+

कार्डियाक अरेस्ट कसरी मृत्युको कारण बन्न सक्छ ?

२०८१ साउन  १३ गते १५:५६ २०८१ साउन १३ गते १५:५६
कार्डियाक अरेस्ट कसरी मृत्युको कारण बन्न सक्छ ?

‘फूर्तिलो व्यक्ति एक्कासि बेहोस भई अस्पताल पनि लैजान नपाई मृत्यु भयो’, ‘बाटोमा हिंड्दा हिंड्दै ढलेर मृत्यु भयो’ वा ‘सुतिरहेको अवस्थामा मृत्यु भयो ।’

यस्ता धेरै घटना सुन्नमा आइरहन्छन् । धेरैले यस्ता घटनाको कारण हृदयघातलाई मान्छन्, हृदयघात सबैले सुनेको शब्द हो । उपचार पनि गर्न नपाई केही समयमै मृत्यु हुने केस प्राय: कार्डियाक अरेस्टको कारण हुनसक्छ ।

कार्डियाक एरेस्टबारे अधिकांशमा ज्ञान छैन । कतिपयलाई भने कार्डियाक अरेस्ट र हृदयघात उस्तै हो भन्ने लाग्न सक्छ । तर पक्कै होइन । अधिकांशमा हृदयघात भएपछि बल्ल कार्डियाक अरेस्ट हुनसक्छ ।

के हो त कार्डियाक अरेस्ट ?

कार्डियाक अरेस्ट भनेको मुटुले काम गर्न छोडेर बन्द हुनु हो । कार्डियाकले ‘मुटु’ र ‘अरेस्ट’ले बन्द हुने जनाउँछ । यो आपतकालीन अवस्था हो । यो अवस्थामा मुटुको काम गर्न छाडेपछि शरीरमा अक्सिजन पुग्न पाउँदैन र व्यक्ति बेहास वा अर्धचेत हुन्छ ।

यस्तोमा तत्काल उपचार नभए केही समयमै मृत्यु हुनसक्छ । त्यसकारण यसलाई ‘सडन कार्डियाक अरेस्ट’ पनि भनिन्छ । कार्डियाक एरेस्टको अवस्था आउने मुख्य कारक हृदयघात हुनसक्छ ।

हृदयघात हुने बित्तिकै मुटुको चाल बिग्रिन्छ । चाल बिग्रिएपछि मुटुले काम गर्न छाड्छ । जसकारण व्यक्तिको मृत्यु हुन्छ । मुटुको चाल बिग्रनुलाई चिकित्सकीय भाषामा भेन्ट्रिकुलर टाकाइकार्डिया (भीटी) र भेन्ट्रीकुलर फाइब्रेलिएसन (भीएफ) भनिन्छ ।

अन्य कारण

मुटुको भल्बमा मस्या

मुटुभित्र चारवटा भल्ब हुन्छन् । यी भल्ब मुटुको हरेक धड्कनसँगै खुल्ने र बन्द हुने गर्छ । यीमध्ये बायाँतर्फको तल्लोपट्टिको भल्ब खुम्चिनु वा राम्रोसँग नखोलिनुलाई एरोर्टिक स्टेनोसिस भनिन्छ । यसले पनि रगतको प्रभावलाई कम गर्ने वा बन्द गर्ने गर्न सक्छ । यदि बन्द भएमा कार्डियाक अरेस्ट हुनसक्छ ।

कोरोनरी धमिनीमा समस्या

कोरोनरी धमिनीले नै मुटुमा पम्प भएको शुद्ध रगत शरीरको विभिन्न भागमा पुर्‍याउँछ । कुनै कारणवश धमिनीमा कोलेस्टेरोल र बोसो जम्न थालेपछि धमिनी साँघुरिन्छ । यस्तो अवस्थामा रक्त सञ्चारमा अवरोध आउँछ वा ठप्प हुन्छ । यो दुई अवस्थाले कार्डियाक अरेस्ट गराउन सक्छ ।

किनकि, रगत शरीरमा पुग्न नपाउनु भनेको अक्सिजन र पोषक तत्त्व शरीरका अन्य भागले नपाउनु हो ।

मुटुको मांसपेशी मोटो हुनु

मुटुको मांसपेशीको भित्ता मोटो भएर जाने अवस्था हो । यसलाई चिकित्सकीय भाषामा कार्डियोमायोप्याथी भनिन्छ । कार्डियोमायोप्याथीले मुटुको कार्य क्षमतालाई कमजोर पार्छ ।

मांसपेशी मोटो हुँदा मुटुमा रक्तप्रवाह हुन पाउँदैन र मुटुले काम गर्न छाड्छ र तत्काल मृत्यु हुन्छ । यो समस्या जन्मजात तर दुर्लभ समस्या हो । विश्वव्यापी रूपमा यो ५०० जनामा एक जनालाई हुनसक्छ ।

यस्ता जन्मजात मुटुरोग बाबुआमामा देखिएमा सन्तानमा पनि देखिन सक्ने सम्भावना हुन्छ ।

कार्डियाक अरेस्ट भनेर कसरी थाहा पाउने ?

