+

गर्भपतनपछि के-कस्ता कुरामा सावधानी अपनाउने ?

२०८१ साउन  १४ गते १६:४० २०८१ साउन १४ गते १६:४०
गर्भपतनपछि के-कस्ता कुरामा सावधानी अपनाउने ?

कुनै समस्या आएर गर्भपतन गर्नु परेमा महिला शारीरिक तथा मानसिक पीडाबाट गुज्रिनुपर्छ । गर्भमा शिशुको विकास हुँदै जाँदा जति हेरचाह गरिन्छ, उत्तिकै हेरचाह गर्भपतन गराएकी महिलालाई पनि गर्नुपर्ने हुन्छ । यस्तो बेला परिवारको साथ अझै जरुरी छ ।

गर्भपतनका केकस्ता विधि छन् ?

गर्भपतनका लागि दुई विधि प्रचलनमा छन्- औषधिबाट र भ्याक्युम एस्पिरेसन (एमभीए) ।

औषधि

भ्रूण तीन महिना वा सो भन्दा कम समयको भएमा चिकित्सकको सिफारिसमा औषधि सेवनपछि गर्भ खेर जान्छ । ती औषधिले गर्भावस्थालाई विकसित हुनबाट रोक्छ । औषधि खाएको केही समयपछि रक्तस्राव हुन थाल्छ ।

म्यानुअल भ्याक्युम एस्पिरेसन (एमभीए)

भ्रूणको अवधि तीन महिना नाघेको अवस्थामा गर्भपतन गराउनु परेको अवस्थामा म्यानुअल भ्याक्युम एस्पिरेसन (एमभीए)बाट मात्र सम्भव हुन्छ ।

गर्भमा बच्चा बढिरहेको छैन वा बच्चामा गम्भीर समस्या देखा पर्ने अवस्थामा गर्भपतन गर्न सल्लाह दिइन्छ । तर पाँचौं महिनापछि गर्भपतन गरेमा अवस्था गम्भीर हुनसक्छ ।

केकस्ता समस्या देखिन्छन् ?

वास्तवमा, गर्भपतनपछि रक्तस्राव हुने जोखिम अत्यधिक हुन्छ । शल्यक्रियाको तुलनामा औषधि दिएर गर्ने गर्भपतनमा रक्तस्रावको जोखिम बढी हुन्छ । यो रक्तस्राव १० दिनभन्दा कम वा सो भन्दा बढी समयसम्म हुनसक्छ । जबकि एस्पिरेसन गरिएको गर्भपतनमा रक्तस्राव बिस्तारै कम हुँदै जान्छ ।

रक्तस्राव बाहेक ढाड, खुट्टा, कम्मर दुख्ने, पखाला, बान्ता, कमजोरी, थकान हुनसक्छ । कहिलेकाहीं गर्भाशयमा राम्रोसँग सफा भएको छैन भने संक्रमण भएर आईसीयूमै भर्ना गर्नुपर्ने हुनसक्छ ।

गर्भपतनपछि आफ्नो हेरचाह कसरी गर्ने ?

पौष्टिक खानेकुरा र सप्लिमेन्ट 

गर्भपतन गर्दा महिलाले अत्यधिक रक्तस्रावको सामना गर्नुपर्ने हुन्छ । जसकारण रक्तअल्पता (एनिमिया) हुने खतरा रहन्छ । शरीरमा रगतको कमी पूर्ति गर्न पौष्टिक खानेकुरा खानुपर्छ ।

साथै भिटामिन सीको सेवनले शरीरमा आइरनको अवशोषण पनि बढाउँछ । यसले बिरामीको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । चिकित्सकले भिटामिन डी र आइरनको सप्लिमेन्ट पनि दिन सक्छन् । जुन चिकित्सकले सुझाएअनुसारको मात्रा नियमित खानुपर्छ ।

पालुङ्गो, चुकन्दर, खजुर, सागसब्जी, फलफूल, ड्राइफ्रुट, माछामासुले शरीरमा रगत बढाउन र तागत दिन मद्दत गर्ने हुँदा यी खानेकुरा खान सकिन्छ । तर जंक, प्रशोधित खाना, चिनीयुक्त पेय पदार्थ नखानु उचित हुन्छ ।

