+
+

पशुपतिमा साथीसँग आरती हेर्न गएका गोविन्दको थापाथली पुलमुनि शव

आरोपित नै पुगेका थिए प्रहरीमा जाहेरी दिन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते १६:५६

१४ साउन, काठमाडौं । थापाथलीको पुलमुनि १७ असारमा मृत भेटिएका एक पुरुषको हत्या भएको खुलेको छ ।

काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित बागमती नदीको पुलमुनि १७ असारको अपरान्ह ५ बजेतिर मृत फेला परेका व्यक्ति कञ्चनपुरका गोविन्द बोहरा रहेको खुलेको थियो ।

१५ असारदेखि बेपत्ता गोविन्द हराएपछि काका महेशबहादुर बोहराले खोजी गरिदिन प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए । त्यसको दुई दिनपछि थापाथली पुलमुनि शव भेटिएपछि प्रहरीले गोविन्दका काकालाई बोलाएको थियो । काका महेशले मृतक आफ्ना भतिज गोविन्द रहेको सनाखत गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

गोविन्दको हत्याको अनुसन्धानका क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ घर भई कीर्तिपुर बस्दै आएका वसन्त भनिने जगदिश बोहरा, सोही ठाउँका सुरजकुमार विष्ट, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ घर भई काठमाडौं मैतीदेवी बस्ने नरेश सिंह महरा र कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का नविन भन्ने मोतीलाल बोहरा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

उनीहरुविरुद्ध सोमबार जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ ।

पक्राउ परेका युवा १७ साउनमा गोविन्दसँगै पशुपतिनाथ मन्दिर क्षेत्रमा गएका थिए । त्यहाँ उनीहरुले सँगै गाजा पनि सेवन गरेको पाइएको प्रहरीको भनाइ छ । पक्राउ परेका जगदिश, सुरज र नरेश गोविन्दसँगै कोरियाली भाषा सिक्थे । मोतीलाल भने रेष्टुरेन्टमा काम गर्ने व्यक्ति हुन् ।

गोविन्द पहिला कीर्तिपुर बस्थे र पक्राउ परेका व्यक्तिहरुसँग चिनजान थियो । उनी पछिल्लो समय भने मैतीदेवीमा सरेका थिए ।

१५ असारको बिहान सुरज र जगदिश गोविन्दको मैतीदेवीस्थित कोठामा गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गोविन्दको कोठामा बिहानको खाना खाएपछि उनीहरु तीन जना (सुरज, जगदिश र गोविन्द) कपन घुम्न गएका थिए । कपनमा उनीहरुले मोतीलाललाई भेटेका थिए । त्यतिबेला नरेश भने बानेश्वरमा थिए ।

पछि साँझ ७ बजेतिर जगदिशले नरेशलाई फोन गरेर पशुपतिमा आरती हेर्न बोलाएको पाँचै जना पशुपति गएको प्रहरीको भनाइ छ । त्यस क्रममा उनीहरुले पशुपतिमा गाँजा सेवन गरेको देखिएको र त्यसै क्रममा गोविन्दको हत्या भएको खुलेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

पशुपति नजिकको सीसीटिभी फुटेजमा समेत उनीहरुलाई देखिएको, शंकास्पद हाउभाउ देखाएको प्रहरीको जिकिर छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरुले हत्याको आरोप अस्वीकार गरेका छन् ।

सँगै बसेर गाँजा सेवन गर्दा मृतक गोविन्दले नरेशको मोबाइल लिएर निस्केको उनीहरुले बताएका छन् । केहीबेरसम्म पनि उनी नआएपछि पशुपतिमा खोजी गर्दा समेत फेला नपरेको आरोपितहरुले बयान दिएका छन् ।

गोविन्द सम्पर्कमै नआएपछि दुई दिनपछि काकालाई जानकारी गराउँदै काकासँगै गएर प्रहरी वृत्त गौशालामा मान्छे हराएको भन्दै निवेदन दिएको उनीहरुले बताएका छन् । काकासँगै निवेदन दिन गएका उनीहरुलाई नै प्रहरीले हत्या आरोपमा पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?