+
+

मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो

रासस रासस
२०८१ साउन १४ गते १७:१५

१४ साउन, म्याग्दी । मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ । चराविद् सञ्जय था श्रेष्ठ र शंकर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पारेको नेपाल पन्छीविद् सङ्घले जनाएको छ ।

नेपाल बर्ड रेकर्ड कमिटि (चरा अभिलेख तथा प्रमाणीकरण गर्ने समिति) का अध्यक्ष डा तुल्सी सुवेदीले श्रेष्ठ र तिवारीले उक्त तिनधर्से अर्जुनक जातको चरा नेपालमा पहिलो पटक भेटिएको विज्ञप्तिमार्फत जानकारी दिए ।

स्पोटेड फ्लाइक्याचर (Spotted Flycatcher) अंग्रेजी नाम भएको उक्त चराको वैज्ञानिक नाम मुसिकापा स्ट्रिएटा (Muscicapa Striata) रहेको कमिटिका अध्यक्ष सुवेदीले जानकारी दिए ।

समुन्द्री सतहबाट तीन हजार छ सय ५० मिटर उचाइमा यही साउन २ गते बिहान पदयात्राका क्रममा श्रेष्ठ र तिवारीले खिचेको सो चराको तस्वीर पुष्टिका लागि नेपाल बर्ड रेकर्ड कमिटिमा पठाएका थिए ।

उपलब्ध प्रमाण, विवरण अध्ययन र राष्ट्रिय अन्र्तराष्ट्रिय पन्छीविद्सँगको सुझावका आधारमा तालुधर्से अर्जुनक भएको पुष्टि गरी नेपालमा पाइने चराको अभिलेखमा प्रजाति थप गरिएको अध्यक्ष सुवेदीले बताए ।

धर्से अर्जुनकसहित नेपालमा चरा प्रजातिको सङ्ख्या आठ सय ९६ वटा पुगेका छन् । अर्जुनक प्रजातिको सङ्ख्या २४ पुगेको छ । नेपालबाट सबैभन्दा नजिक मङ्गोलिया, उत्तरी चीनको विभिन्न ठाउँ, पश्चिमतर्फ अफगानिस्तान, पाकिस्तानमा यो चरा पाइन्छ ।

जाडो याममा यिनीहरु नियमित रुपमा दक्षिणतिर बसाइँ सर्छन् । मुस्ताङमा भेटिएको यो चरा बसाइँसराईको क्रममा बाटोमा फिरन्ते रुपमा आइपुगेको हुन सक्ने अनुमान गरिएको चराविद् सञ्जय था श्रेष्ठले बताए ।

‘देशका लागि नयाँ चरा पहिचान गर्न सकेकामा खुसी लागेको छ”, वाइल्डलाइफ फोटोग्राफरसमेत रहनुभएका श्रेष्ठले भने, ‘यसले चरा पर्यटनमा लाग्न उत्साह थपिएको छ । चराका फोटो खिच्न उत्प्रेरित गरेको छ ।’

नेपाल बर्ड रेकर्ड कमिटीले नेपालमा नयाँ चराको अभिलेख राख्ने गर्दछ । श्रेष्ठले सन् २०२० मा मनोहरामा सेतोजुँगे बगेडी चरा मुलुकका लागि पहिलो पटक अभिलेख गरेका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?