+
+

गणपूरक संख्या नपुगेपछि संसदको कार्यसूची प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १९:२८

१३ साउन, काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको कार्यसूचीमा रहेको विषयमाथिको प्रक्रिया स्थगित हुन पुगेको छ ।

आइतबार प्रतिनिधि सभामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथी विचार गरियोस्’ प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त विधेयकमाथि सांसदहरुले सैद्धान्तिक छलफलमा भाग लिए । त्यसपछि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या पुगेन ।

सभामुख देवराज घिमिरेले विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले गणपूरक संख्या यकिन गर्न माग गरे । त्यसपछि तीन मिनेट घण्टी बजाएर गणना गर्दा प्रतिनिधि सभामा ६७ जना सांसद मात्रै उपस्थिति रहेको थाहा लाग्यो ।

२७५ सदस्यीय प्रतिनिधि सभामा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एक चौथाइ सांसद ६९ जना उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

६७ जना मात्रै उपस्थित रहेको यकिन भएपछि सभामुख घिमिरेले विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ पेश गर्ने विषयलाई कार्यसूचीबाटै हटाइदिए ।

प्रतिनिधि सभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?