अचानक बेहोस हुने कारण कार्डियाक अरेस्ट बाहेक अन्य कारणले पनि हुनसक्छ । यस्तोमा बेहोसीको कारण कार्डियाक एरेस्टको हो कि होइन भनेर पत्ता लगाउन सकिन्छ ।

मधुमेह, प्रेसर लो वा अन्य सामान्य कारणले बेहोस हुँदा हातको नाडी छाम्दा चलिरहेको हुन्छ । श्वासप्रश्वासको अवस्था पनि सामान्य हुन्छ । तर बेहोस भएको व्यक्तिको नाडी छाम्दा चलेको छैन, श्वासप्रश्वास चलेको छैन, कुनै चाल छैन भने कार्डियाक अरेस्टकै लक्षण भनेर बुझिन्छ ।

कार्डियाक अरेस्ट भएका बिरामीको उपचार सम्भव छ ?

पक्कै, पनि सम्भव छ । तर तत्काल कार्डियाक एरेस्टको शंका गरेर दक्ष व्यक्तिले कार्डियो पल्मेनरी रिस्टीस्टयुसिएसन (सीपीआर) दिइहाल्नुपर्छ । यसलाई ‘बेसिक लाइफ सपोटर’ भनिन्छ ।

सीपीआर विना बिरामीलाई बचाउन सक्ने सम्भावना हुँदैन । सीपीआर दिंदै नजिकको अस्पताल लगेर बचाउन सकियो भने व्यक्ति सामान्य जीवनमा फर्किन सक्छ ।

सीपीआर कसरी दिने ?

यदि सीपीआर एक्लै दिनुपर्ने अवस्था छ भने छातीको बीच भागमा ३० पटक दुवै हातले थिच्ने र दुई पटक मुखमा सास दिने गर्नुपर्छ । यो जसले पनि गर्न सक्ने सामान्य सीपीआर हो । त्यस्तै, अस्पताल पुगेर पनि सीपीआर दिइन्छ । जसलाई अटोमेटिक एक्सटर्नल डेबिलेटर विद्युतीय सीपीआर उपकरणको मद्दतले कही क्षणमै मुटुको गतिलाई सन्तुलनमा ल्याएर मुटुको धमिनीमा अवरोध आएको शल्यक्रिया गरी बचाउन सकिन्छ ।

सीपीआरको तालिम दिनु आवश्यक

विकसित मुलुकहरुमा एयरपोर्टमा काम गर्नेदेखि शिक्षकलाई समेत सीपीआरको तालिम दिइएको हुन्छ । ताकि, सीपीआर नपाएर कसैले पनि ज्यान गुमाउनु नपरोस् । तर नेपालमा भने त्यो प्रावधान छैन । सहरी क्षेत्रमा अस्पतालको पहुँचमा हुनेले तत्काल सीपीआर र त्यसपछिको उपचार प्रक्रिया पूरा गरेर बचाएका थुप्रै केस छन् । विडम्बना कतिपय ग्रामीण भेगमा न त तालिमयोग्य स्वास्थ्यकर्मी छन्, न त उपचार तत्काल गर्ने अस्पताल । यस्तोमा उपचारमा ढिलाइ भई ज्यान जाने सम्भावना उच्च हुन्छ ।

कार्डियाक अरेस्ट जुनसुकै समय र स्थानमा हुनसक्ने भएकाले यसबाट हुनसक्ने मृत्युको जोखिम घटाउन सरकारले ग्रामीण भेगदेखि सहरी क्षेत्रमा पनि युवाहरूलाई सीपीआरको तालिम दिनुपर्ने देखिन्छ ।

कार्डियाक अरेस्ट डा. रञ्जितकुमार शर्मा मुटु रोग
डा. रन्जितकुमार शर्मा
लेखक
डा. रन्जितकुमार शर्मा
सिनियर कन्सलटेन्ट कार्डियोलोजिस्ट

डा. शर्मा काठमाडौंको मेडिसिटी अस्पतालको कार्डियोलोजी विभाग प्रमुख हुन् । कार्डियोलोजीमा एमडी र इन्टरनभेन्सनल कार्डियोलोजीमा फेलोसिप गरेका उनको नेपाल मेडिकल दर्ता नम्बर २५९० हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?