झोलिलो खानेकुरा खाने, प्रशस्त पानी पिउने

गर्भपतन गरेको अवस्थामा बारम्बार बान्ता र पखालाको लक्षणले शरीरमा थकान र कमजोरी बढाउँछ । वास्तवमा, शरीरमा इलेक्ट्रोलाइट्सको कमीले यो समस्या बढाउँछ । यस्तो अवस्थामा शरीरलाई हाइड्रेटेड राख्न प्रशस्त पानी पिउनुपर्छ ।

भारी वस्तु उठाउनु हुँदैन

गर्भपतनपछि महिलाले भारी वस्तु उठाउनु हुँदैन । वास्तवमा रगतको कमीका कारण शरीरमा कमजोरी बढ्छ र ढाड दुख्ने समस्या पनि रहन्छ । यस्तो अवस्थामा दुई हप्तासम्म कसरत नगर्न पनि सल्लाह दिइन्छ । भारी सामान उचाल्दा वा शारीरिक गतिविधि गर्दा रक्तस्राव हुने खतरा हुन्छ ।

शरीरलाई आराम दिने

रक्तस्राव बढी हुँदा शरीरका मांसपेशी तथा जोनीहरु दुख्छन् । यस्तो अवस्थामा तातो पानीले दुखेको ठाउँमा सेक्न सकिन्छ । मांसपेशीको दुखाइबाट राहत पाउन तेलले मसाज गर्नु पनि फाइदाजनक हुन्छ । यसबेला शरीरलाई आराम दिनुपर्छ ।

परिवारको सहयोग

गर्भपतनपछि महिलाले मानसिक तनावको सामना गर्नुपर्ने हुन्छ । यो समस्या समाधान गर्न परिवारका सदस्यको सहयोग लिनु उपयुक्त हुन्छ । जसले गर्दा तनावको अवस्थाबाट बाहिर आउन सक्छन् । शरीरमा हर्मोनल परिवर्तनका कारण डिप्रेसन, उदासी र चिन्ता बढ्छ । यस समस्याबाट बाहिर आउन परिवारको सहयोग आवश्यक हुन्छ ।

अर्को सन्तान कहिले ?

गर्भपतन गरेको तीन महिनापछि गर्भधारणको योजना बनाउन सकिन्छ । यदि ६ महिनापछि गर्भपतन भएमा एक वर्षको अन्तर आवश्यक हुन्छ । सामान्यतया गर्भपतन गरेको आठ हप्तापछि परिवार नियोजनपछि मात्र यौन सम्पर्क राख्न सकिन्छ ।

तर शल्यक्रिया गरेको केही दिनमा यौन सम्बन्ध राख्दा महिलालाई पीडा हुने त छँदैछ, ब्याक्टेरियल संक्रमणको जोखिम उच्च हुन्छ ।

स्वास्थ्य परीक्षण

गर्भपतनपछि एकपटक शरीरमा केही परिवर्तन महसुस भए स्वास्थ्य परीक्षण गराउन सकिन्छ । यो जाँचमा जाँदा चिकित्सकले सप्लिमेन्ट मात्र दिंदैनन् । केही समयका लागि गर्भधारण रोक्न गर्भनिरोधकको प्रयोग सम्बन्धी जानकारी पनि दिन्छन् ।

गर्भपतनपछिको महिनावारी

गर्भपतनपछि चारदेखि आठ सातामा महिनावारी चक्र सुरु हुन्छ । सुरुको महिनावारीमा रक्तस्राव बढी हुने र दुखाइ धेरै हुनसक्छ । सामान्य अवस्थामा फर्किन केही समय लाग्छ ।

गर्भपतन कस्तो संस्थामा गराउने ?

सबैजसो सरकारी अस्पतालमा गर्भपतनको सेवा उपलब्ध छ । केही निजी स्वास्थ्य संस्थाले पनि गर्भपतनको सेवा दिने गरेका छन् । तर जथाभावी गर्भपतन गराउनु असुरक्षित हुन्छ । त्यसैले गर्भपतन सेवा दिने संस्था र चिकित्सक वा स्वास्थ्यकर्मी दुवै सूचीकृत हुनुपर्छ । गर्भपतन सेवाका लागि सूचीकृत भएका वा मान्यता प्राप्त गरेका संस्थामा सुरक्षित गर्भपतन सेवाको लोगो राखिएको हुन्छ ।


गर्भपतन डा. सविता थापा प्रसूति तथा स्त्रीरोग
डा. सविता थापा
लेखक
डा. सविता थापा
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. थापा भरतपुरस्थित वात्सल्य नेचुरल आइभिएफ सेन्टरमा कार्यरत छिन् । उनले प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी छिन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २१७९० हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?