+
+

प्रहरीले एक वर्षमा १७ अभियुक्तलाई विदेशबाट ल्यायो, ४६ जनाविरुद्ध रेड नोटिस

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते २०:०४

१३ साउन, काठमाडौं । नेपाल प्रहरीको सिफारिसमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले एक वर्षमा ४६ वटा रेड नोटिस जारी गरेको छ ।

रेड नोटिस जारी हुनेमा सहकारी ठगी प्रकरणका आरोपी जीबी राईदेखि बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसम्म छन् ।

रेड नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले सम्बन्धित व्यक्तिको खोजी गर्नेछन् । फेला परे पक्राउ गरेर सम्बन्धित देशमा पठाउने प्रक्रिया अघि बढाउनेछन् ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा मात्रै ४६ वटा रेड नोटिस जारी भएको छ भने १९ जनाविरुद्ध डिफ्यूजन नोटिस जारी भएको छ ।

डिफ्यूजन नोटिस जारी हुँदा इन्टरपोलका सदस्य राष्ट्रहरुले आफ्नो मुलुकमा ती व्यक्ति भए, नभएको सूचना दिन्छन् । आर्थिक वर्ष २०७९/८० मा ११, ०७८/०७९ मा १२, ०७७/०७८ मा १० र २०७६/७७ मा १ जनाविरुद्ध मात्रै रेड नोटिस जारी भएको थियो ।

यसपटक सहकारी ठगी, जबर्जस्ती करणी लगायतका मुद्दाका आरोपीविरुद्ध रेड नोटिस जारी भएको संख्या बढी छ । आर्थिक वर्ष २०८०/८१ मा १७ जना आरोपीलाई नेपाल प्रहरीले विदेशबाट ल्याएको छ । आर्थिक वर्ष २०७९/८० मा ८, ०७८/०७९ मा १, ०७७/०७८ मा १ र २०७६/७७ मा ३ जना मात्रै नेपाल ल्याइएका थिए ।

इन्टरपोलले ‘रेड’, ‘ब्लु’, ‘ग्रीन’, ‘ब्ल्याक’, ‘एल्लो’, ‘अरेन्ज’, ‘पर्पल’ र ‘इन्टरपोल स्पेसल नोटिस’ गरी ८ किसिमको नोटिस जारी गर्ने गर्छ ।
यस्ता नोटिस तथा डिफ्युजन जारी गर्न इन्टरपोलका सदस्य राष्ट्रले फ्रान्सस्थित इन्टरपोलको प्रधान कार्यालयमा अनुरोध गर्नुपर्छ । त्यसपछि सचिवालयले त्यसमाथि निर्णय गरेर नोटिस जारी गर्छ ।

इन्टपोलमार्फत जारी भएको नोटिसको सबै सदस्य राष्ट्रसँग सूचना आदान–प्रदान हुन्छ । सबै सदस्य राष्ट्रका नेशनल सेन्ट्रल व्यूरो (एनसीबी) ले त्यस प्रणालीमार्फत नोटिसका लागि प्रधान कार्यालयलाई अनुरोध गर्छन् ।

नेपाल प्रहरी ११ असोज २०२४ देखि इन्टरपोलको सदस्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?