्यूहरूले पीडा भोग्नु नपरोस्!

९. सय दिनमा कुन-कुन विषयमा नवप्रवर्तन वा इन्नोभेशन गर्दै हुनुहुन्छ?

हेक्का राख्नुहोस्, १०० दिनको पत्रकार सम्मेलनमा जनताहरू यहाँको नवप्रवर्तन वा इन्नोभेशनको फेहरिस्ता सुन्न आतुर छन्। नवप्रवर्तन वा इन्नोभेशन भनेको पहिलाको भन्दा कम समयमा, कम जनशक्ति प्रयोग गरेर, कम ऊर्जा खर्च गरेर थप नतिजा निकाल्नु हो।

त्यसको लागि नीतिगत, क्षमतागत विकास सँगसँगै सूचना र प्रविधिको अधिकतम प्रयोग गर्नुपर्दछ। खाका तयार भयो त? कि फेरि पुराना मन्त्रीले झैं कर्मचारी, भूराजनीति र नेपालको राजनीतिक अस्थिरतालाई सत्तोसराप गर्दै बहिर्गमन गर्ने नेपाली राजनीतिको मौलिक संस्कृतिको निरन्तरतामा इमानदार बन्न खोज्दै हुनुहुन्छ?

१०. साप्ताहिक रूपमा अनिवार्य गर्नुपर्ने कामको सूची बन्यो ?

मन्त्रालयमा विभिन्न तह र तप्कामा साप्ताहिक बैठक हुनुपर्‍यो। त्यसको अभिलेख हुनुपर्‍यो। सो तह वा निकाय भन्दा माथिल्लो तहमा त्यसलाई नियमित जानकारी गराउने विधि र अभ्यास हुनुपर्‍यो। र, त्यसको सार हरेक हप्ता मन्त्रीज्यूलाई पेश हुनुपर्‍यो।

साथै, मन्त्रालयका प्रवक्ताले हरेक हप्ता पत्रकार सम्मेलन गरेर मन्त्रालयका गतिविधिहरूका बारेमा यो देशका मालिक नागरिकहरूलाई जानकारी गराउनुपर्‍यो। यति सामान्य आधुनिक विधिको संरचना त बन्यो नि होइन, मन्त्रीज्यूहरू ?

लेखकको बारेमा
डा. सन्जिब हुमागाईं

दक्षिण कोरियाको यान्से विश्वविद्यालयबाट अर्थराजनीतिमा विद्यावारिधि गरेका हुमागाईं त्रिभुवन विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालयमा एमफिल तथा पीएचडी कार्यक्रममा राजनीतिशास्त्र तथा अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्त प्राध्यापन गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?