+
+

सरकार पक्ष नआएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालसम्म स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते १६:०८

१४ साउन, धनगढी । सुदूरपश्चिम प्रदेश सभामा सरकार पक्ष सहभागी नभएपछि सभामुख भीमबहादुर भण्डारीले बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् ।

कांग्रेस र एमालेका एक चौथाइ बढी प्रदेश सभा सदस्यको मागअनुसार प्रदेश प्रमुखले आह्वान गरेको विशेष अधिवेशनको तेस्रो बैठक सोमबार दिउँसो दुई बजे बोलाइएको थियो ।

बैठक सुरु भएपछि सभामुख भीमबहादुर भण्डारीले बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य बनाइएको तर मन्त्री नै अनुपस्थित रहेको बैठक अघि बढाउन नसक्ने भन्दै अनिश्चितकाललाई बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

‘प्रदेश सभा नियमावली २०८० को नियम ६ को उपनियम ५ ले बैठकमा मन्त्रीको उपस्थितिलाई अनिवार्य बनाएकाले मन्त्रीको अनुपस्थिति रहेको बैठकमा पूर्व निर्धारित कार्यसूची बमोजिमको कारवाही अगाडि बढाउन सक्ने अवस्था देखिएन’, सभामुख भण्डारीले भने ।

सभामुख भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै बैठक स्थगित गरेका छन् । २० असारमा एमालेले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विशेष अधिवेशनको बैठकमा सहभागी भएको भन्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका थिए ।

विशेष अधिवेशनको पहिलो र दोस्रो बैठकमा सरकारका प्रतिनिधि बैठकमा उपस्थित थिए । तर मुख्यमन्त्रीले दीर्घ सोडारीले आफ्नो निर्देशन विपरीत बैठकमा सहभागी भएको भन्दै मन्त्री थापालाई बर्खास्त गरेका हुन् ।

अल्पमतमा परेपछि चालु वर्षको बजेट पारित गर्न नसकेका मुख्यमन्त्री सोडारीले प्रदेश सभाको अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत ल्याउन खोजेका थिए तर प्रदेश प्रमुख नजिर मियाँले उक्त निर्णय कार्यान्वयनमा ढिलाइ गर्दै विशेष अधिवेशन बोलाएपछि उनको चाहना पूरा हुन सकेन ।

सरकारले वैकल्पिक बजेट समेत ल्याउन नसकेपछि सुदूरपश्चिम प्रदेश अहिले बजेट शून्यतामा गएको छ । अल्पमतमा परिसकेका मुख्यमन्त्री सोडारीले संवैधानिक प्रावधानबमोजिम समर्थन फिर्ता लिएपछिको एक महिनासम्म सत्ता नछाड्ने भएपछि प्रदेशमा अन्योलता सिर्जना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?