
१३ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले मौद्रिक नीतिले आमरूपमा विश्वास जगाएको जनाएको छ ।
नेपाल राष्ट्र बैंकले गत शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको थियो । उक्त मौद्रिक नीतिले सबैलाई आशा र भरोसाा जगाएको सिबिफिनले जनाएको छ ।
मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रको अवस्था, निजी क्षेत्रको मनस्थिति एवम् अपेक्षा समेतका आधारमा राष्ट्र बैंकले २०८१/८२ का लागि जारी गरेको मौद्रिक नीति सन्तुलित र समय सापेक्ष आएको जनाएको हो ।
‘समग्र निजी क्षेत्रमा खस्केको मनोबल र गिरेको आत्मविश्वास जागृत गराउँदै शिथिल आर्थिक गतिविधि र अर्थतन्त्रलाई जीवन्त बनाउँदै आर्थिक एवम् वित्तीय क्षेत्रको स्थायित्व र दिगो विकासका लागि मौद्रिक नीतिबाट प्रयास भएको छ,’ सिबिफिनले आइतबार जारी गरेको विज्ञप्तिमा छ, ‘बैंक तथा वित्तीय संस्थाको पूँजीकोषमा भएको दबाब सम्बोधन गर्न क्यापिटल एडिक्वेसी फ्रेमवर्कमा पुनरावलोकन, असल कर्जाको नोक्सानी व्यवस्थामा कमी, रेगुलेटरी रिजर्भमा रहेका केही रिजर्भलाई टायर टु क्यापिटलमा गणना गर्न सकिने प्रावधान र पूँजीकोषका उपकरण तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्नु मौद्रिक नीतिका सकारात्मक विषय छन् ।’
नीतिगत दर घटाइनु, रेगुलेटरी रिटेल पोर्टफोलियो सीमा वृद्धि गरिनु, निर्माण व्यवसायीलाई विशेष प्राथमिकता सहितको राहत दिनु, संस्थागत सेयर धितो कर्जाको सीमा हटाइनुले.सकारात्मक सन्देश प्रवाह भएको सिबिफिनले जनाएको हो ।
‘कृषि र नवप्रवर्तन क्षेत्रमा जाने कर्जालाई सहज बनाउने नीति अवलम्बन गरिनु, चालु पूँजी कर्जासम्बन्धी मार्गनिर्देशनमा ‘भेरियन्स एनालिसिस’ गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्थामा समयावधि थप गरिनु, लघु, घरेलु, साना एवम् मझौला उद्यमका लागि तोकिएको सीमा पुनरावलोकन गर्ने व्यवस्था भएको छ,’ विज्ञप्तिमा छ, ‘मौद्रिक नीतिले आर्थिक गतिविधि चलायमान बनाउँदै सुषुप्त अवस्थामा रहेको अर्थतन्त्रलाई लयमा फर्काउन महत्त्वपूर्ण सहयोग पुग्नेमा आशावादी छौं ।’
लघुवित्त संस्थालाई सुदृढीकरण गरिने, बचत तथा ऋण सहकारी संस्था नियमन तथा सुपरीवेक्षणका लागि छुट्टै संयन्त्र निर्माण गर्न लिइने पहलले समग्र वित्तीय प्रणाली माथिको विश्वासमा अभिवृद्धि गर्ने सिबिफिनको भनाइ छ ।
‘सम्पत्ति व्यवस्थापन ऐनका लागि लिइने पहल र वित्तीय संस्थामा बढ्दो डिजिटल प्रविधि प्रयोगलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा प्रयोग हुने कृत्रिम बौद्धिकता अध्ययन गर्न पहल गरिनु मौद्रिक नीतिका सकारात्मक पक्ष भएको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय भुक्तानी स्विच पूर्णरूपमा सञ्चालनमा ल्याउन आवश्यक पर्ने पूर्वाधार र संस्थागत संरचना तयार पार्ने व्यवस्थाले समेत अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने सिबिफिनले जनाएको छ ।
बैंक तथा वित्तीय क्षेत्रसहित समग्र निजी क्षेत्रमा उत्साह भर्दै शिथिल अवस्थामा रहेका आर्थिक गतिविधि र अर्थतन्त्र चलायमान बनाउने गरीे मौद्रिक नीति आएकाले प्रभावकारी कार्यान्वयन अबको आवश्यकता भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4