+
+

सौर्यको जहाज दुर्घटना : के छ बीमा व्यवस्था ?

नेपालको विद्यमान् कानुन अनुसार आन्तरिक उडानमा ज्यान गुमाउने यात्रुको परिवारले २० हजार अमेरिकी डलर (आजको विनिमय दर अनुसार पौने २७ लाख रुपैयाँ) बराबर बीमा रकम पाउने प्रावधान छ । सौर्यमा ज्यान गुमाएकाको आफन्तले उक्त परिमाण बराबर बीमा रकम पाउनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १९:१६

१३ साउन, काठमाडौं । अघिल्लो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बीमा सम्बन्धी अन्योललाई बीमा कम्पनी र सरकार दुवैले चिर्ने प्रयास गरेका छन् ।

सौर्य एयरलाइन्सले उचित क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएसँगै आफन्तले शव बुझेका छन् । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बीमा व्यवस्थाबारे संसद्लाई जानकारी गराए ।

उनका अनुसार पूर्णमर्मत (सी–चेक) सम्बन्धी उडानको बीमा व्यवस्था वायुसेवा कम्पनीले खरिद गरेको बीमा नीति अनुसार नै हुनेछ । सौर्यको बीमा प्रभु इन्स्योरेन्समा छ । उक्त कम्पनीसँग गरेको सम्झौता अनुसार बीमा रकम भुक्तानी हुन्छ ।

उता, प्रभु इन्स्योरेन्स स्रोतले समेत बीमा सम्बन्धमा एक जनाको परिवार रहेको र उनीहरूका हकमा के गर्ने भन्ने विषयबाहेक अन्यको हकमा खासै समस्या नरहेको बताएको छ ।

नेपालको विद्यमान् कानुन अनुसार आन्तरिक उडानमा ज्यान गुमाउने यात्रुको परिवारले २० हजार अमेरिकी डलर (आजको विनिमय दर अनुसार २६ लाख ७५ हजार ९८ रुपैयाँ) बराबर बीमा रकम पाउने प्रावधान छ । सौर्यको जहाज दुर्घटनामा ज्यान गुमाएकाको आफन्तले उक्त परिमाण बराबर बीमा रकम पाउनेछन् ।

प्राविधिक उडान वा सी–चेकमा जाने जहाजमा सवार प्राविधिक, पाइलट वा कर्मचारीलाई समेत यात्रु उडानका हैसियतमा बीमा भुक्तानी हुने प्रभु इन्स्योरेन्सका कम्पनीका एक उच्च अधिकारीले जानकारी दिए ।

‘सी–चेकमा जाने जहाजमा ५ जना वा ६ जना मात्रै प्राविधिक रहनुपर्छ भन्ने कुनै नियम छैन,’ उनी भन्छन्, ‘कम्पनीले आवश्यकता अनुसार ५०/६० जना प्राविधिक पनि उडाउन सक्छ, तर सवाल त्यो उडानलाई प्राधिकरणले अनुमति दिएको हुनुपर्छ ।’

सौर्यको सी–चेकमा लैजाने उडानलाई प्राधिकरणले अनुमति दिएको र एउटा परिवार बाहेक अरू सौर्यकै कर्मचारी रहेका कारण यात्रुसरह नै बीमा भुक्तानी हुने उनको भनाइ छ ।

प्राविधिक, पाइलट वा अरू जेसुकै हैसियतको भए पनि उनीहरू यात्रु नै हुने भएकाले यात्रुसरह बीमा हुने उनको तर्क छ । दुर्घटनापछि रि–इन्स्योरेन्स कम्पनीका प्रतिनिधि समेत नेपाल आएर अध्ययन थालिसकेको उनले जानकारी दिए ।

अर्कातर्फ, सरकारले समेत छानबिन आयोग बनाएका कारण उक्त आयोगको सिफारिसलाई समेत इन्स्योरेन्स कम्पनीले भुक्तानीको आधार मान्ने ती अधिकारीले जानकारी दिए ।

प्रभु र सौर्यबीचको बीमा पोलिसी सम्झौता अनुसार प्राविधिक र क्रु मेम्बरका हकमा अतिरिक्त बीमा सुविधा समेत उल्लेख भएको भए त्यो समेत दाबी भुक्तानी हुनेछ । त्यस क्रममा यात्रुसरह पाउने बीमा भुक्तानी कटौती नहुने ती अधिकारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?